शनिबार, २० जेठ २०८०
ताजा लोकप्रिय

६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित

२६ जना प्रहरी जिल्ला तानिए
मंगलबार, १७ माघ २०७९, ११ : ४९
मंगलबार, १७ माघ २०७९

काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) अशोक कुमार मण्डल सहित ३ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए ।

माघ १५ मा राति हिरासतबाट ६ जना थुनुवा भागेका थिए । सो रात डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार सरोज रेग्मी र जवान रोहन मगरलाई निलम्बन गरेको डिएसपी क्षेत्रीले जानकारी दिए । वरिष्ठ हवलदार र जवानलाई जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको हो । असईलाई मधेस प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको हो ।

इलाका प्रहरी कार्यालयका २६ जना प्रहरीलाई जिल्लामा झिकाइएको छ । इलाका इन्चार्ज बेचन यादवलाई पनि जिम्मेवारीबाट हटाउने तयारी छ । हिरासतबाट भागेका मध्ये मिथिला नगरपालिका–६ का रोशन महतोलाई पुन:  पक्राउ गरिएको छ । ५ जनाको खोजी भइरहेको डिएसपी क्षेत्रीले बताए । प्रहरीले उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद लिएर हिरासतमा राखेको थियो । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवको जिम्मेवारीमा नयाँ टिम पठाइएको छ । तर, प्रहरी निरीक्षकको दरबन्दी रहेको उक्त कार्यालयमा हेडक्वार्टरले नै प्रहरी निरीक्षक पठाउने तयारीमा रहेका जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप