बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कला अभिलेखीकरण : ‘डेइटिज अफ नेपाल’ र ‘माई मेमोरी अफ द सोउल’

मङ्गलबार, १९ पुस २०७९, १२ : २६
मङ्गलबार, १९ पुस २०७९

भर्खरै (२७ नोभेम्बरदेखि ११ डिसेम्बरसम्म) नेपाल आर्ट काउन्सिलमा एउटा अलग्ग प्रकारको कला प्रदर्शनी चल्यो । सानासाना स्कुले केटाकेटीदेखि वयस्क, बूढापाका समेत त्यहाँ जम्मा भएको देखिन्थ्यो । एउटा ‘आर्टिस्टिक फेस्टिभल’ जस्तो देखिने यो प्रदर्शनीमा लोककला, परम्परागत कला अनि समसामयिक कलाका साथसाथै हस्तकला राखिएका थिए । यी सबै कलाको प्रकृति, स्वभाव, शैली, प्रवृत्ति, लक्षण अलग अलग थिए । 

सिर्जनशील, उपयोगी र व्यावसायिक भनिने सबै कला आ–आफ्ना विशेषताका साथ एकै ठाउँमा प्रदर्शित हुनु यो कार्यक्रमले बोकेको कलाको थिम थियो । थिमको मूल श्रेय भनेको यी अधिकांश कलाको केन्द्रमा धार्मिक देवीदेवता थिए । देवीदेवताका यस्तायस्तै चित्र पहिले पनि प्रदर्शन हुन्थे । परम्परागत कलाका रूपमा गरिने प्रदर्शनीमा त सबैजसो ठाउँ देवीदेवताले नै ओगटेको देखिन्थ्यो । हस्तकलाका विभिन्न प्रकारका उपयोगी वस्तु प्रदर्शन गरिनु पुरानै चलन हो । यसैको विहंगम रूपमा ठूलो मेलाजस्तो गरी यी चित्र प्रदर्शित भए । 

‘डेइटिज अफ नेपाल’ (नेपालका देवीदेउता) नाममा प्रदर्शित कलाले कहीँ न कहीँ हिन्दु र बौद्ध देवी–देवतालाई प्रतिनिधित्व गरिरहेका देखिन्थे । हस्तकला महासंघ र नेपाल आर्ट काउन्सिलको संयुक्त आयोजनामा भएको यो कला प्रदर्शनीकी क्युरेटर थिइन्, स्वस्ती राजभण्डारी कायस्थ ।

हाम्रो परम्परालाई खोतल्ने हो भने परम्परागत कलामा देवीदेवता शाश्वत आराध्यदेवका रूपमा देखापर्छन् । चित्र बनाई पूजाआजा गर्नेदेखि यसैको अगाडि बसेर तन्त्र–मन्त्रका साथ गहिरो ध्यानमा बस्ने समेत गरिन्छ । धर्मशास्त्रबाट निर्देशित अलग–अलग देवीदेवताका रंग, आसन, आयूधका साथसाथै चित्र संयोजन र प्रस्तुति पनि अलग–अलग हुने गर्छ । लोककलामा यही देवीदेवता संस्कारको अभिन्न भाग भएर देखापर्ने हुन्छ । सामाजिक मान्यता, विधिविधान र नियम अनुसार निश्चित ढाँचामा बनाई निश्चित ठाउँमा राख्नैका लागि यस्ता चित्रको निर्माण गरिएका हुन्छन् । स्वस्फूर्त बन्ने यस्ता कलामा स्वाभाविकता, सहजता र सरलता हुन्छ । मिलेका, नमिलेका बांगाटिंगा रेखा र आधारभूत चम्किला रंगहरू यस्ता कलामा बढी मात्रामा प्रयोग हुन्छन् । 

क्युरेटर स्वस्ती राजभण्डारीको सोच, परिकल्पना अनि प्रस्तुति पनि गज्जबकै छ । नितान्त अलग्ग परिकल्पनामा गुथिएको यो प्रदर्शनीले आर्ट काउन्सिलको तलको कक्षबाट भावकलाई आध्यात्मिक कला यात्राको शुभारम्भ गराउँथ्यो ।

समसामयिक कलाकारले स्वतन्त्रताका साथ आफ्ना भाव र विचारलाई अभिव्यक्त गर्न मोटिफ र विम्बका रूपमा देवीदेवतालाई प्रयोग गर्छन् । यस्तै, आ–आफ्नै ढंगले आफूलाई मनपरेका देवीदेवतालाई एउटा शक्तिशाली पात्रका रूपमा संगठित गर्छन् । जसले गर्दा परम्परागत कला वा लोककलामा यस्ता देवीदेवता मूलभूत रूपमा एउटै संयोजन र शैलीगत रूपमा देखापरेका हुन्छन् । समसामयिक कलामा हरेक कलाकारपिच्छे कलाको संगठितको रूप अलगअलग प्रकृतिमा देखापर्छ । यो अनौठो परिदृश्यलाई यो कला प्रदर्शनीमा अवलोकन गर्न सकिन्थ्यो । आमभावकका लागि  यो कला प्रदर्शनी विशेष अवसरका रूपमा देखिन्थ्यो । 

यस प्रदर्शनीमा नेपाली कलालाई आध्यात्मिकता, हाम्रो आफ्नै परम्परा र दिनचर्यासँग जोडिएको थियो । त्रिदेव, पञ्चतत्व, नक्षत्रदेखि धर्मशास्त्र, ज्योतिषशास्त्र आदिसँग कसरी जोडिएर कलाको निर्माण भएको छ भन्ने यस प्रदर्शनीमा अवलोकन गर्न सकिन्थ्यो । आज हरेकजसो कुरा नितान्त व्यावसायिक रूपमा देखापरिसकेका छन्, तर यी उहिलेदेखि हामीसँगै रहिआएका देवीदेवता हामीबाट अलग्ग भएका छैनन् । यो अनौठो अनुभूतिको अनुभव पनि यस प्रदर्शनीमा गर्न सकिन्थ्यो । एकातिर आममानिसले देवीदेवताप्रति राख्ने भक्तिभाव, अर्कोतिर देवीदेउताका मूर्ति, तस्बिरबाट गरिने आयआर्जनका कारण यो खालको प्रदर्शनी मानिसको दैनिकीसँग जोडिएको आभास हुन्थ्यो । देवीदेउताका यिनै चित्रलाई हामीले पूजाकोठामा राखी पूजाआजा गरिरहेका हुन्छौँ र अर्कोतर्फ यही कला बेचिरहेका हुन्छौँ । यो अनौठो परिदृश्यलाई यस प्रदर्शनीमा अवलोकन गर्न सकिन्थ्यो । नेपाली धर्म, संस्कृति र परम्पराको यही निरन्तरता र तादात्म्यता यस कला प्रदर्शनीमा देखिन्थ्यो । धर्ममा अगाध आस्था हुनेले अनेक धार्मिक गाथालाई जोडेर यस्ता कलालाई हेर्न र बुझ्न सक्छन् । हामीकहाँ देवीदेउतासम्बन्धी अनेक लोकोक्ति, दन्त्यकथा र किंवदन्ती छन् । समसामयिक कला नेपाली समाजले त्यति पचाउन सकिरहेको देखिन्न । तापनि समसामयिक कलाले कहीँ न कहीँ यही परम्परालाई मूल स्रोतको रूपमा लिएको भने देखिन्छ । 

क्युरेटर स्वस्ती राजभण्डारीको सोच, परिकल्पना अनि प्रस्तुति पनि गज्जबकै छ । नितान्त अलग्ग परिकल्पनामा गुथिएको यो प्रदर्शनीले आर्ट काउन्सिलको तलको कक्षबाट भावकलाई आध्यात्मिक कला यात्राको शुभारम्भ गराउँथ्यो । भावकले माथिल्लो तलाका सबै कक्षलाई चहार्नुपथ्र्यो । सबैभन्दा माथिल्लो तलाको कक्षमा घुमाइवरी पुनः तलतिर झार्दै अन्तमा भुइँतलाको अर्को कक्षमा पुगेर अवलोकन यात्रा टुंगिन्थ्यो । भुइँतलामा कोरिडोरको दायाँ र बायाँ दुवैतिर प्रदर्शन कक्ष थिए । जहाँ हिन्दू देवीदेवता ब्रह्मा, विष्णु, महेश्वर हुँदै अष्टमातृका, भगवती, सरस्वती, लक्ष्मी, योगिनी, भैरव, महाकालसँगै एउटा कक्षमा बौद्ध धर्मका आदि बुद्ध, पञ्चबुद्ध, तारा आदि हेर्न सकिन्थ्यो । समष्टिगत रूपमा हेर्दा हिन्दू देवीदेवताबाट शुभारम्भ गरेर बौद्ध देवीदेवतामा टुंग्याउने उपक्रम पनि घतलाग्दो देखिन्थ्यो । बौद्ध र हिन्दू देवीदेवतामाथि बनेका अनेकानेक लोककला, समसामयिक कला उदाउँदै देखापर्थे । कतै मूर्त आकारमूलक र कतै अर्धअमूर्त र अमूर्ततामा देवीदेवता झुल्केका देखिन्थे । 

महाप्रलय पछि प्रारम्भ हुने नयाँ सृष्टि अनि यसैको क्रमानुगत विकासलाई यस कला प्रदर्शनीले मूलभूत अवधारणा बनाएको देखिन्थ्यो । मिठो संगीत र ओमकारको ध्वनिबाट सुरु हुने यस प्रदर्शनी अवलोकनको यात्रामा तलको कक्षमा भावकले नितान्त आध्यात्मिक वातावरण पाउँथे ।

सबैभन्दा माथिल्लो कक्षमा दोकान भाँती विभिन्न हस्तकलालाई सजाएर राखिएको छ । यसैको अर्को भागमा तीनवटा इन्स्टलेसन कामलाई क्रमशः मैथली संस्कारमा आबद्ध नागपूजा, यसपछि नेवारी संस्कारमा आबद्ध  भीमारथारोहण, अर्कोतिर नेवारकै जात्रा इन्द्र जात्रालाई प्रस्तुत गरेर राखिएको थियो । यी सबै संस्कार आ–आफ्ना समुदायका अभिन्न अंगका साथ सदियौँदेखि जीवन्त छन् । यसैलाई आजको कलाका रूपमा यसलाई अनेक विम्ब र प्रतीकसँगै इन्स्टलेसनको स्वरूपमा प्रस्तुत गरिएको थियो । भावकले हाम्रै संस्कारलाई अलग्ग स्वादमा ग्रहण गर्न सक्थे । क्रमागत रूपमा यो कला यात्राले भावकलाई कहीँ रोमाञ्चक, कतै उत्साहित त कतै अचम्भित र आनन्दित बनाउँथ्यो । यो एउटा मेला जस्तो बनेर प्रस्तुत भएको प्रदर्शनीमा धर्म, संस्कार, संस्कृतिसँग ज्यादा नजिक हुँदै अन्तमा व्यापार व्यवसायसँग गहिरो गरी गाँसिएको देखिन्थ्यो । 

महाप्रलय र प्रारम्भ

महाप्रलय पछि प्रारम्भ हुने नयाँ सृष्टि अनि यसैको क्रमानुगत विकासलाई यस कला प्रदर्शनीले मूलभूत अवधारणा बनाएको देखिन्थ्यो । मिठो संगीत र ओमकारको ध्वनिबाट सुरु हुने यस प्रदर्शनी अवलोकनको यात्रामा तलको कक्षमा भावकले नितान्त आध्यात्मिक वातावरण पाउँथे । एउटा कक्षभरि ब्रह्माण्डलाई प्रतिनिधित्व गर्ने पृथ्वीलगायत भू–मण्डलका कैयौँ अन्य ग्रहसँगै हिमाल, पहाड आदि नियाल्न सकिन्थ्यो । तत्क्षणै पछाडि कतैबाट सुमधुर ओमकारको ध्वनि गुञ्जायमान हुँदा आफू स्वयं ब्रह्माण्डमै लीन भएजस्तो अनुभूत भावकले गर्न सक्थे । अर्को कक्ष चम्किलो सूर्यको प्रकाश अनि आकाशभरि छरपस्टिएको घना बादलले भरिएको देखिन्थ्यो । बाहिर कतै खुला आकाशमुनि हावामा झुन्डिएका चित्र हेर्दैछु जस्तो भ्रम भावकलाई हुनु स्वाभाविक थियो । समग्रमा विचार्दा सिंगो प्रदर्शन कक्ष एउटा अलौकिक संसारमा अवतरित हुन पुगेको जस्तो लाग्थ्यो । मधुर प्रकाशमय वातावरणमा भित्ताभरि रंगीचंगी चित्रले ढाकेपछि पुनः यसैमाथि अनेक प्रकारका सान्दर्भिक चित्रलाई प्रदर्शित गरिएको थियो । यस्तो कलामय वातावरणमा भावक स्वाभाविक रूपमा भावुक हुन्छन् नै ।

समसामयिक कलातर्फ अझ खँदिलो कला सम्पदालाई प्रदर्शित गरिएको थियो । समसामयिक कलामा मूर्धन्य कलाकार तेजबहादुर चित्रकार, लैनसिंह बाङ्देल, उत्तम नेपाली, शशि शाह, वत्स गोपाल वैद्यका अति बहुमूल्य चित्र छन् । लैनसिंह बाङ्देलको एक सानो मन्दिरका चित्र भए पनि यो चित्र कहीँ न कहीँ देवीदेवतासँग जोडिएकाले यस प्रदर्शनमा राखिएको हो भन्ने आयोजकको दाबी छ । जेजस्तो भए पनि यी दिवंगत कलाकारको यो बहुमूल्य चित्र कुनै पनि सन्दर्भमा दर्शकले अवलोकन गर्न पाउनु गर्वकै कुरा हो । कुरा धर्मको मात्रै होइन, कलाको एस्थेटिक्स मूल्य अनि ऐतिहासिक रूपमा रहेका यस्ता धरोहर बेलाबेला मात्र दर्शकले अवलोकन गर्न पाउँछन् । यसलाई विशेष अर्थका साथमा हेर्नुपर्ने हुन्छ । नेपालमा यस्ता समसामियक कलालाई अलग्ग हेर्न राज्यले कुनै कला संग्रहालयको व्यवस्था गरेको छैन । 

नेपाली परम्परागत रूपमा मात्र बनिरहेका देवीदेवतालाई अवलोकन गर्न बानी परेका भावकका लागि पश्चिमी पद्धतिमा बनेका देवीदेवताका चित्रले एउटा अलग्ग स्वाद दिन्छन् । सम्भवतः यस प्रदर्शनी भरकै कलाकृतिको सन्दर्भमा पनि तेजबहादुर चित्रकारको चित्र विशेष महत्त्वपूर्ण थियो ।

नेपालको आधुनिक कलाको एउटा बलियो स्तम्भ लैनसिंह बाङ्देलका बेलाका कला कस्ता प्रवृत्ति र शैलीका थिए, यसलाई जान्नबुझ्न आजका कलाकार, कलापे्रमी, अनुसन्धानकर्ताले पाउनुपर्छ । यस्तै प्रकारले अझ समसामयिक कलाको एउटा कालखण्डको बलियो खम्बाका रूपमा स्वर्गीय तेजबहादुर चित्रकारका धर्ममा आधारित चित्र पनि छन्, जुन विशेष महत्त्वका छन् । उनले सन् १९६२ मा बनाएको ‘लर्ड शिव इन जोयस’ चित्रमा शिव–पार्वती दुवैलाई हर्षोल्लासको वातावरणमा फरक ढंगबाट संयोजन गरिएको छ । दुवै पात्र अनौठो आसन र वाद्यवादनका साथ देखिन्छन् । घोर दृष्टिले देव शिवको ध्यान कतै केन्द्रित भइरहँदा देवी पार्वतीले उनैको भावभंगीलाई एकाग्रका साथ नियालिरहेको दृश्यलाई कलाकारले फरक ढंगबाट संयोजन गरेको देखिन्छ । कलिलो किशोरावस्थाको मुखाकृतिका साथ पश्चिमी पद्धतिमा बनेको यो चित्र परम्परागत शैली प्रवृत्तिमा बन्ने गरेको धार्मिक चित्रभन्दा अलग्ग किसिमको छ । यसैले गर्दा यो चित्रको विशेष महत्त्व छ । 

अर्का मूर्धन्य कलाकार मनुजबाबु मिश्र, जसले देवीदेवतालाई शक्तिशाली पात्र बनाएर कलाको निर्माण गर्दथे, उनका चित्र यस प्रदर्शनीमा नदेखिनुले अलि खल्लो लाग्थ्यो । अर्का अति महत्त्वका मूर्धन्य कलाकार चन्द्रमान सिंह मास्केका चित्र पनि यहाँ राखिएनन् । धर्मको प्रतीकात्मक विम्ब समातेर तान्त्रिक चित्र बनाउने यसै वेला अति महत्त्वपूर्ण कलाकार रामानन्द जोशीका चित्र पनि यहाँ देख्न सकिएन । यस्ता कलाकारका चित्र अझ बढी मात्रामा राखिनुपथ्र्यो, किनकि यी कलाकारले एक अर्थका साथ देवीदेवता आदिलाई समसामयिक कलामा पदार्पण गराएका छन् ।  

नेपाली परम्परागत रूपमा मात्र बनिरहेका देवीदेवतालाई अवलोकन गर्न बानी परेका भावकका लागि पश्चिमी पद्धतिमा बनेका देवीदेवताका चित्रले एउटा अलग्ग स्वाद दिन्छन् । सम्भवतः यस प्रदर्शनी भरकै कलाकृतिको सन्दर्भमा पनि तेजबहादुर चित्रकारको चित्र विशेष महत्त्वपूर्ण थियो । यसबाहेक समसामयिक कलाकार गोविन्दलाल सिंह डंगोलदेखि किरण मानन्धर, रागिनी उपाध्याय, उमा शंकर शाह, सीमा शाहका चित्र यहाँ थिए । परम्परागत कलाका सिद्धहस्त कलाकार कालु कुमालेदेखि मुक्तसिंह थापा, लोक चित्रकार, पूर्णप्रसाद होजु र समुद्र मानसिंहदेखि ज्ञानबहादुर लामा जस्ताका बहुमूल्य चित्र अवलोकन गर्न पाइयो । यसबाहेक मैथली कलामा स्थापित भइसकेका चित्रकार अजित साह र एससी सुमनका चित्रसँगै दीपा कर्ण, रुबीकुमारी राणाका मैथली कलालाई यहाँ अवलोकन गर्न सकिन्थ्यो । वैकल्पिक कलामा राम्रो पहिचान बनाइसकेका युवा कलाकार मुकेश श्रेष्ठ, आशा डंगोल, एरिना ताम्रकार, जीवनराज उपाध्याय, संगी श्रेष्ठ, पृथ्वी श्रेष्ठ, शुष्मा शाक्य, सागर मानन्धर, शौर्यगंगा दर्शनधारी, सविता डंगोल, इशान परियार, विधाता केसीका कला पनि यस प्रदर्शनीमा थिए । यीबाहेक अन्य धेरै कलाकारका कला थिए, सबैलाई उल्लेख गर्न यहाँ साध्य भएन ।  

‘माई मेमोरी अफ द सोउल’ 

यसै बेला अर्को एउटा कला प्रदर्शनी सिद्धार्थ कला दीर्घामा भयो । १ देखि १४ डिसेम्बरसम्म चलेको यस प्रदर्शनीमा प्रिन्ट मेकिङ कलाका उत्कृष्ट नमुनासहित विषयगत, अवधारणागत अनि शिल्प दक्षताका अति उच्च कोटिका चित्र राखिएका थिए । भाव र भावनादेखि मोनोक्रोम्याटिक रूपमा स–साना अवयवलाई अति सूक्ष्म तरिकाले संगठित गर्दा युवा कलाकार विद्यामान तामाङको मिहिनेत त्यसै पनि छाम्न सकिन्थ्यो । रामेछापको एउटा सानो गाउँमा जन्मेको यी युवा कलाकार अहिले काठमाडौंको घना बस्तीमा जीवन व्यतित गरिरहँदा सहरका जीवन पद्धतिबाट पिल्सिएका देखिन्छन् । घरीघरी बालक वेलाकै गाउँ घर, त्यहाँको वातावरण सम्झँदा सम्झँदा उनका चित्र यसैअनुरूप बनेका देखिन्छन् । कंक्रिट घरमाथि पानीको ट्यांकी विनाका खाली फलामे डण्डी मात्र देखाएर काठमाडौंको पानीको क्राइसिसलाई देखाउन खोजेको बुझिन्छ । अत्याधुनिक फर्मका साथ प्रदर्शन भइरहेका यी चित्रमा कलाकार तामाङको अध्ययन, मिहिनेत र कल्पना शक्ति यथेष्ट रूपमा महसुस गर्न सकिन्छ । 

घर–जग्गा, स–साना कीरा फट्यांग्रा, बसाइँसराइ (सबैजना गाउँ छोडी सहर पस्न थालेको सन्दर्भ)को मुद्दालाई लिएर सहर र गाउँबीचको द्वन्द्वलाई उनले आफ्नो कलामार्फत पस्कने प्रयास गरेका छन् । ‘माई मेमोरी अफ द सोइल’ नामक उनको यो सोलो एकल कला प्रदर्शनी पहिलो हो । तापनि वैकल्पिक कलामा बलियो पकड जमाएका यी कलाकारका काम शक्तिशाली रूपमा देखापरेको छ । जग्गाको स–साना कित्ता माथि स–साना कीरा देखाएर उनले जग्गाको खण्डीकरणलाई दर्शाएका छन् । अहिले उनी काठमाडौं सहरमा बस्दा र बच्चा बेला आफ्नो किसानी परिवार, जग्गा (माटो)मा हुर्कंदाको फरक उनको  चित्रमा देखिन्छ । कीराका आवाज, रंग र एनोटोमीलाई नजिकबाट छामेका कलाकारले किसिम किसिमबाट यसलाई आफ्नो चित्रपटमा उतारेका छन् । बजैले जीवनका लागि सुकाइराखेका मकै आन्दोलनकालमा तत्कालीन माओवादीले सित्तैमा माग्न आएपछि आफू मर्न पनि तयार हुँदै मकै नदिएको प्रसंगले उनको गाउँ र बजैले जोगाएको पेसा र परम्परा अनि समष्टिमा माटोको सम्झना उनका चित्रको मूल विषय बनेर आएको देखिन्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप