शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
महँगीको मार

मैदा र आँटाको मूल्य ह्वात्तै बढ्यो, कच्चा पदार्थ नपाउँदा बन्द हुँदै उद्योग

बुधबार, ११ माघ २०७९, १२ : ३३
बुधबार, ११ माघ २०७९

काठमाडौँ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै यही वर्षको जेठ महिनामा भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँबाट उत्पादित वस्तुको मूल्य झन्डै दोब्बरले बढेको छ । रुस–युक्रेन युद्धपछि विश्वभर गहुँको माग बढ्दा भारतले आन्तरिक खपतका लागि भन्दै निर्यातमा रोक लगाएको थियो ।

त्यसयता नेपाली बजारमा गहुँ र मैदानको मूल्य झन्डै दोब्बरले बढेको छ । भारतले गहुँको निर्यात प्रतिबन्ध लगाउनुअघि नेपाली बजारमा आँटाको मूल्य प्रतिकिलो ५० रुपैयाँ थियो । तर, यति बेला आँटाको मूल्य प्रतिकिलाे ८५ रुपैयाँ पुगेको छ ।

यस्तै, भारतले गहुँ प्रतिबन्ध लगाउनुअघि बजारमा मैदाको मूल्य किलोमा ५० रुपैयाँ प्रतिकिलो नै थियो । हाल मैदाको मूल्य बढेर किलोमा ९० रुपैयाँ पुगिसकेको छ । खासगरी, नेपाली आँटा र मैदा उद्योगहरू भारतमा उत्पादित गहुँबाट सञ्चालन हुँदै आएका छन् ।

भारतबाट कच्चा पदार्थका रुपमा गहुँ आयात गरेर मैदा र आँटा लगायतका वस्तु उत्पादन गर्दै आइरहेका उद्योगले प्रतिबन्ध लगत्तै मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले भारतले गहुँको निर्यात रोकेयता निरन्तर आँटा र मैदाको मूल्य बढिरहेको बताए ।

उनले उद्योगबाट मूल्य बढेर आएकाले सोही मूल्यमा आफूहरूले उपभोक्तालाई बिक्री गरिरहेको जानकारी दिए । ‘सुरुमा ५० रुपैयाँ प्रतिकिलोबाट ६०–६५ रुपैयाँ पुग्यो’, तुलाधारले रातोपाटीसँग भने, ‘त्यसपछि ७० रुपैयाँ हुँदै यति बेला ८५ रुपैयाँसम्म पुगेको छ ।’

भारतले विश्वमा गहुँ निर्यात प्रतिबन्ध लगाएपनि नेपाललाई भने परिमाणात्मक बन्देज मात्रै लगाएको छ । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गहुँको निर्यात खुलाइदिन अनुरोध गरेपछि भारत सरकारले वार्षिक ५० हजार मेट्रिक टन गहुँ नेपालतर्फ निर्यात गर्न अनुमति दिएको थियो ।

उद्योग मन्त्रालयको सिफारिस अनुसार निर्यात अनुमति दिने गरी भारत सरकारले व्यवस्था गरेपनि लामो समयसम्म नेपालतर्फबाट यसको पहल भएन । यद्यपि, यति बेला उद्योग मन्त्रालयले २४ वटा आँटा तथा मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातको सिफारिस भारतलाई पठाएको छ । यसअनुसार, गहुँ आयात भएमा नेपाली उद्योगले कच्चा पदार्थ पाउने भएपनि बजार मूल्य भने घट्ने देखिँदैन । उद्योगीले यो कोटाको गहुँ चैत १७ गतेसम्म ल्याइसक्नुपर्ने छ ।

नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार अग्रवाल सरकारले समयमै आवश्यक काम नगर्दा नेपाली बजारमा गहुँको आयात हुन नसकेको बताउँछन् । ‘व्यवसायीले पटक–पटक सरकारलाई गुहार्दा बल्ल सिफारिस गरेको छ,’ अग्रवालले भने, ‘केही समयमा यही अवस्था रहेमा मैदा र आँटाको मूल्य किलोमा १०० रुपैयाँभन्दा माथि पुग्छ ।’

नेपाली गहुँ उत्पादनले स्वदेशी मागको ४० प्रतिशत मात्रै माग धान्छ । बाँकी ६० प्रतिशत माग धान्न भारतबाट आयात गर्नुपर्छ । तर, सरकारले समयमै सिफारिस नगर्दा समस्या भइरहेको हो । हाल भारतमा गहुँको मूल्य प्रतिक्वन्टल ३५ सय भारु पर्छ । प्रतिबन्ध लगाउनुअघि उक्त मूल्य प्रतिक्विन्टल २८ सय भारु थियो । भारतबाट नेपालसम्म ल्याउँदा ढुवानी भाडा जोडिन्छ । 

हाल नेपालमा मैदा र आँटा उत्पादन गर्ने ४० वटा उद्योग संघमा दर्ता छन् । यसमा केही उद्योग छुटेका समेत हुन सक्छन् । तर, दर्ता भएका उद्योगमध्ये ८० प्रतिशत उद्योग पूर्णपुरमा बन्द अवस्थामा छन् ।  सञ्चालनमा रहेका २० प्रतिशत उद्योग पनि २० प्रतिशत क्षमतामा समेत सञ्चालनमा छैनन् । अग्रवालका अनुसार अबको एक÷दुई साता भारतबाट गहुँ आयात नभएमा बजारमा आँटा र मैदा नै पाइँदैन । उद्योगहरूले यसअघि नै ल्याएका कच्चा पदार्थ पूर्णरुपमा सकिइसकेकाले नयाँ कच्चा पदार्थ तत्काल ल्याइहाल्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप