मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नजर शीतलनिवासतिर

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसको रणनीति : 'कम्फर्टेबल'मा पौडेल, 'रिस्क'मा सिटौला !

सोमबार, १६ माघ २०७९, १९ : ०१
सोमबार, १६ माघ २०७९

काठमाडौँ । निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँग दलहरूमा राष्ट्रपतिको उम्मेदवारबारे चर्चा सुरु भएको छ ।

सत्ता पक्षमा राष्ट्रपतिको उम्मेदवारबारे अन्योल भइरहेका बेला प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले भने राष्ट्रपतिका लागि सम्भावित चार जनाको नामअघि सारेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि बसेको पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपतिका लागि अगाडि सारेका थिए । नागरिक अगुवाहरूले दलित वा जनजातिबाट राष्ट्रपति बनाउनु उपयुक्त हुने सुझाव नेताहरूलाई दिने गरेका छन् ।

कांग्रेसका पदाधिकारीका अनुसार राष्ट्रिय सहमति जुटाउने अवस्थामा कांग्रेसले जनजाति वा दलित समुदायको व्यक्तिलाई पनि उम्मेदवार बनाउने सम्भावना पनि छ । यस्तो अवस्था बनेमा कांग्रेसमा नेता गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मा राष्ट्रपतिको रेसमा हुनेछन् । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अहिले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफलमा चलिरहेको बताए । राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय हुने उनको भनाइ छ ।

देउवाका एक विश्वासपात्रका अनुसार चुनावअघि राष्ट्रिय सहमति जुटेको अवस्थामा पौडेल उम्मेदवार हुने सम्भावना बढी छ । ती नेताले भने, ‘शेरबहादुर दाइले संसदीय दलको निर्वाचनमै रामचन्द्र दाइलाई राष्ट्रपति बनाउने बचन दिनु भएको छ । त्यही अनुसार उहाँ शेरबहादुर दाइको प्रस्तावक बस्नु भएको हो ।’ 

पर्दाभित्रबाट ‘माओवादीको भोट क्रसको सहायता’ले राष्ट्रपतिमा गोल गर्नुपर्ने अवस्था आए सिटौलालाई अगाडि सारिने ती नेताको दाबी छ । ‘राष्ट्रिय सहमति भएन वा माओवादीले संस्थागत रूपमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने अवस्था आएन भने सिटौलाजी उम्मेदवार हुनुहुन्छ होला,’ उनले भने ।

जोखिमपूर्ण अवस्थामा प्रतिनिधिसभा सदस्यबाट पौडेललाई राजीनामा दिन लगाएर राष्ट्रपतिको उम्मेदवार नबनाइने उनको भनाइ छ । ‘अहिलेसम्म शेरबहादुर दाइको पहिलो प्राथमिकता रामचन्द्र दाइ नै हुनुहुन्छ । तर चुनाव जित्ने प्रस्ट तस्बिर बनेपछि मात्र उहाँ उम्मेदवार हुनुहुन्छ । नभए सिटौलाजीको सम्भावना बढी हो,’ उनी भन्छन् ।  कम्फर्टेबल अवस्थामा पौडेल र रिस्कको अवस्थामा सिटौला उम्मेदवार हुन सक्ने ती नेताको भनाइ छ ।

पौडेल र सिटौलाको नाममा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक रहेको नेताहरू बताउँछन् । माओवादीका एक पदाधिकारीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयासमा व्यक्तिको कुरा गौण हुने बताए । उनले भने, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने माओवादी प्रस्ट छ । कांग्रेस वा एमाले कसले प्रस्ताव गरेको उम्मेदवारमा भन्ने छलफल हुँदै जाँदा थाहा होला ।’ कांग्रेसले राष्ट्रपतिमा ‘टावरिङ पर्सनालिटी’लाई अगाडि सार्दा राष्ट्रिय सहमति खोज्न सहज हुने ती पदाधिकारीको बुझाइ छ । 

‘कांग्रेसमा अहिले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । उहाँ दुवै जना माओवादीका लागि कम्फर्टेबल नै हो,’ ती पदाधिकारीले भने, ‘सिटौलाजीसँग शान्ति प्रक्रियादेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्षको गहिरो विश्वास छ । पछिल्लो समय पौडेलजीप्रति पनि उहाँ उदार हुनुहुन्छ ।’ 

राष्ट्रपति निर्वाचनको पृष्ठभूमिमा कांग्रेस र माओवादी नेताहरूबीच छलफल जारी छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग संवाद गरिरहेका छन् । लेखकले मङ्गलवार साँझ पनि दाहालसँग छलफल गरेका थिए ।

गृह जिल्ला कञ्चनपुरबाट सोमबार काठमाडौँ फर्किएका लेखकले आज–भोलि नै राष्ट्रपतिका विषयमा थप छलफल हुने बताए । उनले भने, ‘राष्ट्रपतिका विषयमा आज–भोलि नै आन्तरिक र अन्य पार्टीसँग छलफल हुन्छ ।’

माओवादीको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेपछि कांग्रेस थप छलफलको तयारीमा छ । कांग्रेसका नेताहरूले आफ्नो उम्मेदवार निर्वाचित हुने विश्वासी भाषा भोलि राखेका छन् । 

माओवादीसँग निरन्तर संवादमा रहेका कांग्रेसका उपसभापति खड्काले कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने प्रबल सम्भावना रहेको बताए । ‘नेपालका सबै दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्ने कसरत पनि गरिरहेको छ ।’

उनका अनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए पनि कांग्रेसकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने सम्भावना बढी छ । राष्ट्रपतिको निर्वाचनमा अहिलेकै सत्ता गठबन्धनका आधारमा परिणाम नआउने खड्काले सङ्केत गरे । 

‘हामी अहिले छलफलमै छौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार नै पार्टीले निर्णय गरिसकेको छैन । राष्ट्रपतिको निर्वाचनमा कुन दलले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने–नगर्ने विषयमा बोल्न हतार हुन्छ,’ उनी भन्छन्, ‘तर यति बुझ्नुस् कांग्रेसले नै उठाएको उम्मेदवार राष्ट्रपति हुनेमा म विश्वस्त छु ।’  

यस्तै कांग्रेस महामन्त्री गगन थापाले पनि कांग्रेसले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउन प्रयास भइरहेको बताए ।  उनका अनुसार उम्मेदवारलाई जिताउन सबै माओवादीले मत हाल्ने कांग्रेसको अपेक्षा छ । ‘खासगरी माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ,’ उनी भन्छन् ।

महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद कांग्रेसको उम्मेदवार निर्वाचित हुँदा राजनीतिमा सन्तुलन हुने बताए ।

‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिसकेपछि अब राष्ट्रपतिमा सत्ता गठबन्धन सम्बद्ध दलको मतको अपेक्षा राख्ने कुरा स्वाभाविक हुन आउँछ । कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुँदा राजनीतिमा सन्तुलन ल्याउँछ ,’ थापाले भने । 

गणितीय समीकरण

राष्ट्रपति निर्वाचनमा सङ्घ र प्रदेशका सांसद मतदाता हुन्छन् । संघका एक सांसदको ७९ र प्रदेशका एक सांसदको ४८ मतभार जोड्दा राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७ सय ७ मतभार हुन्छ । बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा विजयी हुन्छन् । 

कांग्रेससँग १६ हजार २ सय २१ र एमालेसँग १५ हजार २ सय ३३ मत रहेकाले माओवादी विना बहुमत जुटाउन दुवै दललाई कठिन छ । माओवादीसँग ७ हजार ७ सय ४५ मत छ । 

पुस १० को सहमति अनुसार माओवादीको समर्थन हुँदा एमालेले चाहेको व्यक्ति सहजै राष्ट्रपति हुन देखिन्छ । एमाले १५ हजार २ सय ३३, माओवादी ७ हजार ७ सय ४५, राप्रपा २ हजार ४ सय ५०, जसपा २ हजार १ सय ४५, रास्वपा १ हजार ५ सय ८०, मनोनीत २ सय ३७, नेमकिपा २ सय २३, स्वतन्त्रका सम्भावित १ सय ९४ एकैठाउँ जुटाउन २९ हजार ८ सय ७ मत पुग्न आउँछ ।

यो अवस्थामा एमालेले अघि सारेका उम्मेदवारले ३ हजार ४ सय ४४ बढी मतसहित निर्वाचित हुने छन् ।

माओवादी कांग्रेसतर्फ ढल्किँदा भने एमाले उम्मेदवार राष्ट्रपतिमा पराजित हुने निश्चित हुन्छ । माओवादीको संस्थागत निर्णय भए कांग्रेस उम्मेदवार भारी मतले निर्वाचित हुने अवस्था छ । कांग्रेस १६ हजार २ सय २१, माओवादी ७ हजार ७ सय ४५, जसपा २ हजार १ सय ४५, एस २ हजार ५ सय ७४, जनमत १ हजार २ सय ४२, लोसपा ९ सय ७१, नागरिक उन्मुक्ति ८ सय ९२, जनमोर्चा २ सय ६, स्वतन्त्र ६ सय ५० सहित ३२ हजार ६ सय ४६ मत एक ठाउँ हुनेछ ।

यसरी यो गठबन्धनले आवश्यकभन्दा ६ हजार २ सय मत बढी पाउनेछ । माओवादीले समर्थन नगरेर उदारता मात्र देखाए कांग्रेसले परिणाम हात पार्न सात दलीय विपक्षी मोर्चा बनाउनुपर्ने छ । सरकारमा सहभागी नभएका जसपा, नागरिक उन्मुक्ति र जनमतलाई आफ्नो पक्षमा उभ्याउन कोसिसमा कांग्रेस छ ।

सत्ता बाहिरका दलको मोर्चा बनाउन सके माओवादीका केही प्रतिशत मत मात्रै आफ्नो पक्षमा पार्दा परिणाम प्रभावित गर्न सकिने कांग्रेसको आङ्कलन छ । कांग्रेसले माओवादीबाट १ हजार ४ सय ५३ मत प्राप्त गरे पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप