शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्युपछि सिरहामा तनाव

स्प्रिट दिने शिक्षिका पक्राउ
आइतबार, २४ पुस २०७९, १४ : २२
आइतबार, २४ पुस २०७९

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको छ । पुस २२ मा महिनावारी भएर पेट दुखेपछि सिर्जनाले औषधी मगाइन् । औषधी खान पानी माग्दा शिक्षिका अम्बिका लम्सालले दिएको स्प्रिट पिउँदा उनी अस्वस्थ भइन् । पानी भनेर झुक्किएर स्प्रिट दिने शिक्षिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । डीएसपी बुढाथोकीले भने– ‘शिक्षिकालाई सोधपुछ गर्ने र अरु अनुसन्धान पनि अघि बढाएका छौं ।’

सिरहा नगरपालिका–११ भलुवाही घर भएकी सिर्जनाको उपचारको क्रममा कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा शनिबार साँझ मृत्यु भएको हो । छात्राको मृत्युपछि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि ६ राउन्ड हवाई फायर गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

प्रहरी र प्रदर्शनकारी बीच झडपमा हुँदा मिर्चैयाका डीएसपी हरि ओलीसहित ७ जना प्रहरी घाइते भएका छन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप