शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

‘घुर्ने बानीले स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ’

नेपालमा १८ लाख जतिलाई घुराईसम्बन्धी समस्या हुन सक्छ : डा. प्रज्वल श्रेष्ठ
मङ्गलबार, २६ पुस २०७९

निद्रामा घुर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको समस्या ल्याउने विशेषज्ञहरू बताउँछन् । अस्वाभाविक घुराईको समस्यालाई अव्सट्रेक्टिभ स्लिप एप्निय पनि भनिन्छ । हालचालै घुराईसम्बन्धी रोग भएका बिरामीका लागि नेपाल सरकारले पहिलो पटक सरकारी अस्पतालमा ‘स्लिप ल्याब’ सञ्चालनमा ल्याएको छ । 

घुराई रोग भनेर कसरी चिन्ने, सही समयमा घुराईको उपचार गरिएन भने यसले स्वास्थ्यमा कस्तो असर पर्छ सक्छ ? ‘स्लिप ल्याब’ले के सेवा दिन्छ ? लगायत विषयमा प्रस्तुत छ, वीर अस्पतालका उपनिर्देशक, छाती तथा  निद्रा रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठसँग रातोपाटी प्रतिनिधिबाट गरिएको कुराकानीको सम्पादित अंशः 

हालै वीर अस्पतालमा सञ्चालनमा ल्याइएको ‘स्लिप ल्याब’ के हो ?

निद्रासम्बन्धी समस्या भएका बिरामीहरूको निद्राको रेकर्डिङ गरेर त्यसको जाँचपड्ताल गर्ने प्रयोगशाला हो स्लिप ल्याब । विभिन्न प्रकारका घुराईसम्बन्धी समस्या भएका र निद्रामै कुनै समस्या भएका व्यक्तिको रोगको निदान गर्न स्लिप ल्याबको प्रयोग गरिन्छ । 

यस अस्पतालमा निद्रासम्बन्धि समस्या भएर आउनेको चाप कस्तो छ ?

वीर अस्पतालमा छाती रोगसम्बन्धी समस्या भएका ओपीडीमा उपचार गराउन आउनेमध्ये निद्रासम्बन्धी समस्या भएका लगभग ९० प्रतिशतले घुराईसम्बन्ध समस्या लिएर आउँछन् । घुराई रोगको हो कि होइन भनेर निर्क्योल गर्न आउने धेरै छन् ।   

dr prajwal shrestha

कस्तो अवस्थाको घुराईलाई रोग हो भनेर थाहा पाउने  ?

साधारणतया निदाउँदा सबैले घुर्छन् तर सँगै सुत्नेलाई तपाईंको घुराईले समस्या हुन्छ भने सोच्नुपर्छ । एकदमै ठुलो आवाजमा घुर्ने, बिचबिचमा श्वास नै रोकिएको जस्तो हुने, झस्किएर ब्युँझिरहने, राती बारम्बार गहिरो निद्रा नपरेर ब्युँझिरहने, बिहान उठ्दाखेरि टाउको भारी हुने, थाकेको जस्तो हुने, काम गर्ने तथा बसेको ठाउँमा घुरेर निदाउने समस्या भएमा रोग पहिचानका लागि अस्पताल पुगिहाल्नुपर्छ । 

दिउँसो निद्रा लागेसँगै आलस्य हुने, काम गर्दा एकाग्रता नहुने, स्मरण शक्ति पहिला भन्दा कमजोर हुँदै गएको महसुस भई यस्ता खालको लक्षण देखिएको छ भने पनि घुराईसम्बन्ध बिरामी ‘अव्सट्रेक्टटिभ स्लिप एप्निया’ रोग हुन सक्छ ।

घुराईले अरु के कस्तो समस्या ल्याउँछ ?

एउटा साधारण घुराई हुन्छ भने अर्को जटिल खोलको हुन्छ । सुतेको बेलामा नाक र मुखबाट उत्पन्न हुने हावा नली हुँदै शरीरमा जान्छ । त्यो हावा नली साँघुरिएमा आवाज निस्कन्छ । कहिलेकाहीँ त्यो साँघुरोपन धेरै कडा भएर हावा जाने बाटो नै बन्द हुन्छ । शरीरमा श्वासै रोकिने अवस्था सिर्जना हुन  सक्छ । यसले अक्सिजनको मात्रा कम हुन्छ र निदाइरहेको बेलामा शरीरमा एउटा छटपटी जस्तो अवस्था सिर्जना हुन्छ । अनि मुटुको चाल बढ्न थाल्छ र निद्रा बिथोलिन्छ । 

निद्राको बेला भनेको आराम गर्ने समय हो । तर, कडा घुराई भएपछि रातभरि नै श्वास रोकिने हावाको प्रभाव कम हुने, अक्सिजन कम हुने, बिरामी ब्युँझिरहने क्रम धेरै पटक भइराख्दा बिरामीले राती सुतेको बेलामा गहिरो निद्रा प्राप्त गर्न सक्दैन ।  

शरीरका लागि जुन गहिरो निद्राको आवश्यकता पर्छ, त्यो घुराईका कारण बिथोलिएपछि बिहान उठ्दा टाउको भारी हुने, टाउको दुख्ने, मुख सुख्खा हुने, घाँटी दुखेजस्तो हुने, निद्रा लागिरहने हुन्छ । त्यस्तै, बिरामीमा मोटोपना आउने, ब्लडप्रेसर बढ्दै जाने, कोलेस्ट्रोल, सुगर नियन्त्रण भन्दा बाहिर गई त्यसको दुष्परिणाम नियन्त्रण भन्दा बाहिर जान्छ । यसरी साधारण घुराई रोगमा परिणत हुन्छ । 

सामान्यतया धेरैले घुराईसम्बन्ध समस्यालाई सामान्य ढङ्गले लिने गरेको पाइन्छ । सही समयमा उपचार नभए दीर्घकालमा कस्तो खालको रूप लिन सक्छ ?

सही समयमा उपचार गर्न बिरामी अस्पताल पुगेनन् भने स्वास्थ्यमा जटिलता पनि आउन सक्छ । कडा खालको घुराईसम्बन्धी  समस्या भएका बिरामीलाई भविष्यमा गएर हृदयाघात, मष्तिकघात, प्यारालाइसिस हुने जोखिम तीनदेखि चार गुणाले बढी हुन्छ । 

सामान्यतया घुराईसम्बन्ध समस्या भएको बिरामीलाई मोटोपना भई त्यस सँगसँगै ब्लडप्रेसर, सुगर, कोलेस्ट्रोल हुन्छ । घुराईसम्बन्ध रोगको उपचार नभएमा प्रेसर, सुगर हुनेले औषधि सेवन गरे पनि त्यो नियन्त्रणमा आउँदैन । 

रक्सी सेवन गर्ने धेरैले घुर्छन् । वास्तवमा रक्सी पिउँदा त्यसले घाँटीको मसललाई रिल्याक्स गरिदिन्छ । जसले गर्दा हावा जाने नली झन् साँघुरिन्छ अनि घुर्ने गर्छन् ।

केही साना बालबालिका बाल्यकालदेखि नै घुर्ने गर्छन् । के यो पनि रोगै हो ?

हावा जाने नलीमा ग्ल्यान्डहरु हुने गर्छ । सुनिने, बढ्ने भई इन्फेक्सनले बच्चाहरूको ग्ल्यान्डहरु बढ्ने गर्छ ।  भाइरल इन्फेक्सनले रुघाखोकी लाग्दा पनि अथवा जन्मजात नै कुनै  एनाटोमिकल डिफमेटिक हुन सक्छ । यस्तै, हड्डीको बनावट, अनुहार, घाँटीको बनावट थोरै फरक खालको वा नमिलेको छ भने पनि त्यसले घुराईसम्बन्ध समस्या सानै उमेरदेखि ल्याउँछ । यस्तो भएमा चिकित्सकको परामर्श लिनुपर्छ ।

के रक्सी सेवनले पनि घुराई बढाउँछ ? 

हो, रक्सी सेवन गर्ने धेरैले घुर्छन् । वास्तवमा रक्सी पिउँदा त्यसले घाँटीको मसललाई रिल्याक्स गरिदिन्छ । जसले गर्दा हावा जाने नली झन् साँघुरिन्छ अनि घुर्ने गर्छन् । तर सामान्यतया घुराईसम्बन्ध ९० प्रतिशत समस्या मोटोपना, सुगर, प्रेसर, कोलस्ट्रोलसँग सम्बन्धित हुन्छ । 

घुराईको उपचार विधि के हो ?

यसमा मोटोपना भएका व्यक्तिले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । जस्तै खानपान, दैनिक शारीरिक अभ्यासमा ध्यान दिँदा पनि घुराईको समस्या आयो भने थेरापी गर्ने, सुत्ने बेलामा मास्क लगाएर सुत्नुपर्छ । मास्क लगाएर सुतेपछि घुराईसम्बन्ध समस्या कम हुन्छ । 

यस्तै, बच्चाहरूको ग्ल्यान्ड धेरै बढेको खण्डमा कहिलेकाहीँ अप्रेसन गरेर फाल्ने अवस्था पनि सिर्जना हुन्छ । त्यसको लागि नाक, कान, घाँटीका विशेषज्ञहरूले उपचार गर्छन् । कसैको जन्मजातै अनुहारको बनावट बिग्रिएको अवस्थामा, दुर्घटनामा परेर अनुहारको बनावट बिग्रिएर घुराईको समस्या हुन सक्छ । त्यसका लागि अनुहारको सर्जरी गर्ने डाक्टरले उपचार गर्छन् ।  

नेपालमा पनि कडा खालको घुराईसम्बन्धी रोगी छन्, जो उपचारको पहुँचमा नभएर  घुराई बानी हो, यो रोग होइन भनेर बसिरहेका छन् । त्यसैले, यति सङ्ख्यामा रोगी छन् भन्ने तथ्य छैन । 

वीर अस्पतालमा घुराई समस्याको निदानको लागि के कस्तो सुविधा छ ? 

वीर अस्पतालमा पहिलो पटक स्लिप ल्याब अर्थात् निद्रासम्बन्धी प्रयोगशाला सञ्चालनमा आएको छ । निजी ३ वटा अस्पतालहरूमा पनि प्रयोगशाला सञ्चालनमा आए पनि सर्वसाधारणको पहुँचमा छैन । सामान्यतया निजी अस्पतालको ‘स्लिप ल्याब’मा निद्रासम्बन्धी समस्या भएका बिरामीले उपचार गराउँदा २० देखि ३० हजार रुपैयाँ खर्चिन्छन् । छिमेकी राष्ट्र भारतमा समेत ३० देखि ४० हजार भारतीय रुपैयाँ खर्च लाग्ने गर्छ । यद्यपि वीर अस्पतालमा घुराईको समस्या भएका बिरामीले तीनदेखि पाँच हजार उपचार शुल्क राख्ने अस्पतालले निर्धारण गरेको छ ।  

नेपालमा घुराईसम्बन्ध समस्या भएका बिरामी कति छन् ?

यसबारे अध्ययन भएको छैन । छाती रोग विशेषज्ञहरूको भनाइअनुसार दैनिक क्लिनिकल उपचारमा आउने बिरामी यस रोगले धेरै पीडित भएको पाइएको छ । विश्वको तथ्याङ्कलाई हेर्दा भने कुल जनसङ्ख्यामध्ये ६.६ प्रतिशतलाई घुराईसम्बन्ध कडा रोग भएका बिरामी छन् ।  यस हिसाबले नेपालको करिब तीन करोड जनसङ्ख्यामध्ये १८ लाख जतिलाई घुराईसम्बन्ध समस्या हुन सक्छ । 

नेपालमा पनि कडा खालको घुराईसम्बन्ध रोगी छन्, जो उपचारको पहुँचमा नभएर  घुराई बानी हो, यो रोग होइन भनेर बसिरहेका छन् । त्यसैले, यति सङ्ख्यामा रोगी छन् भन्ने तथ्य छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया