मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
स्मृति

प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...

मङ्गलबार, २३ वैशाख २०८२, २० : ३५
मङ्गलबार, २३ वैशाख २०८२

(प्रदीप नेपालको यो कथा २०७३ सालमा तयार पारिएको हो । त्यतिबेला प्रदीपले आफ्नो भूमिगत राजनीति, झुमा देवानसँगको बिहे लगायत प्रसंग सुनाएका थिए । आज प्रदीप यस धर्तीबाट अस्ताएका छन्, हामीलाई केही उज्यालोका गुणहरू छाडेर । उनले नौ वर्षअघि सुनाएका केही स्मृति यहाँ प्रस्तुत छन् ।)

‘हाम्रो जातै फेरियो है— हामी कहिलेकाहीँ ठट्टा गर्छौं । मैले भन्छु— म किरातीजस्तो भएँ, तिमी बाहुनीजस्ती, उनी हाँस्छिन् मात्रै । उनी अति नै धार्मिक प्रवृत्तिकी छिन्, पूजा गर्छिन्, बत्ती बाल्छिन् । यति बढी नगर न, लाजमर्दो भयो भन्छु, मेरो आस्था हो भन्छिन्,’ प्रदीपले श्रीमती झुमा देवानको गुण र स्वभावबारे बताएका थिए, ‘उनी आँटी र स्वाभिमानी पनि उत्तिकै छिन् । उनको आड छ र मेरो सानो–बलियो परिवार छ । म झुमाको घरको स्थायी आवासी हुँ ।’ 

ढोकाको काठमा भगवानका मूर्ति कुँदिएका थिए । संघारमा सानो आकारका दुई तामाका गाग्रीमा पानी थिए । गाग्रीसँगै दीपिका पनि थिए । ‘बाहिर देखिहाल्नुभो नि, धार्मिक कर्म । ढोकामा पनि बत्ती बाल्छिन्,’ कुराकानीका क्रममा प्रदीपले प्रमाण पेस गरेका थिए । 

कुराकानीका लागि प्रदीपले नौ वर्षअघि (२०७३ सालमा) हामीलाई स्वयम्भूको आफ्नै घरमा बोलाएका थिए । हामीलाई ढोकैको मिटिङ रुममा राखेपछि यसो भित्र नियालेर अह्राए, ‘बज्यै, यहाँ दुइटा चिया लेउ है ।’

भनेको केहीबेरमै ‘बज्यै’ले चिया लिएर आइन् । ‘बज्यै, यहीँ बस । उहाँहरू परिवार–संवादका लागि आउनुभएको रे,’ प्रदीपले भने, ‘परिवार–संवादमा त परिवार नै बस्नुपर्‍यो !’

ऋग्वेद पढेपछि प्रदीप पूरै नास्तिक भएका रहेछन् । ‘ऋग्वेदमा सविता, उषा, अग्नि, वरुण, पानी र वायुलाई देउता मानिएको छ ।

ढल्कँदो उमेरकी ‘बज्यै’ लजाएजस्तो गरिन् र नबस्ने जनाउ दिइन् । उनको लजाइले उनकै त्यो सुदूर बैँसतिर संकेत गरेझैँ लाग्थ्यो, जतिबेला उनी लाहुरीकी छोरीबाट नेतृ र नेताकी श्रीमती हुन राजी भएकी थिइन् । 

‘बाहुनी बज्यैले जस्तो सधैँ पूजा गर्ने भएकीले मैले उनलाई बज्यै नै भनेर सम्बोधन गर्छु । उनले मलाई बाबा भनेर सम्बोधन गर्छिन् । झुमा धार्मिक प्रवृत्तिकी छिन्,’ प्रदीपले आफूहरूको स्वभाव र सम्बन्ध सम्झेका थिए, ‘धर्म र भगवानमा मेरो कुनै विश्वास छैन । मेरो व्रतबन्ध पनि भएको छैन । आमा खस्दा म सानै थिएँ, व्रतबन्ध भइसकेको थिएन र कोरा बस्न पाइनँ । बुवा खस्दा म धेरै कुरामा प्रस्ट भइसकेको थिएँ र काजकिरिया गरिनँ । चाहेको भए, बनारस गएर पनि कोरा बस्न सक्थेँ ।’ 

ऋग्वेद पढेपछि प्रदीप पूरै नास्तिक भएका रहेछन् । ‘ऋग्वेदमा सविता, उषा, अग्नि, वरुण, पानी र वायुलाई देउता मानिएको छ । यी चिज त भौतिक दुनियाँका छोइने, बुझिने कुरा हुन् । त्यसैले कुनै अर्को लोक, देवता वा कुनै रहस्यमयी तेस्रो शक्तिलाई मान्न आवश्यक भएन,’ प्रदीपको तर्र्क थियो, ‘हो, हाम्रै पुर्खाले आयुर्वेदिक कुरा ल्याए, ज्योतिष ज्ञान ल्याए, ब्रह्माण्डको धारणा ल्याए, यी त भौतिक दुनियाँसँग सम्बन्धित कुरा हुन् । हाम्रै दर्शनलाई लिएर पश्चिमाहरूले विज्ञानमा विकास गरेको देखिन्छ ।’

  • राजनीतिक संघर्ष र बिहे

प्रदीपको जन्म भोजपुरको सदरमुकाममा भएको हो, २८ पुस २०१० मा । उनी १४ वर्षकी हुँदा उनकी आमाको निधन भयो । 

चार दाजुभाइमध्ये प्रदीप साइँला हुन्, कवि मञ्जुल उनका माइला दाइ हुन् । ‘मेरो हजुरबुवाको बुवा ६० वर्षपछि संन्यासी बन्नुभएको थियो रे । हजुरबुवा बुद्धिलाल नेपाल कवि हुनुहुन्थ्यो, उहाँका कविता मेरो काकाले छपाउनुभएको छ । हजुरबुवा गाउँठाउँमा नाम चलेको पण्डित पनि हुनुहुन्थ्यो, भोजपुरबाट झापासम्म पण्डित्याइँ गर्न पुग्नुहुन्थ्यो,’ प्रदीपले आफ्ना पुर्खाको परिचय र पौरख सम्झेका थिए, ‘मेरो बुवा टीकावल्लभ नेपाल माल कार्यालयमा जागिरे हुनुहुन्थ्यो, त्यतिबेला अहिलेको मालपोत कार्यालयलाई माल कार्यालय मात्रै भनिन्थ्यो । बुवाले बहिदारबाट जागिर सुरु गरेर खरदार भएर निस्कनुभयो ।’ 

प्रदीप हुनेखाने परिवारमा जन्मेका हुन् । जग्गा–जमिन राम्रै थियो, अरुलाई अधियाँ गर्न दिन्थे । ‘अधियाँबाट आएको उब्जनी, बुवा र जेठो दाइको जागिर, सानोमा मैले खासै अभावका दिन भोग्नुपरेन । अहिले भोजपुरमा हाम्रो केही छैन, बेचिसकियो,’ प्रदीपले आफ्नो वर्गीय पृष्ठभूमि सुनाएका थिए, ‘पछाडि फर्केर हेर्दा हाम्रो पारिवारिक परम्परा पढ्ने–लेख्ने नै देखिन्छ । यस्तो परम्पराबाट आएकाले कहिल्यै ममा कमाउनुपर्छ, खानुपर्छ, ठग्नुपर्छ भन्ने आएन ।’

भोजपुरबाट एसएलसी गरेर प्रदीप २०२६ सालमा काठमाडौँ आएका थिए । काठमाडौँमा मामाका छोरा र मञ्जुल अगाडि आएर बसेका थिए । दाइहरूसँगै बसेर प्रदीपले त्रि–चन्द्र कलेजबाट पोलिटिकल साइन्समा स्नातक गरे । 

उनीहरूलाई थुनेको १० महिनामा मात्रै सजाय सुनाइयो । सजाय १० वर्ष कैद र १० हजार रूपैयाँ जरिमाना ठहर गरिएको थियो ।

आईए पास गरेदेखि नै उनले जागिर खान थालेका थिए । ‘सुरुमा जनशिक्षा सामग्री केन्द्रमा प्रुफ हेर्ने काम गरेँ । त्यसपछि पौष्टिक आहार कार्यक्रममा काम गरेँ, यो कार्यक्रमलाई युनिसेफको सहयोग थियो,’ प्रदीपले आफ्नो जागिरे जीवन र राजनीतिक जीवनको दोसाँध सम्झेका थिए, ‘२०२७ सालमै म कम्युनिस्ट पार्टीको सदस्य भइसकेको थिएँ, कलेज पढ्ने क्रममै । त्यतिबेला नेपालमा मई दिवस मनाइँदैनथ्यो, हामीले ८६औँ अन्तर्राष्ट्रिय मई दिवस मनाऔँ भनेर पर्चा टाँसेका थियौँ । त्यतिबेला तुलसी गिरीले भारतसँग सरेन्डर गरेका थिए । हामीले त्यसको विरोधमा राष्ट्रियता जोगाऊ भनेर पर्चा टाँस्यौँ । त्यही क्रममा मलगायत पक्राउ पर्‍यौँ ।’

उनीहरूलाई थुनेको १० महिनामा मात्रै सजाय सुनाइयो । सजाय १० वर्ष कैद र १० हजार रूपैयाँ जरिमाना ठहर गरिएको थियो । ‘२०३३ सालमा हामीले नख्खु जेलमा सुरुङ खनेर भाग्न सफल भयौँ । त्यसपछि त हामी राज्यका सबैभन्दा ठुला अपराधी भइहाल्यौँ,’ प्रदीपले भनेका थिए, ‘जेलबाट भागेपछि पार्टीले मलाई हाम्रो पार्टी र मुक्ति मोर्चा समूहबिच एकता गर्ने जिम्मा दियो । त्यो एउटा भावनात्मक समूह थियो, त्यसको हेडक्वार्टर लुम्बिनीमा थियो । त्यसमा मैले चिनेकामध्ये जीवराज आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रितहरू हुनुहुन्थ्यो ।’ 

एकता सकेपछि प्रदीपलाई पार्टीले मेची अञ्चलको सचिव बनाएर पठायो । त्यतिबेला प्रहरी दमन चरम थियो । प्रदीप जानुअघि (२०३५ चैत २७ मा) मेचीमा पार्टीका नेता रत्नकुमार बान्तवालाई पञ्चायती प्रशासनले हत्या गरेको थियो । 

झुमाका साथीहरू सबै अनेरास्ववियुमा थिए । साथीहरूले उनलाई स्ववियुको कोषाध्यक्षमा उठाए, जितेपछि उनी पूर्ण रूपमा राजनीतिमा आइन् ।

जनमत संग्रहपछि गाउँ पञ्चायत र नगरपञ्चायतको चुनाव भयो । नगर पञ्चायतको चुनावमा जनपक्षीय हस्तक्षेप गर्ने पार्टीको नीति थियो । हस्तक्षेप भनेको गाउँपञ्चायत वा नगरपञ्चायतमा पार्टीका मान्छे छिराउने । यसमा मेची अञ्चलको अलि बढी अनुभव थियो । पहिले गाउँ पञ्चायतमा आफ्ना मान्छेलाई जिताउन मेची सफल भएको थियो । नगरपञ्चायतमा पनि हस्तक्षेप गर्न पार्टीले प्रदीप लगायतलाई काठमाडौँ बोलायो, ०४३ मा । उनीहरू काठमाडौँ त आए तर योजना अनुसार सफल भएनन् ।

झुमा र प्रदीपको भेट इलाममा भएको थियो, ०३७ सालमा । त्यतिखेर उनलाई पार्टीले मेचीको सचिव बनाएर पठाएको थियो । आईएड पढ्दै गरेकी झुमा विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । 

झुमाका साथीहरू सबै अनेरास्ववियुमा थिए । साथीहरूले उनलाई स्ववियुको कोषाध्यक्षमा उठाए, जितेपछि उनी पूर्ण रूपमा राजनीतिमा आइन् । त्यतिबेला इलाममा चर्चित नेता थिए, ठाकुरचन्द्र श्रेष्ठ । उनले नै झुमा लगायत धेरैलाई विद्यार्थी राजनीतिमा प्रवेश गराएका थिए ।

भूमिगत कार्यकर्ताहरूले गाउँ–गाउँमा प्रौढ शिक्षा पढाउँथे । यो अभियानमा सम्भव भएसम्म झुमा पनि हिँड्थिन् । जिल्ला कमिटीमा रहेकामध्ये झुमा पढे–लेखेकीमा पर्थिन् । 

झुमा, प्रदीप लगायत भूमिगत कार्यकर्ताहरू पार्टीको काममा रात–रातभर हिँड्नुपथ्र्यो । पार्टीको नीति–नियम नै यस्तो थियो कि पार्टीमा लाग्ने पुरुषले महिलाहरूलाई अनिवार्य रूपमा दिदी या बहिनी मान्नुपथ्र्यो । महिलासँग नराम्रो सम्बन्ध भएपछि समाजमा बास पाइँदैन भन्नेमा पार्टीका सबै सतर्क थिए । महिलासँग जिस्कने वा चल्नेलाई समेत पार्टीले कडा कारबाही गथ्र्यो । 

‘त्यतिबेला पार्टीमा मेरो नाम दिनेश थियो । म मेचीको सचिव, काठमाडौँबाट डिप्लोमा सकेर गएको । जिल्ला कमिटीका साथीहरूले दिनेश कमरेडको बिहे भएको छैन भने झुमा कमरेडसँग गरिदिनुपर्छ भनेर कुरा उठाउनुभयो,’ प्रदीपले आफ्नो बिहेको प्रसंग सम्झेका थिए, ‘झुमालाई मैले मन नपराउनुको कुनै कारण थिएन । कुरा उठेपछि नै मैले उनीसँग कुरा गरेँ । आफ्नोबारे बताएँ— मेरो घर–सम्पत्ति छैन । जीवनभर राजनीतिमै लाग्ने हो, मेरो यो जीवन स्वीकार्य छ भने हामी बिहे गर्न सक्छौँ । उनी पनि घरको सुख र सम्पन्नता छाडेर राजनीतिमा आएकी थिइन् । उनले स्वीकार गरिन् र पार्टीले नै सामान्य ढंगले हाम्रो बिहे गरिदियो ।’ 

झुमा लाहुरे परिवारकी हुन्, उनका बुवाका दुई दाजुभाइ, दुवै बिट्रिस आर्मी । झुमालाई ठुलो बुवाले पालेका थिए । उनको बुवाबाट छोरीछोरी र ठुलोबुवाबाट छोराछोरा मात्रै जन्मिएपछि दाजुभाइले छोरा र छोरी साटेका थिए । झुमालाई पाल्ने बुवा क्याप्टेन भएर रिटायर्ड भए, जन्मदिने बुवा भने बिचैमा नाम कटाएर फर्केका थिए । 

  • पुजारी लाहुरे !

प्रदीप र झुमाको बिहे २०३९ सालमा भएको थियो । त्यतिबेला काठमाडौँमा अनेरास्ववियुले आन्दोलन गरिरहेको थियो । बाहिर जिल्लाबाट पार्टीले केही मान्छे काठमाडौँ बोलायो, त्यही मेसोमा झुमा पनि परिन् । काठमाडौँ आएर झुमाले पद्मकन्याबाट होम साइन्समा बिए र पछि महेन्द्ररत्नबाट बीएड गरिन् ।

झुमाको पूर्ण भरोसा पाएरै प्रदीप राजनीतिमा जमेका हुन् । प्रदीप सुनाउँछन्, ‘काठमाडौं आएपछि झुमाले भनिन्— भविष्यमा गाह्रो हुन्छ । तपाईं पूर्णकालीन राजनीतिमै लाग्नुस् । अब म आफैँ स्कुल खोल्छु । दुई–तीन वर्षमा म कमाउन थाल्छु, तपाईं ढुक्कले राजनीति गर्नुस् ।’

बिहेको चार वर्षपछि (२०४३ मा) छोरी (मिमी) जन्मिइन् । विवाहको केही समयपछि झुमा काठमाडौँ बस्न थालेकी थिइन् । 

झुमाले घरबेटीलाई भनेकी थिइन्— मेरो श्रीमान् लाहुरे हुन् र ब्रुनाईमा छन् । प्रदीपकै सुरक्षाको लागि झुमाले झुटको सहारा लिनुपरेको थियो । झुमालाई भेट्न कहिलेकाहीँ प्रदीप डेरामा पुग्थे । ‘चार वर्षकी भएपछि मात्रै मिमीले मलाई बुवा भन्न पाएकी हो । त्यस अघिसम्म म कहिलेकाहीँ कुनै अङ्कल भएर भेट्न जान्थेँ । म स्वतन्त्र रूपमा हिँड्न पाउँदिनथेँ,’ प्रदीपले भनेका थिए, ‘हामी दम्पती हौँ भनेर चिनिनु मेरा सुरक्षाका लागि खतरा थियो । छोरीको नाक चुच्चो र आँखा ठुला छन्, बाहुन–क्षत्रीको जस्तो । छोरी जन्मेपछि धेरैले भनेका थिए रे, लाहुरेचाहिँ पुजारी रैछ कि क्या हो ? त्यतिबेला बाहुन पनि पुजारीका रूपमा लाहुेर हुन पाउँथे ।’ 

काठमाडौँ आएर डल्लुमा उनले अरु दुईजना साथीसँग मिलेर निजी विद्यालय खोलिन्— कञ्चनजंगा स्कुल । पछि पार्टनरहरूले छाडे ।

बहुदल आएपछि ०४७ सालको जेठमा मात्रै उनी झुमाका श्रीमान् बनेर गए । त्यसमाथि मात्रै बाबुछोरीको चिनजान भयो । त्यतिबेला पनि उनीमाथि मुद्दा थियो, ०४८ मा अन्तरिम सरकारले सबै राजनीतिक मुद्दालाई फिर्ता लिएपछि मात्रै उनी फुकुवा भएर परिवारसँग बस्न थाले । त्यसपछि झनै पार्टीको काममा व्यस्त हुनुपर्‍यो । ‘हाम्रो पार्टीको नाम मात्रै सुनिएको थियो । त्यसैले पार्टी परिचय कार्यक्रम भनेर एक वर्ष कुद्यौँ,’ प्रदीपले भने । 

यता झुमाले निजी स्कुल चलाउन थालिन् । उनले धरानको डिपो हाइस्कुलबाट एसएलसी गरेकी हुन् । लाहुरेका छोराछोरीले मात्रै पढ्ने त्यस स्कुलमा होस्टेल समेत थियो । त्यसैबाट उनले निजी विद्यालय चलाउने तौरतरिका सिकेकी थिइन् । 

काठमाडौँ आएर डल्लुमा उनले अरु दुईजना साथीसँग मिलेर निजी विद्यालय खोलिन्— कञ्चनजंगा स्कुल । पछि पार्टनरहरूले छाडे । यो स्कुल प्राथमिक तहदेखि कक्षा ७ हुँदै कक्षा १० सम्म पुग्यो । यो स्कुल खोल्न उनले माइतीको सहयोग लिएकी थिइन् । पहिले स्कुल भाडामा थियो, ०४७ सालमा भवन नै किनिन् । ‘उनले ३१ वर्ष स्कुल चलाइन् । अहिले त्यसलाई कम्पनी बनाएर उनले २० प्रतिशतजति सेयर लिएकी छिन् । सम्पत्ति झुमाकै नाममा छ । उनले यो घर बनाएको आठ वर्ष भयो, म यो घरको स्थायी सदस्य हुँ,’ ,’ प्रदीपले भनेका थिए, ‘पूरा जिन्दगी नै यसरी चल्दै आयो कि म झुमाबिनाको जिन्दगी सोच्नै नसक्ने भएको छु । पछिल्लो जीवनकालमा त हामी एक–अर्काका सहारा छौँ । मैले चाहेको छु, म उनीभन्दा पहिले मर्न पाउँ, उनी पनि यसै भन्छिन् । हामी एक–अर्काप्रति आश्रित मात्रै होइन कि अन्योन्याश्रित नै छौँ । झुमा धार्मिक त छन् तर श्रीमानको खुट्टा ढोग्ने भन्ने हाम्रोमा छैन । यो मलाई त मनै पर्दैन । उनको माया गर्ने शैली नै अर्को छ । किरातहरूको माया बाहुन–क्षत्रीले बुझ्नै सक्दैनौँ ।’

  • बुवालाई भेट्न नपाएको क्षोभ 

२०४२ सालमा उनका बुवाको निधन भयो । पछिल्ला झन्डै १० वर्षसम्म उनले बुवा र दाजुभाइहरूलाई भेट्न पाएका थिएनन् । 

प्रदीप चारपटक मन्त्री र १२ वर्ष सांसद् भएँ । प्रदीपले राजनीतिमा मात्रै होइन साहित्यमा पनि उत्तिकै योगदान गरेका छन् । 

०४२ सालमै काठमाडौँमा बमकाण्ड भयो । त्यतिबेला परिवारले प्रदीपको चिन्ता गरेछ । यो खबर पाएर प्रदीप दाजुभाइहरूलाई भेट्न पुगे तर बुवालाई भेट्न पाएनन् । ‘जनमत संग्रहपछि मलाई ‘सुट एट साइट’ अर्थात् देख्नेबित्तिकै गोली ठोक्ने वारेन्ट थियो । म गाउँमा गएर उहाँलाई भेट्ने अवस्था थिएन । त्यतिबेला बुवा जागिरबाट रिटायर्ड भइसक्नुभएको थियो,’ बुवालाई भेट्न नपाएकाप्रति प्रदीपलाई निकै क्षोभ रहेछ, ‘बुवाले मलाई बनारसमा भेट्ने खबर पठाउनुभयो । पार्टीको मुखपत्र छाप्न म बनारस गइरहने बुवालाई थाहा थियो । हामीले बनारस भेट्ने भनेको १५ दिनअगावै उहाँ खस्नुभयो, हाम्रो भेट हुन पाएन । अझै पनि मलाई क्षोभ छ ।’

  • ओढारमा बसेर उपन्यास लेख्थे

प्रदीप चारपटक मन्त्री र १२ वर्ष सांसद् भएँ । प्रदीपले राजनीतिमा मात्रै होइन साहित्यमा पनि उत्तिकै योगदान गरेका छन् । 

‘तीन कक्षामा पढ्दा कविता लेखेको थिएँ । परशु प्रधान, ठुलो कथाकार, उहाँ मेरो हेडमास्टर हुनुहुन्थ्यो,’ प्रदीपले आफ्नो प्रेरणाका स्रोत परशु प्रधानलाई सम्झेका थिए, ‘परशु प्रधानले मेरो कविता सुनेपछि मलाई आठपाने कपी र एउटा पेन्सिल उपहार दिएर भन्नुभयो— कविता लेखिरहनु, ठुलो मान्छे बन्नेछस् । त्यही प्रेरणाले मेरा ठुला उपन्यास १९ वटा प्रकाशित छन् । सयवटा जति कथाहरू र सय जति नै नियात्राहरू छन् । खुइते कडेरिया लघु उपन्यास ०४० सालमा प्रकाशित भएको हो ।’ 

उनले अधिकांश कृति सञ्जय थापाको नाममा लेखेका हुन् । भूमिगत कालमा उनले दिनभरिजसो ओढारमा बसेर लेख्थे । कसैको घरमा बस्दा त्यो घर नै पुलिसको निसानामा पर्न सक्थ्यो । त्यसैले भूमिगतहरूले दिनको समयमा लुक्न प्रायः ओढार रोज्थे । ‘देउमाईको किनारमा, नओइलाउने फूलहरू उपन्यास जस्ता उपन्यास मैले ओढारमै लेखेको हुँ,’ उनले भनेका थिए, ‘यी दुई उपन्यास त सिनेमा बनेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप