शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तुर्माखाँदवासीका दुःख : बारीभरि सुन्तला, तर बजार छैन

शुक्रबार, २२ पुस २०७९, १२ : ३६
शुक्रबार, २२ पुस २०७९

सुर्खेत । अछामको पूर्वी दक्षिण भागमा पर्ने ‘चिसी गाउँ’ सुन्तला उत्पादनका लागि निकै प्रख्यात ठाउँ हो । यहाँ लामो समयदेखि नै प्रशस्त सुन्तला उत्पादन हुने गरेको छ । तुर्माखाँद गाउँपालिका–४ अन्तर्गत पर्ने यो गाउँका अधिकांश किसानहरुको बारीमा सुन्तला फल्छ । यद्यपि उत्पादन भएको सुन्तलाले न बजार पाएको छ, न उचित भाउ नै ।

स्थानीय लक्षी (४३) विकको आर्थिक आम्दानीको स्रोत भनेकै सुन्तला हो । बिहीबार तुर्माखाँद बजारमा सुन्तला बिक्री गरिरहेकी उनले भनिन्, ‘श्रीमान् हुनुहुन्न, घरमा चामल, नुन, तेल र बालबच्चाका लागि लुगाफाटो यही सुन्तला बिक्री गरेर जोड्नुपर्ने बाध्यता छ ।’

लक्षीले सुन्तलाको भाउ र बजार नपाएको गुनासो पोखिन् । चिसी गाउँका अधिकांश किसानको बारीमा सुन्तला फल्छ, तुर्माखाँद बजार सानो भएकाले सबै सुन्तला खपत हुँदैन । लक्षीले प्रति दाना ५ रुपैयाँमा सुन्तला बेच्ने गरेको सुनाइन् । यो आधारमा उनले सिजनमा करिब ४० हजारको हाराहारीमा आम्दानी गर्छिन् । यद्यपि उनको बारीमा उत्पादन हुने सबै सुन्तला बिक्री हुँदैन ।

उनले भनिन्, ‘विगतका वर्षजस्तो अहिले सुन्तला उत्पादन हुन सकेन । यो पटक पालिकाले सडक निर्माणको क्रममा सुन्तला लगाएको बारी नै मासिदियो, अर्कोतर्फ सिंचाईको समेत अभाव छ ।’

महँगीले आकाश छोएका बेला अहिले दैनिक छाक टार्न समेत धौ–धौ भइरहेको उनले बताइन् । उनीमात्र होइन, सुन्तलाको सिजन सुरु भएदेखि यहाँका धेरैजसो सुन्तला किसान बिहान घामको किरणसँगै सुन्तलाको डोको बोकेर तर्माखाँद बजार पुग्ने गरेका छन् ।  

गाउँमा सडक पुगे पनि गाडी नचल्ने हुँदा डोकोकै सुन्तला बोक्नुपर्ने बाध्यता छ ।  सुन्तलाबाटै ७ जनाको परिवार धानिरहेका स्थानीय डीलबहादुर बयक सुन्तलाबाट  वार्षिक ३ लाख आर्थिक आम्दानी हुने गरेको बताउँछन् । गाउँपालिकाको कार्यालय छेवैमा सुन्तला बिक्री गरिरहेका बयक भन्छन्, ‘के गर्नु, यो वर्ष हावाहुरी र वर्षाका कारण गत वर्षको जस्तो सुन्तला फलेन । फलेकोले पनि उचित बजार पाउँदैन । हाम्रा दुःख त त्यसै खेर जान्छन् ।’

उनले विगत वर्षको जस्तो आम्दानी यस वर्ष नहुने बताए । उनका अनुसार चिसीका किसानले बजारीकरणको अभावले सुन्तलाबाट मनग्य लाभ लिन सकिरहेका छैनन् ।

तुर्माखाँदबाट नजिक पर्ने भनेको कर्णाली पारीको कर्णाली राजमार्ग हो । तर डोकोमै बोकेर कर्णाली पारी पुग्न घन्टौँ समय लाग्छ । दैलेखको आठबीस नगरपालिकाको टुनिबगर बजारमा एक डोको सुन्तला पु¥याउन एक दिन लाग्ने र दुःखभन्दा लाभ कम मिल्ने हुँदा सबै किसान जाँदैनन् । गएकाहरु पनि डोकोमै सुन्तला बिक्री गरेर फर्किन्छन् । बयकका अनुसार सुन्तलाको लागि सिंचाईको समेत अभाव छ । सिंचाई र बजारीकरणको अभावले अहिले सुन्तला व्यवसायतर्फ आकर्षण घट्दै गइरहेको स्थानीय बताउँछन् ।

पालिकामा हुने गरेका कृषिका कार्यक्रमहरुबारे समेत जानकारी नपाइने गरेको कृषकको गुनासो छ । तुर्माखाँद गाउँपालिका–४ का वडाध्यक्ष पदमबहादुर विसी चिसीका ७० प्रतिशत किसानको मुख्य पेसा भनेकै सुन्तला उत्पादन भएको बताउँछन् । तर बजारीकरणको अभावले सुन्तलाबाटै दैनिकी धान्न सकिने अवस्था छैन ।

सुन्तला चिसीमा मात्र होइन, यस पालिकाका रहफ, भुलू, तोषी लगायतका अन्य वडाहरुमा समेत प्रशस्त मात्रामा फल्ने गर्दछ । रहफ र भुलू पालिकाको पूर्वदक्षिण क्षेत्रमा पर्ने कर्णाली नदीले घेरिएका १ र २ नम्बर वडामा पर्दछन् । यी वडा निकै विकट क्षेत्रमा छन् । यहाँका नागरिकहरु कर्णाली नदी पारी पर्ने दैलेखका तल्लो डुङ्गेश्वर, पालेतडा लगायतका बजारसम्म सुन्तला पु¥याउँछन् । कर्णाली राजमार्गमा ओहोर–दोहोर गर्नेहरुले अछामको स्थानीय सुन्तला भनेर टाढा–टाढा लैजाने गर्दछन् । रहफ र भूलीवासीका लागि पालिका सदरमुकाम जान नै दुई दिन लाग्छ । तर कर्णाली पारी कर्णाली राजमार्ग एकैदिन पुगेर एकैदिनमा फर्किसक्ने भएकाले अधिकांश नागरिकले अहिलेसम्म पालिकाको मुकामसमेत देख्न नपाएको १ र २ वडामा वडा सचिवको रुपमा काम गरिसकेका जनकबहादुर थापा बताउँछन् । उनी भन्छन्, ‘रहफका लागि त पालिकाको मुकामभन्दा सुर्खेत नजिक पर्छ ।’

पालिकाले भने किसानको समस्यालाई मध्यनजर गर्दै ‘सुन्तला चिस्यान तथा भण्डारण केन्द्र’को स्थापना गरिने बताएको छ । पालिकाका उपाध्यक्ष विमला कुमारी शाही पालिकाभित्र उत्पादनको सुन्तलाको बजारीकरणमा विशेष पहलका साथ उक्त केन्द्रको स्थापनाको तयारी भइरहेको बताउँछिन् ।

उनले भनिन्, ‘सुन्तला मात्र होइन, पालिकामा उत्पादन हुने सबै किसिमका कृषि बस्तुहरुको व्यवस्थापन गर्ने उद्देश्य पालिकाको छ ।’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगबहादुर शाहीले बाटोघाटो र प्राप्त विकासका अन्य पुर्वाधारको विकास नभएकाले कृषि क्षेत्रको विकास र किसानहरुको आवश्यकतालाई परिपूर्ति गर्न नसकिएको बताए ।

पालिकाको पशु सेवामा कार्यरत स्थानीयबासी जनकबहादुर बुढा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण गरी जुस आइटमका बस्तु तयार गर्ने र अन्य बजारमा पठाउनुपर्ने आवश्यकता औंल्याउँछन् । उनले भने, ‘सहकारीलाई समेत यसमा जोडेर किसान, व्यापारी र सहकारीको क्षेत्र पनि वृहत भइ अर्थ बजार राम्रो हुने देखिन्छ ।’

‘बजारीकरणका लागि सडक सञ्जालको अभाव’

तुर्माखाँद भौगोलिक विकटताका कारण सबैभन्दा पिछडिएको र पूर्व र दक्षिण सीमा दैलेख र सुर्खेतसँग जोडिएको पालिका हो । बीचमा कर्णाली नदी छ । जिल्ला सदरमुकामदेखि यो पालिका ५५ किमिको दुरीमा छ । यस गाउँपालिका ऐतिहासिक रुपले दैलेखसँग सामिप्यता राखेको छ । यो पािलकाका सबैजसो वडामा अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । सडक जोडिएको ठाउँमा गाडी चल्दैनन् ।

पालिकाको ३ तिरको भाग कर्णाली नदीले घेरेको छ । घुमाउरो र लामो सडक प्रयोग गर्नुपर्ने बाध्यता भएकाले स्थानीयको बजारसम्म पहुँच पुग्दैन । भुलू, रहफवासीले कर्णालीवारी कर्णाली राजमार्ग हुँदै पालिका पुग्नुपर्छ । तर त्यो रुट निकै लामो छ । पालिकाको मुकामदेखि चिसापानीसम्मको सडकको दुरी जम्मा ७१ किलोमिटर छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको जंगलाघाट र तुर्माखाँद अछाम जोडने पुल हाल नभएकाले लामो रुट प्रयोग गर्नुपर्दा ढुवानी लागत बढी हुन्छ । जसमा कारण किसानले उत्पादन गरेका बस्तु ठुलो बजारसम्म पुग्न सक्दैनन् ।

सुन्तलाको सही बजारीकरण गरी किसानलाई प्रोत्साहन गर्न सकिएको खण्डमा आर्थिक समृद्धिको क्षेत्रमा ठुलो टेवा पुग्ने पालिकाको अपेक्षा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप