शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कला अभिलेखीकरण

रेल थन्काउने निद्रालुको राज्य

शनिबार, १४ माघ २०७९, ०७ : ५९
शनिबार, १४ माघ २०७९

चित्रपटको सपाट पहेँलो पृष्ठभूमिमा निदाएको अभिनय गरेजस्तो देखिने एक व्यक्ति छन्, उनको टाउकोमा लिकसहित दुईवटा रेलका डिब्बा अड्याइएको छ । रेललाई छोपेको कपडा धुजाधुजा र तल्र्याङतुर्लुङ अवस्थामा छ । रेल बोक्ने दुब्लो–पातलो व्यक्ति भाव–भंगिमाविहीन अवस्थामा छन् । इन्तु न चिन्तु देखिने ती व्यक्तिविशेषको अनुहारमा न कुनै चिन्ता देखिन्छ, न दुखेसो (गर्न सकिन भन्ने भाव) नै । 

युवा कलाकार सुरेश बस्नेतले बनाएको ‘स्टेट अफ सोम्नोलेन्स– सेकेन्ड’ (निद्र्रालुताको राज्य– दोस्रो) शीर्षकको यस चित्र अलि अनौठो खालको प्यारोडी शैलीमा देखिन्छ । सन् २०२२ को २७ डिसेम्बरदेखि यही १७ जनवरीसम्म सिद्धार्थ कला दीर्घामा चलेको सुरेश बस्नेतको एकल प्रदर्शनी मा यही शीर्षकमा दुई चित्र राखिएका थिए, त्यसैले यसलाई सेकेन्ड (दोस्रो) भनिएको हो । बाहिर (विश्वकला बजारमा) एउटै नाम वा शीर्षकमा केही चित्र कोरेर पहिलो, दोस्रो, तेस्रो आदि नाम दिइनु पुरानै प्रचलन हो । नेपालमा आधुनिक कलाको शुभारम्भसँगै एकैजसो चित्र बनाई अलग–अलग नाम नराखी चित्रमाला (सिरिज) बनाउने प्रचलन आयो । ५०–६० वर्ष अघिदेखि भने चित्रको नामै नराख्ने, राखे पनि यसरी नै नम्बरलाई बढाउँदै जाने प्रचलन बस्यो । 

सुरेशका प्यारोडी शैलीका थुप्रैमध्ये केही चित्र यसपालिको प्रदर्शनीमा राखिएका थिए– भर्चुअल इल्युजन, स्विट क्यान्डी, मोबाइल लभर, एङ्सियस स्टेट, ड्राउन्ड इन् कन्टेम्प्लेसन, सेसिएटेड स्टेट, फ्लाइट इक्सटिन्कसन्, अप्रिल अर्थक्वेक–२०१५, फ्लड, द एज अफ द एन्थ्रोपोसिन आदि शीर्षकका । 

‘स्टेट अफ सोम्नोलेन्स– सेकेन्ड’

उनको प्रदर्शनीमा ‘स्टेट अफ सोम्नोलेन्स– सेकेन्ड’ चित्रकै प्रभुत्व देखिन्छ । यसलाई नहेरीकन, यसबारे नसोचीकन भावकको मन अन्यत्र भाग्न सकेको देखिँदैनथ्यो । भावकको मनलाई भड्कन नदिने कलाकारको अनेक दाउमध्ये यो पनि एउटा हो । 

यस कलाको संगठनात्मक स्वरूप रमाइलो छ । आजको कलागत भाषामा यसलाई राजनीतिक–सवालमा (पोलिटिकल इस्यु) बनेको कला भन्ने गरिन्छ । नीतिहरूको राजा राजनीति भनेझैँ राजनीतिले आममान्छेको, समाजको विकास वा विनाशको जग हालेको हुन्छ । यसैले नेपालमै पनि आजका धेरैजसो युवा कलाकार यस्तै राजनीतिक सवालमा आफ्नो कला पस्कने गर्छन् । 

सुरेशले रेलमाथिको भद्दा मजाक, तुइन र स्थानीयवासीको दिनचर्या माथिको खेलवाड, हवाइजहाजको अवस्था, बाढी आउँदा नेताहरू के गर्छन्, भूकम्प आउँदा सरकारको भूमिका के हुन्छ, भ्रष्टाचारको मिठाइ खान नेता कति उद्वेलित हुन्छन्– आदि प्रसंगलाई उठाउन खोजेका हुन् । राजनीति, समाज, आमजनताको दुःखपीडासँग कलाकारले चासो राख्नु आजको कलागत प्रवृत्ति र समसामयिक सन्दर्भ हो । राजनीतिक सवालमै कला सिर्जना गर्नु समसामयिक कलाको सर्वनवीन प्रयोग पनि हो । यसैले पश्चिमाहरूले आधुनिकभन्दा एक तह अगाडि जाँदै यस्ता कलाको प्रवृत्तिलाई उत्तरआधुनिक वा वैकल्पिक कला भन्न थाले । यसपछि यस्तै प्रवृत्तिमा बनेका कलालाई समसामयिक कला भन्ने र मान्ने गर्छन् ।   

‘स्टेट अफ सोम्नोलेन्स– सेकेन्ड’ चित्रमा हाम्रै राष्ट्रमा आधारभूत संरचनाविना ल्याइएको रेलको सन्दर्भ छ । रेल आयो तर थन्केर रहेको छ । यस चित्रले प्रश्न गर्छ– रेल किन ल्याएको ? रेल चल्नुपर्छ कि पर्दैन ? चलाउनका लागि चालक चाहिन्छ कि चाहिँदैन ? संरचना चाहिन्छ कि चाहिँदैन ? 

यी जायज प्रश्नप्रति सरकार बेखबर छ, राजनीतिक नेताहरू आपसी किचलो र खिचातानीमै व्यस्त छन्– यही अवस्था यस चित्रमा झल्कन्छ । 

यसबाहेक चित्रपटको अग्रभागको तलतिरबाट फूलका कोपिला भाँती ६ वटा विम्ब उदाएका छन् । सुरिला अलग–अलग हाँगाको टुप्पामा गोलाकार वस्तु देखिन्छ, प्रत्येक गोलाकार वस्तुको बीचमा रहेको रातो बिन्दुले प्रतिपक्ष पात्र (आम जनता)को उपस्थिति देखाउँछ, अर्थात् यी राता बिन्दु प्रतीकात्मक विम्ब हुन् । मूल व्यक्तित्व भनेको सरकार हो, जो चित्रपटको केन्द्र बिन्दुमा अवस्थित छ । अनेकौँ जिज्ञासा, प्रश्न, रोष, आक्रोश आदि रुपमा बिन्दुहरु उपस्थित छन् ।

कलामा एस्थेटिक्स जजमेन्ट 

कलागत दर्शन र शिल्प–दक्षताको रूपमा सुरेश खरो उत्रिएका छन् । शिल्प–दक्षतामा मात्र अडिई नबसेर समसामयिक विषयमाथिको भाव र अभिव्यञ्जनाभन्दा एक खुड्किलो माथि उक्लेर विचारसँग खेल्न थाल्नु उनको खास विशेषता देखिन्छ । आफ्ना विचार र आफ्ना कलागत मोटिफलाई तालमेलमा राख्नु, थुप्रै पात्रबीच संगति बनाइराख्नु पनि उनको कलाको गजबको संरचना र परिकल्पना देखिन्छ । सबल पक्ष भनेको समसामयिक घटनाप्रति उनको सचेतना हो । संरचनालाई खलबलाउन नदिनु, राजनीतिलाई चोटिलो प्रहार गर्नु उनको थप सशक्त कौशल देखिन्छ । कलामा रंग र रेखा, तुलिका र तुलिकाघातहरू सरल, सहज हुनु अनि विषयगत रूपमा विचार र अवधारणामा गम्भीरपना आउनु वा देखिनुलाई कलाकारको गुण र विशेषताको रूपमा हेर्न सकिन्छ । 

उनका कलामा थुप्रै व्यंग्यात्मक (प्यारोडी आर्ट) सन्दर्भ आएका छन् । चित्रपटमा प्रशस्त नेगेटिभ स्पेस छाडेर, सपाटपनाका साथ उदाउने विपरीत रंग प्रयोग गर्ने अनि यथार्थ स्वैरकाल्पनिक हिसाबमा व्यंग्य कस्ने वैकल्पिक कलाको मूल विशेषता हो । मलाई चित्त दुख्यो, मनमा गडेको आघातमा मैले कला पोतेँ भन्नु अलि पुरानो कलागत प्रवृत्ति भयो । तर यसैमा आफ्नो वैचारिक पक्षलाई उजागर गर्दा आज नौलो आयामको कला बनेको हो । 

देशको राजनीति र राजनीतिज्ञले विकासका आधारभूत संरचनामै खेलवाड गर्दा सचेत नागरिकमा स्वभावतः अनेकौँ विचार उम्रन्छन् । आफ्नो मन–मष्तिस्कमा उब्जिएका अनेकौँ प्रश्नलाई उनले आफ्ना कलामार्फत पस्कन खोजेका हुन् । विभिन्न पात्रलाई उनले आफ्नो कलामा संयोजन गरेका छन् । जसमा सबल, शक्तिशाली रेखाहरू आउनु, रंगको घनत्व देखिनु, विभिन्न विपरीत रंगबीच सन्तुलन हुनु आदिले उनका चित्र अब्बल देखिन्छन् । स–साना अवयवलाई हेर्दा पनि उनको सोच र मिहिनेत स्पष्ट झल्कन्छ । उनले सपाट पृष्ठभूमिमा एक मात्र पात्रलाई विशेष अर्थका साथ पस्केका छन्, यसलाई अहिलेको कलाको नवीनतम शैली मान्न सकिन्छ । अर्कोतिर, शक्तिशाली व्यक्ति कलाको मूल मोटिफ बन्न पुगेको छ, जसले पदमा बसिरहने तर मस्तसँग निदाउने, गर्नुपर्ने काम पटक्कै नगर्ने आजको हाम्रो राजनीतिक प्रवृत्तिलाई संकेत गर्छ । 

आज राजनीतिक सवालमा बन्न थालेका कला 

राजनीतिक सवाललाई विचारसहित कलामार्फत अभिव्यक्त गर्ने तरिका आज विश्वभर प्रचलनमा छ । यस्ता कलालाई कन्टेक्सचुअल कला (घटनामा केन्द्रित) भन्ने प्रचलन छ । सुरेशको कला पनि कन्टेक्सचुअल कलाको उत्तम नमुना हो ।

आजका कलाकारले राजनीति अनि राजनीतिज्ञलाई घोँचपेच अर्थात् व्यंग्य गर्ने साहस गर्छन् र गर्न थालेका छन् । कार्टुन कलामा अलि अघिदेखि यस्तो कलाको प्रवृत्ति देखापरे पनि अन्य सिर्जनशील कलामा यसले प्रवेश पाएको दुई दशक नाघेको छैन ।  

आजका कलाकारले सामाजिक हुनुमा र आफू समाजको एक अंग हुनुमा गौरव महसुस मात्रै गर्दैनन्, कर्तव्यबोधको उत्तरदायित्व पनि वहन गर्छन् । यो एक प्रकारको चेत अहिले युवा कलाकारमा पर्याप्त मात्रामा जागेको देखिन्छ । केही दशकअगाडि नेपालमा आधुनिक कलाको उदय भइसक्दा कलाकारमा यस्तो सोच विकसित भएको देखिँदैनथ्यो । त्यतिबेला कलाकारले कतै एकान्त वा स्टुडियोभित्र बसेर आधुनिक कलाको निर्माण गर्दथे । ती कलामा आममान्छेकै विषय हुन्थ्यो । तथापि आममान्छेको यथार्थ संसारदेखि पृथक् भएर यस्ता आधुनिक कला जन्मेको देखिन्थ्यो । मान्छेको समस्याको पहिचान, निराकरण वा यसैबारेकोे संचेतनालाई उठाउन त्यस बेलाका कलाकार जागरुक भएका देखिँदैनथे । आजको अवस्था फरक देखिन्छ । यसर्थ कलाको यो धारमा सुरेश एक प्रतिनिधि कलाकारको रूपमा देखिन्छन् । उत्तरआधुनिक कालको कलागत विचारसँग खेल्ने खास विशेषताका साथ उनी अगाडि आएका छन् । 

गधालाई मूल पात्रमा उभ्याइएका तीनवटा चित्र (एङ्सियस स्टेट, ड्राउन्ड इन् कन्टेम्प्लेसन र सेसिएटेड स्टेट) प्रदर्शनीमा लहरै टाँगिएको थियो । एकैजसो देखिए पनि यी चित्रमा अलग अलग रंग, पोज अनि भावभंगी चित्रित गरिएका छन् । नेपालको आजको सरकार, सरकारको उच्च पदमा आसीन नेताहरू र उनीहरुले जन्माएको आजको अवस्थाको चित्रण हो यो । हरियो रंगको गधा मस्त निद्रामा, नीलो रंगको गधा उपरखुट्टी लगाएर आनन्दसँग र खैरो रंगको गधा मदमस्त हाँसोसहित देखिन्छ । प्यारोडी आर्टको यो उच्चतम नमुना हो । प्यारोडी आर्ट उत्तरआधुनिक कलाको शक्तिशाली विशेषता पनि हो । राजसी कार्पेटमाथि सुनौलो कुर्सी दुवैतिर नेपालको झन्डा छन्, पछाडिपट्टि बुट्टाजस्तो गरी प्रतीकात्मक विम्बका रूपमा नेपालका तीन मूल राजनीतिक पार्टीका झन्डाको चिह्न (रुख, सूर्य र हँसियाहथौडा) आएका छन् । 

यस्तै, अर्को चित्रमा दौरा–सुरुवालमाथि कोट भिरेको माछा माथितिर झुन्डिएको गुलियो मिठाइ खान लालायित देखिन्छ । ‘स्विट क्यान्डी’ शीर्षकको यस चित्रको चित्रपटभरि एउटै मात्र पात्रले असहज ढंगबाट मुन्टो आकाशतर्फ फर्काएर बसेको छ । ऊमाथि तीनवटा प्रतीकात्मक मिठाइ झुन्डिएका छन् । 

यस्तै ‘भर्चुअल इल्युजन’ शीर्षकको चित्रमा बालबच्चाको मतलबै नभएकी एउटी आमा मोबाइलमा मस्त देखिन्छिन् । गाईगोरु (घरका बालबच्चा वा राजनीतिको अर्थमा आममान्छे तडपिएर छटपटाइरहेको) छटपटाएको अवस्थामा देखिन्छन् ।  चारैतिरबाट चारवटा कोपिला लामो लामो डाँठ लिएर अवलोकन गरेजस्तो र खबरदारी गरेजस्तो गरी उभिएका देखिन्छन् । यी आँखामा गहिरो चासो र आशा मिसिँदा पनि यो एक अलौकिक चित्र बन्न पुगेको देखिन्छ । 

निद्रालुता राष्ट्र अर्थात् ‘स्टेट अफ् सोम्नोलेन्स– सेकेन्ड’मा तुइनको पातलो डोरीमाथि झुन्डिएर खोलापारि तर्दै गरेका स्कुले केटाकेटी र महिला–पुरुषको लाम देखिन्छ । डोरीमाथि अजंगको कछुवा र कागजको नाउ (डुंगा) अनि नाउको बीचोबीच बाँसको लामो डन्डीमा अड्काइएको लाउड स्पिकर आदि देखिन्छ । तुइनको यस्ता विजोग अवस्था देखेपछि यस्तै पक्की पुल बनाइदिने नेताको भाषण भाषणमा मात्रै सीमित भएपछि जन्मन पुगेको कला हो यो । 

यस्तै अर्को चित्रमा उडिरहेको हवाइजहाजमाथि गैँडा, हात्ती, बाघ अनि जरायो बसिरहेको देखाइएको छ । तल जमिनमा डोजरहरूले भर्खर–भर्खर बनाइरहेको, बनाउँदै गरेको एयरपोर्ट देखाइएको छ । यो चित्र अलिअघि नै बनाइएको हो । तर, भर्खरै प्लेन दुर्घटना हुनुले यस्तो अवस्था हिजो पनि र आज पनि भएको चरितार्थ गर्दछ ।   

यो एकल कला प्रदर्शनीलाई सुरेशले ‘गल्पा ः इपिसोड्स इन् माइ लाइफ’ भन्ने नाम दिएका थिए । गल्पाले गफ, चर्चा, बहस आदि अर्थ दिने रहेछ । यसैलाई आफ्नै जीवनको अनेकौँ उपाख्यानसँग जोड्दै बढ्दा निस्केका यी चित्र यसकारण पनि जीवन्त देखिएका छन् । 

मनसुन प्रिन्ट मेकिङ 

अहिले ‘मनसुन प्रिन्ट मेकिङ, २०२३’  शीर्षकको सामूहिक कला प्रदर्शनी चलिरहेको छ । सिद्धार्थ कला दीर्घासँगैको अर्को बिल्डिङमा एउटा अलग्ग प्रदर्शन कक्ष स्थापित भएको छ । सिद्धार्थ ग्यालरीको पार्ट टु जस्तो भएर देखापरेको कक्षमा यी कला प्रदर्शित छन् । 

जनवरीको १८ देखि सुरु भई फेब्रुअरी १८ सम्म चल्ने यस प्रदर्शनीमा प्रिन्ट मेकिङ कला राखिएका छन् । पछिल्ला वर्ष प्रिन्ट मेकिङ कलाका कार्यशाला र प्रदर्शनी हामीकहाँ बढ्न थालेको छ । यी कलासँग सम्बन्धित अलग्गै समूह स्थापना, अन्य कलाका कार्यशाला भन्दा बढी खर्चिलो हिसाबमा कार्यशाला आदि यतिखेर देखिन थालेका छन् । 

यस्ता कलाको कार्यशालामा कलाका अन्य विधामा ख्याति कमाइसकेका कलाकार पनि सिकारुजस्ता भएर कला सिर्जना गरिरहेको देखिन्छ । कलाका स्कुल–कलेजमा अलग्ग पढाइ हुन थालेपछि यस विधामा प्रशस्त कलाकार आकर्षित बन्न पुगेका छन् । यस विधाअन्तर्गत एउटै कलाका धेरै प्रिन्ट निकाल्न मिल्छ र यसको बिक्री पनि हुने सम्भावना रहन्छ । 

यो कला प्रदर्शनीमा धेरैजसो नयाँ अनुहार छन् तर यसै क्षेत्रमा स्थापित भइसकेका कलाकार (शौरगंगा दर्शनधारी, सुभास तामाङ, विद्यमान तामाङ, सुदर्शन विक्रम राणा, शुष्मा शाक्य, विधाता केसी, रविता किसी, रुकमणि श्रेष्ठ, सम्झना राजभण्डारी आदि) का काम पनि यस प्रदर्शनीमा राखिएका छन् ।   

‘बिन्दु’ समूहको सहकार्यमा भएको यसपल्टको कला प्रदर्शनीमा उडकट प्रिन्ट (प्रिन्ट मेकिङ कलाको धेरै प्रकारमध्ये एक)लाई विशेष प्राथमिकतामा राखेर ३५ कलाकारका कामलाई प्रदर्शित गरिएको छ । उडकट प्रिन्ट मेकिङ कला सबैभन्दा पुरानो र सदियौँदेखि प्रचलनमा रहेको कला हो । सिर्जनशील, उपयोगी वा व्यावसायिक कलाको रूपमा यो कला फस्टाएको देखिन्छ । शिल्प–दक्षता र प्रविधिको बढी मात्रामा दख्खल हुने यस्ता कला बनाउन अलि गाह्रो जस्तो भए पनि बिक्री बढी हुने हुँदा यसले बिस्तारै व्यापकता पाउँदै गएको छ । कलाकारले यस्ता कलामार्फत भाव, भावना र अभिव्यञ्जना पस्कन सक्छन् । 

नेपालमा उडकट प्रिन्ट सयौँ वर्षदेखि प्रचलनमा छ । पछिल्लो समय भने यस कलामा नयाँ नयाँ प्रविधि जोडिएर केही विकसित रुपमा देखापरेको छ । पहिले–पहिले लोककला, धार्मिक कलाको क्षेत्रमा यो कला देखिन्थ्यो । संस्कार र जात्रा पर्वमा चाहिने अनेकौँ चित्रकला यही माध्यमबाट गरिने प्रचलन थियो । यसैको आधुनिक रूप हो, प्रिन्ट मेकिङ कला । 

पर्फमेन्स कला अनि प्रिन्टमेकिङ कलालाई मुख्य क्षेत्र बनाएर काम गर्दै आएको ‘बिन्दु’ समूहले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रशस्तै कार्यक्रम गरिसकेको छ । यस समूहको अगुवाको रूपमा कलाकारद्वय (दम्पती पनि) पृथ्वी श्रेष्ठ र शौरगंगा दर्शनधारी छन् । यस समूहले प्रिन्ट मेकिङ विधामा कैयौँ राम्रा–राम्रा कलाकार जन्माइसकेको छ । 

(मल्ल कलाकार कला र समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप