परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
सारांश
- समाज र राज्य प्रणालीमा सुधार ल्याउन युवा नेतृत्व र समयसापेक्ष परिवर्तन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
- बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्दा विकास अवरुद्ध भएको र पुरानो पुस्ताको 'कम्फर्ट जोन' तथा परम्परागत नेतृत्वका मानकहरू परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ।
- जेन–जी पुस्ताको राजनीतिक सचेतना र सक्रियताले मुलुकमा सुशासन र समृद्धिको नयाँ ढोका खोल्ने विश्लेषण गरिएको छ।
काठमाडौँ । समाज र राज्य प्रणालीमा सुधार ल्याउनका लागि समयसापेक्ष परिवर्तन तथा युवा नेतृत्व अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।
बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्दा विकासको गति अवरुद्ध भएको उल्लेख गर्दै उनीहरूले पुरानो पुस्ताको ‘कम्फर्ट जोन’ र परम्परागत नेतृत्वका मानकहरू परिवर्तन हुनुपर्नेमा जोड दिएका हुन्। पछिल्लो समय युवा पुस्ता अर्थात् ‘जेन–जी’ मा देखिएको राजनीतिक सचेतना र सक्रियताले मुलुकमा सुशासन र समृद्धिको नयाँ ढोका खोल्न सक्ने उनीहरूको विश्लेषण छ।
ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ एवं नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा. जगदीशकुमार क्षेत्रीले समाज र राज्य प्रणालीमा सुधार ल्याउन समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताएका छन्। बदलिँदो विश्व परिवेशअनुसार आफूलाई परिमार्जन गर्न नसक्नु नै मुख्य समस्या रहेको उल्लेख गर्दै उनले पुरानो पुस्ता लामो समयसम्म एउटै ‘कम्फर्ट जोन’ मा बस्न रुचाउने र नयाँ कुरा सिक्न हिचकिचाउने प्रवृत्तिका कारण विकासको गतिमा अवरोध पुगेको स्पष्ट पारे।
नेपालमा पहिलो पटक ‘नेपाल जेरियाट्रिक्स सेन्टर’ सञ्चालनमा ल्याउँदाका चुनौतीहरू स्मरण गर्दै उनले दक्षिण एसियामै नयाँ अवधारणा भए पनि यसलाई स्थापित गर्न र बुझाउन निकै मिहिनेत गर्नुपरेको उल्लेख गरे। नेपालमा नेतृत्वका लागि पाको उमेर हुनुपर्ने वा लामो समय जेल जीवन बिताएको हुनुपर्ने पुरानो मानक अझै कायमै रहेकोमा चिन्ता व्यक्त गर्दै उनले वर्तमान सामाजिक तथा राजनीतिक परिवर्तनलाई प्रणाली ‘अपडेट’ हुने प्रक्रियाको रूपमा व्याख्या गरे।
कम्प्युटर सफ्टवेयर अपडेट हुन समय लागे झैँ सामाजिक परिवर्तन पनि क्रमिक रूपमा हुने र यसले युवा पुस्तामा आत्मविश्वास जगाउने उनको बुझाइ छ। उनी भन्छन्, ‘समय अनुसार अघि बढ्न नसक्दा संसार कहाँ पुगिसक्यो, हामी अझै पुरानै अवस्थामा छौँ। यो समस्या केवल युवाहरूको मात्र नभई ज्येष्ठ नागरिक र पुराना पुस्ताको पनि हो। हामी नयाँ कुरा सहजै बुझ्न र परिवर्तनलाई स्वीकार गर्न चाहँदैनौँ, जसले गर्दा कुनै पनि नयाँ कार्यको पहिचान गराउन समय लाग्ने गरेको छ। अहिलेको युवा पुस्ता द्रुत गतिमा अपडेट हुन चाहन्छ। उनीहरू विश्व परिवेशअनुसार अघि बढ्न खोजिरहेका छन्, तर पुरानो प्रणालीले त्यसलाई रोकिरहेको थियो।’
आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा. अर्जुनकुमार बरालले परिवर्तनलाई आत्मसात गर्ने राष्ट्रले मात्र विकासको गति समात्न सक्ने बताएका छन्। ‘जेन–जी मुभमेन्ट’ लाई सोही परिवर्तनको एक कडीका रूपमा व्याख्या गर्दै उनले संसारको विकासक्रममा परिवर्तन अपरिहार्य रहेको उल्लेख गरे।
नेपालमा राणा शासनको अन्त्य, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापना, माओवादी सशस्त्र विद्रोह र २०६२/६३ को जनआन्दोलनमार्फत स्थापित गणतन्त्र एवं सङ्घीयतालाई परिवर्तनका महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गर्दै उनले नेपालमा विगतदेखि नै हरेक १० देखि १५ वर्षको अन्तरालमा ठुला राजनीतिक तथा सामाजिक परिवर्तनहरू हुँदै आएको बताए।
छिमेकी मुलुक चीनले परिवर्तनका प्रवाहहरूलाई तीव्र रूपमा अङ्गीकार गरेका कारण नै छोटो समयमा अभूतपूर्व विकास गरेको र भारतले पनि सोही बाटो पछ्याउँदै विश्वकै बलियो अर्थतन्त्रका रूपमा आफूलाई उभ्याएको उदाहरण उनले दिए। अमेरिका र युरोपको विकासको मूल आधार पनि परिवर्तनप्रतिको सकारात्मक दृष्टिकोण नै रहेको भन्दै उनले वर्तमान समयमा युवा पुस्तामा देखिएको सक्रियतालाई विकासको स्वाभाविक प्रक्रियासँग जोडेर हेर्नुपर्ने धारणा राखे। उनी भन्छन्, ‘संसार परिवर्तनशील छ र जसले परिवर्तनलाई समयमै आत्मसात गरी प्रयोगमा ल्याउन सक्छ, त्यो राष्ट्रले नै छिटो प्रगति गर्छ।’
त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागकी उप–प्राध्यापक अपेक्षा शाहले नेपालमा विकास र सुशासनको गति सुस्त रहे पनि नागरिकको आवाज भने क्रमशः सशक्त बन्दै गएको बताएकी छन्। पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमलाई विश्लेषण गर्दै उनले गत जेन–जी पुस्ताको जनआक्रोशलाई दशकौँदेखिको सञ्चित असन्तुष्टिको परिणामका रूपमा चित्रण गरिन्।
उनका अनुसार पछिल्ला आन्दोलनहरू विशेष गरी आर्थिक र सुशासनका स्पष्ट मुद्दाहरूमा केन्द्रित थिए। विगत दुई वर्षदेखि माइतीघर लगायतका स्थानमा भइरहेका शिक्षक तथा विभिन्न समूहका निरन्तर आन्दोलनहरूले समाजमा गहिरो असन्तुष्टि व्याप्त रहेको सङ्केत गरेको उल्लेख गर्दै उनले नीति निर्माता र आम जनताबिच ठुलो खाडल देखिएको बताइन्।
नीति निर्माताहरूसँग परिस्थितिको गम्भीर समीक्षा गर्ने पर्याप्त समय भए पनि जनभावनाको सही कदर हुन नसक्दा वर्तमान अवस्था सिर्जना भएको उनको ठम्याइ छ। उनी भन्छिन्, ‘नीति निर्माताहरूले जनतामा बढ्दै गएको चरम असन्तुष्टिलाई समयमै बुझ्न र सम्बोधन गर्न आवश्यक ध्यान दिएनन्। समाजमा देखिएका यी सङ्केतहरूलाई बेवास्ता गरिनु र एकपछि अर्को भ्रष्टाचारका काण्डहरू सार्वजनिक हुनुले नागरिकमा आक्रोश थप बलियो बनायो।’
पछिल्लो समय नेपाली युवा पुस्तामा राजनीतिक सचेतना र सक्रियता उल्लेख्य रूपमा वृद्धि भएको छ। थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईआईटी) बाट ‘बिजनेस एनालिटिक्स र डिजिटल ट्रान्सफर्मेसन’ मा स्नातकोत्तर गरेकी नेहा दाहालले युवाहरूमा आएको यो परिवर्तनलाई सकारात्मक राजनीतिक जागरणको रूपमा व्याख्या गरेकी छन्। गत वर्षको जेन–जी प्रदर्शनलाई एउटा महत्त्वपूर्ण मोड मान्दै दाहालले उक्त आन्दोलनले राजनीतिप्रति उदासीन रहेका युवाहरूलाई समेत जागरुक बनाएको उल्लेख गरिन्। उनका अनुसार विगतमा राजनीति र शासकीय व्यवस्थाप्रति खासै चासो नराख्ने युवा पुस्ता अहिले देशको समसामयिक परिस्थिति, नीति निर्माण र बजेटजस्ता गम्भीर विषयमा समेत बहस र पैरवी गर्न सक्षम भएका छन्।
यो जागरणले युवाहरूलाई केवल विरोध प्रदर्शनमा मात्र सीमित नराखी देशको समग्र राजनीतिक र आर्थिक अवस्थालाई नजिकबाट नियाल्न र विश्लेषण गर्न प्रेरित गरेको छ। उनी भन्छिन्, ‘पहिले राजनीतिबारे केही थाहा नभएका युवाहरू अहिले देशमा के भइरहेको छ भन्ने कुरामा पूर्णतः सचेत छन्। हालैको बजेटलगायतका विषयमा युवाहरूले देखाएको चासोले उनीहरू राजनीतिक रूपमा कति सचेत भइसकेका छन् भन्ने प्रष्ट पार्छ।’
जोन्टा स्कलर तथा ‘नेपाल टि कलेक्टिभ’ की पिपल, कल्चर एण्ड बिजनेस अपरेसन प्रमुख वर्षा कटुवालले कुनै पनि नयाँ सुधार वा परिवर्तनका दुईवटा पाटा हुने उल्लेख गर्दै जेन–जी आन्दोलनको मुख्य उद्देश्य परम्परागत नेतृत्व र अपारदर्शी निर्णय प्रक्रियाको अन्त्य गर्नु रहेको बताएकी छन्। विगतमा सरकारी निर्णय प्रक्रियामा आम नागरिकको पहुँच नहुने र नातावाद व्याप्त रहने गरेकोमा त्यसको विकल्पमा नयाँ प्रणालीको खोजी भएको उनको भनाइ छ।
नयाँ सरकार गठनसँगै मुलुक अहिले सङ्क्रमणकालीन चरणमा रहेको र सरकारले अघि सारेको ‘१०० बुँदे शासकीय सुधार’ को योजना सकारात्मक सुरुआत भएको उनले उल्लेख गरिन्। यद्यपि, सुधारका प्रयासहरू जारी रहेकाले यसको ठोस परिणाम देखिन केही समय लाग्ने र त्यो नै नयाँ नेतृत्वका लागि वास्तविक परीक्षा हुने उनको तर्क छ।
उनी भन्छिन्, ‘अहिले नै ठ्याक्कै ठूलो परिवर्तन देखिइसकेको त छैन, तर काम गर्ने शैलीमा एक प्रकारको सजगता भने महशुस गरिएको छ। पहिले घरमा समाचार हेर्ने विषयमा परिवारका सदस्यबीच असमझदारी हुन्थ्यो, तर अहिले युवा पुस्ता र अभिभावक सँगै बसेर देशका समसामयिक न्युज अपडेटहरूमा छलफल गर्ने वातावरण बनेको छ। यो परिवर्तन वास्तविक हो।’ पछिल्लो समय सरकारी कामकारबाहीमा केही हदसम्म पारदर्शिता बढेको, सूचनामा सर्वसाधारणको पहुँच वृद्धि भएको र नागरिकहरू समाचार तथा सूचनाप्रति बढी जिम्मेवार र सचेत देखिएको उनको अनुभव छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण