चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्केका छन् । बुधबार नेपाल आइपुगेका उनले संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । उनले मुख्य रूपमा नेपाल–भारत सम्बन्ध र सुरक्षाको विषयमा चासो राखेका छन् ।
चौथाइवालेले नेपालका नेताहरूसँगको भेटमा ‘भारतको सुरक्षा र आतंकवादविरुद्धको लडाइँमा नेपालको समर्थन’बारे चासो राखेका थिए । चौथाइवालेले भ्रमणको सुरुमै गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरे । भेटमा कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा सुरक्षाको विषयमा चर्चा भएको थियो ।
खुला सीमाका कारण एक आपसको सुरक्षाका लागि दुवै देश गम्भीर हुनुपर्ने उनको आशय थियो । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मीरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गरे । आतङ्कवादी हमलाविरुद्ध नेपालले भारतलाई साथ दिने विश्वास गृहमन्त्री लेखकले दिलाएका थिए ।
नेपाल–भारतबिच सदियौँदेखिको मित्रवत् सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा चौथाइवालेसित कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

- चीनबारे चिन्ता
भारतका लागि नेपाल सबैभन्दा नजिकको छिमेकी देश हो । दुई देशको बिचमा एक हजार ७५१ किलोमिटर खुला सीमा छ । भारतसँग नेपालको २२ वटा जिल्ला जोडिएका छन् । तीनतिर खुला सीमा भएको कारण संग्दिध गतिविधि हुनसक्नेतर्फ भारतले नेपाललाई सतर्क गराएको छ ।
नेपालमा चीनको पनि प्रभाव बढेको छ । नेपालमा चीनले आफ्नो प्रभाव जमाउँदै गएका कारण नेपाल पनि चीनको साथमा जाने हो कि भन्ने चिन्ता भारतलाई छ । त्यही चिन्ता हटाउनका लागि भाजपा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेलाई नेपाल भ्रमणमा पठाएका हुन् ।
नेपालका नेताहरूसँगको भेटमा चौथाइवालेले भारत सदैव नेपालको लोकतन्त्रको पक्षमा रहेको प्रतिबद्धता जनाए । उनले लोकतन्त्रलाई बलियो र समृद्ध बनाउन भारत हरदम सहयोग गर्न तयार रहेको पनि प्रस्ट पारे ।
चौथाइवालेसँग भेटेका नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले चौथाइवालेमार्फत भारतले नेपालमा लोकतन्त्रको पक्षमा प्रतिबद्धता जनाएको बताए । उनले भने, ‘उहाँको नेपाल भ्रमणको मुख्य उद्देश्य कश्मिर घटनापछि भारतको सुरक्षाको विषय नै थियो । कश्मिरको पहलगाममा भएको आतकङ्कारी हमला दुखद् हो, यसमा नेपालको पूरै साथ–सहयोग र समर्थन चाहिन्छ भन्नुभयो ।’

भारतको हरेक दुःखसुखमा नेपालले साथ दिएको चर्चा गर्दै यो दुखद् घटनामा पनि नेपाल भारतकै साथमा रहेको विश्वास आफूहरूले चौथाइवालेसमक्ष दिलाएको महतले बताए । उनले आतङ्ककारी गतिविधिलाई कसरी निरुत्साहित गर्न सकिन्छ र त्यसमा नेपालका तर्फबाट गर्न सकिने सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाएको पनि प्रस्ट पारे ।
नेपाल–भारतबिच कुनै असमझदारी रहेमा छलफलको माध्यमबाट समाधान गर्दै जानुपर्नेमा विदेश विभाग प्रमुख चौथाइवालेले जोड दिएको बताइएको छ । भेटघाटमा सहभागी एक नेताका अनुसार प्रमुख चौथाइवालेले लोकतन्त्रका विकल्पमा भारत कुनै पनि हालतमा जाँदैन भन्ने प्रतिबद्धता जनाएका छन् ।
चौथाइवालेले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँगको भेटघाटमा नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सद्भाव नरहेको स्पष्ट परेका थिए । चौथाइवालेको भनाइ उद्धृत गर्दै पुनले भने, ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सद्भाव छैन ।’
चौथाइवालेले आफ्नो एक्स (ट्वीटर)मा लेखेका छन्, ‘प्रधानमन्त्री ओलीले कश्मीरमा आतङ्ककारी हमलाबाट निर्दोष व्यक्तिहरूको मृत्यु भएको घटनामा समवेदना व्यक्त गर्नुभयो ।’
उता प्रधानमन्त्रीको सचिवालयले पारस्परिक हित तथा दुई देशको सम्बन्धबारे प्रधानमन्त्री ओली र चौथाइवालेबिच छलफल भएको जानकारी गरायो ।
भारत नेपालको लोकतन्त्रको पक्षमा रहेको भने पनि पछिल्लो समय नेपाल–भारतबिच चिसिएको सम्बन्धलाई सुधारका लागि कुनै छलफल नभएको स्रोतले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १० महिना हुन लाग्दासमेत हालसम्म भारतको भ्रमण गरेका छैनन् ।
प्रधानमन्त्री ओली भ्रमणमा जान इच्छुक भए पनि भारतले हालसम्म बोलाएको छैन । प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउने वा प्रधानमन्त्री मोदी नै नेपाल आउने भन्नेबारे चौथाइवालेको भ्रमणका क्रममा कुराकानी नभएको नेताहरू बताउँछन् ।
- एमालेभन्दा कांग्रेसलाई महत्त्व
नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले सरकारको नेतृत्व गरेको पार्टी एमालेभन्दा पनि कांग्रेसलाई बढी महत्त्व दिएको चर्चा भइरहेको छ । चौथाइवालेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीसमेत रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई मात्र भेटे । जबकि कांग्रेसका सभापति शेरबहादुर देउवादेखि महामन्त्री तथा अन्य दोस्रो, तेस्रो तहका केन्द्रीय नेताहरूलाई समेत भेटेका छन् । कांग्रेस सभापति देउवा, महामन्त्री गगन थापा, नेता डा.शेखर कोइराला, गृहमन्त्री समेत रहेका नेता रमेश लेखक, प्रकाशरण महत, उदयशम्शेर राणा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एनपी साउद र उनका श्रीमती ज्योत्सना अधिकारी साउदसँग पनि चौथाइवालेले भेट गरे ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सोही पार्टीका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई उनले छुट्टाछट्टै भेट गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि उनले भेट गरे ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई चौथाइवालेले एकसाथ भेटेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसअघि भारत भ्रमणमा गएको बेला चौथाइवालेसँग भेटघाट गरेका थिए । त्यसैले यसपटक नेपालमा उनीसँग चौथाइवालेले नभेटेको बताइएको छ ।
त्यस्तै राप्रपा नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि चौथाइवालेले भेटेका छन् । यी सबै भेटघाटको समन्वय नेपालस्थित भारतीय दूतावासले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण