शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
संकटमा क्रिकेट

जब क्यान नै गैरजिम्मेवार सम्झौताका लागि अघि सर्‍यो

शुक्रबार, २९ पुस २०७९, १३ : ५२
शुक्रबार, २९ पुस २०७९

काठमाडौं । गत जेठ ४ गते नेपाली क्रिकेटका लागि एक ऐतिहासिक क्षण थियो । घरेलु क्रिकेटमा ईपीएल, डीपीएल र पीपीएल टी–ट्वान्टी क्रिकेट लिगको चर्चा चलिरहेको समयमा नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै ‘नेपाल टी–ट्वान्टी लिग’को घोषणा गर्‍यो । नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्यका साथ क्यानले विवादका बीच भारतीय कम्पनीलाई नेपाल टी–ट्वान्टी लिग गर्ने जिम्मेवारी दियो । क्यानले आफ्नै लिग गर्न लाग्दा सबै खुसी थिए ।

नेपाली क्रिकेटको उच्च निकायबाटै हुन लागेको सम्झौता र लिग राम्रो हुने सबैको अपेक्षा थियो । तर, भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले क्यानलाई मात्र नभइ नेपाली क्रिकेटलाई नै संकटमा पार्ने योजना बनाएको थियो । नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ गराएर पैसा कमाउने योजनामा आएको सेभेन थ्रीसँग सहजै सम्झौता गर्नुले क्यान नेतृत्वप्रति पनि प्रश्न चिह्न खडा हुन्छ । उसो त सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नुपूर्व नै धेरै विवाद उत्पन्न भएका थिए ।

सेभेन थ्री स्पोर्ट्सले नेपाल टी–ट्वान्टी लिगसँगै सम्पूर्ण अधिकार लिएको बुदाहरु हुँदा पनि क्यानका पदाधिकारीहरु सीमित पैसाका लागि सम्झौता गर्न राजी भएका थिए । सम्झौता नै गलत भएको भन्ने रातोपाटीको प्रश्नमा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली क्रिकेटको विकासका लागि सोच्ने हो भने भ्रम सिर्जना नगरिदिन आग्रह गरेका थिए ।

‘नेपाली क्रिकेटले नयाँ उचाई लिँदैछ । सबै यो हल्लामात्र हो । विदेशी लगानी आउनु डलर भित्रिनु हो । यसमा हामी सकारात्मक हुनु पर्छ । सबैको साथको खाँचो छ । मिडियाले भ्रम नछर्नुस्,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भनेका थिए ।

त्यसपछि रातोपाटीले ‘भारतीय कम्पनीसँग क्यानलाई नै असर पर्ने सम्झौता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सेभेन थ्री स्पोर्ट्सले यसअघि पनि भारतमा एउटा घरेलु लिग गरेको थियो । उक्त लिगमा पनि धाँदली भएर ऊ आफ्नो सम्झौताबाट पछि हटेको थियो । क्यानलाई यो विषयमा पनि राम्रो ज्ञान थियो । यसअघि नेपालमा दक्षिण एसियाली खेलकुद (साग) गर्ने समयमा भारतीय कम्पनीले ब्रोडकास्टिङ राइट्स लिएको थियो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आठ करोड रुपैयाँ दिने बताएको थियो ।

प्रतियोगिता दौरान न सबै खेलको प्रत्यक्ष प्रसारण भयो, न त भारतीय कम्पनीले राखेपलाई रकम उपलब्ध गरायो । यो सबै जानकारी पाएका नेपालका खेल संस्थाहरुले अब भारतबाट कुनै प्रकारको प्रसारण या कुनै किसिमको स्पोन्सरसिप आएमा चनाखो रहने सोच बनाए ।

त्यसको एक वर्षपछि नै क्यानलाई सम्झौता आउँदा क्यान भने चनाखो हुन सकेन ।

विदेशमा सेभेन थ्रीसँग सम्झौताको कुरा

क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहितको टोली दुबईमा सेभेन थ्री स्पोर्ट्ससँग सम्झौताका विषयमा कुरा गर्न गएको चर्चा भयो । जसमा उनीहरुले नेपाली क्रिकेटको टी–ट्वान्टी लिग नै बेच्न सहमति जनाए । नेपाली क्रिकेटको भारतीय कम्पनीसँग हुन लागेको सम्झौताको विषयमा दुबईमा गएर सम्झौताको विषयमा कुराकानी गर्दा क्यान नेतृत्वमाथि नै प्रश्न खडा भएको थियो ।

त्यो समयमा भने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले आफू व्यक्तिगत कामका लागि दुबई गएको बताए । उक्त चर्चा साम्य हुन नपाउँदै क्यान सम्झौताका लागि तयार भएको र लिगको मिति पनि तोक्ने कार्य अघि बढाउन लागेको चर्चा भयो ।

नभन्दै क्यानले त्यसको एक वर्ष भित्रै नेपाल टी–ट्वान्टी लिगको घोषणा गर्‍यो । सोही भारतीय कम्पनीलाई नेपाल टी–ट्वान्टी लिगसँगै जुनियर क्रिकेट प्रतियोगिता लगायतका जिम्मेवरी सुम्पियो ।

सम्झौताभित्रै विवाद हुँदा क्यानले देखेन

सेभेन थ्री स्पोर्ट्सँगको सम्झौतामै धेरै बुँदा विवाद उत्पन्न गर्ने खालका थिए । सबै सम्झौता पढेरमात्र हस्ताक्षर गर्न तयार भएको बताउने क्यानका अध्यक्ष चन्द लगायतका पदाधिकारीहरुले धेरै बुँदाहरु पढ्न छुटएको या बेवास्ता गरेको भनेर आलोचना भयो ।

सम्झौतामा क्यान र सेभेन थ्री स्पोर्ट्सबीचको कुनै पनि विवाद आएमा १५ दिनभित्र दुई पक्षले समाधान गर्न नसकेमा भारतीय कानुन बमोजिम मुद्दा लडेर समाधान गर्ने उल्लेख थियो ।

त्यसमा पनि क्यानका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । त्यस्तै सम्झौतामा जुनियर क्रिकेट कप र आठ वर्षसम्म क्यानले गर्न चाहेका सबै प्रतियोगिताको कमर्सियल राइट्स सेभेन थ्री स्पोर्ट्सलाई दिइने बताइएको थियो । त्यसमा पनि क्यानका पदाधिकारीहरु राजी भए ।

यतिमात्र होइन, क्यानले नेपाली क्रिकेटको विकासका लागि रणनीति तयार पार्ने अधिकार पनि उसैलाई नै सुम्पिएको थियो । क्रिकेट विकासका लागि कुनै पनि योजना या रणनीति तयार पार्नु परेमा सेभेन थ्री स्पोर्ट्ससँग त्यो अधिकार रहनेछ भनेर सम्झौतामा स्पस्ट लेखिएको थियो ।

यस्तै सेभेन थ्री स्पोर्ट्सले क्यानलाई नेपाल टी–ट्वान्टी लिग खेल्ने तरिका, कति ओभरको हुन्छ भनेर निर्क्योल गर्ने अधिकार पनि दिएको थियो । यसरी क्यान अपरिपक्व देखिएर गरेको सम्झौताले नेपाली क्रिकेट पुनः धरापमा पर्ने अवस्था सिर्जना भएको छ । नेपाली क्रिकेटलाई माया गर्ने व्यक्तिहरु अहिले चिन्तित छन् ।

नेपाली क्रिकेटमात्र होइन पूर्व खेलाडी, अहिलेका राष्ट्रिय खेलाडीहरु पनि यो विवादमा मुछिने डर छ । यदि खेलाडीहरु नै विवादमा तानिएको अवस्थामा यसको जिम्मेवार क्यान नै हुनेछ । सेभेन थ्री स्पोर्ट्स भने पहिले नै पन्छिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप