शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज

बिहीबार, २१ पुस २०७९, १६ : ४१
बिहीबार, २१ पुस २०७९

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल मापदण्ड विपरीत भवन निर्माण गरिरहेको छ । २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्प पश्चात सरकारले भवन आचारसंहिता नै ल्याएको छ ।

सरकारले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न भवन आचारसंहिता र २०७४ मा स्थानीय सरकार संचालन ऐन २०७४ नै ल्याइसकेको अवस्था छ । अस्पतालले हाल बनाइरहेको तीन तले भवनमा कमसल सामग्री प्रयोग गर्नुको साथै रड पनि भवन आचारसंहिता विपरीत प्रयोग गरिरहेको पाइएको छ ।

अर्कोतिर उक्त भवन निर्माणका लागि नक्सा पाससमेत नभएको पाइएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले जानकी मेडिकल शिक्षण अस्पतालको कुनै पनि भवनको नक्सा पास भएको अभिलेख नरहेको तथा नक्सा पासको लागि दरखास्त पनि नआएको बताए । प्रमुख प्रशासकीय अधिकृत मिश्रले अस्पतालले नगरपालिकाबाट बिना इजाजत भवन निर्माण गरिरहेको भए त्यसलाई कानुन बमोजिम कारबाही गरिने जनाए ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २७ मा भएको व्यवस्था बमोजिम कसैले पनि गाउँपालिका वा नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नहुने उल्लेख छ । तर जानकी मेडिकल कलेजले स्थानीय तहसँग स्वीकृतिसमेत नलिइ भवन निर्माण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत मिश्रले यसबारेमा प्राविधिक खटाई जाँचबुझ गर्ने आश्वासन दिए ।

नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सापास नगरी भवन बनाएको भए पाँच लाख रुपैयाँसम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिबाना गरी नगरपालिकाका नगर प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउन आदेश दिनसक्ने व्यवस्था स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ३९ को उपदफा ५ मा छ । नगर प्रमुख सुखदेव यादवले आफूलाई मेडिकल कलेजको भवन निर्माणका विषयमा कुनै जानकारी नरहेको बताउँदै यस विषयमा सम्बन्धित कर्मचारीसँग जाँचबुझ गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।

यसै विषयमा अस्पतालका प्रशासन प्रमुख विजय यादवसँग बुझ्न खोज्दा भवन निर्माण सम्बन्धी सबै जानकारी अस्पतालकै कर्मचारी शंकर बस्नेतलाई रहेको बताए । तर, सोही विषयमा बस्नेतसँग जानकारी लिन खोज्दा उनले निर्माणाधीन भवनको नक्साको सन्दर्भमा बोल्न चाहेनन् । साथै जानकी मेडिकल शिक्षण अस्पतालको मालिक ओम प्रकाश पाण्डेसँग यसबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप