शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
स्वास्थ्य

कोरोनाविरुद्धको खोप अभाव : बुस्टर डोज नपाउँदा विदेश जानेलाई सास्ती

शुक्रबार, २० माघ २०७९, १५ : ३७
शुक्रबार, २० माघ २०७९

काठमाडौँ । नवलपरासीका विनोद थापा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप केन्द्रमा निराश अवस्थामा भेटिए ।  कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको जोन्सोन एण्ड जोन्सोन खोपको बुस्टर डोज काठमाडौंमा पाइन्छ भन्ने सुनेर उनी नवलपरासीदेखि आएका थिए । सोही क्रममा टेकुको खोप केन्द्रमा पुगेका उनी हताश स्वरमा एप्रोन लगाएर प्राङ्गणमा हिँड्ने स्वास्थ्यकर्मीलाई पटक–पटक खोपबारे सोधिखोजी गरिरहेका थिए । 

तर, न उनले खोप लगाउन पाए न त चित्तबुझ्दो जवाफ नै पाउन सके । विदेश जाने तयारीमा रहेका २२ वर्षिय थापाले रातोपाटीसँग भने, ‘शुक्रवार मेडिकल गराउन काठमाडौँ आएको हो । अस्पतालले बुस्टर डोज खोप नलगाएसम्म मेडिकल नगरिदिने रहेछ । म्यानपावर कम्पनीले मेडिकल गरेको २२/२३ दिनमा विदेश पठाउन भनेको छ । खोप नलगाएसम्म विदेश जाने प्रक्रिया रोकिने भयो ।’ 

काठमाडौँको काँडाघारीका प्रताव घिमिरे पनि दुई नातिनीका लागि नजिकैको स्वास्थ्य केन्द्रमा बुस्टर डोज नपाएपछि टेकु अस्पताल बुझ्न पुगेका थिए । ११ र ७ वर्षिया नातिनीहरू विदेशमा रहेका छोरा बुहारीकोमा पठाउने तयारी गरेकाले उनी टेकुसम्म पुगेका थिए । टेकु अस्पतालमा खोप नपाएपछि उनी कहाँ खोप पाइन्छ भन्दै फोनमार्फत बुझिरहेका थिए ।

थापा र घिमिरे प्रतिनिधि पात्र मात्रै हुन् । प्रत्येक दिन सरुवा रोग अस्पतालमा बुस्टर डोज खोज्दै पुग्नेहरू खोपको अभावले त्यत्तिकै फिर्ता हुन बाध्य भएका छन् । विदेश जाने प्रक्रियामा रहेका र खोज खोज्दै टाढा टाढाबाट आउनेहरू बुस्टर डोज खोप नपाएर फर्किने क्रम बढिरहेको स्वास्थ्यकर्मीहरू सुनाउँछन् । 

सरुवा रोग अस्पतालका सूचना अधिकारी भक्तबहादुर खड्काले विदेश जाने तयारी गरेकासहितका करिब १०० जना त्यत्तिकै फर्किने अवस्था बनेको बताए । कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएर लामो समयसम्म बुस्टर डोज नलगाई बसेका र विदेश जाने प्रक्रियामा रहेकाहरू सरुवा रोग अस्पतालमा खोप पाइने विश्वासका साथ पुग्ने गरेका छन् । 

हाल सरुवा रोग अस्पतालमा भेरोसेल खोपको बुस्टर डोजका साथै पहिलो र दोस्रो मात्रा दैनिक २०० जनाले मात्र लगाउने गरेको सूचना अधिकारी खड्काले बताए ।
उता त्रिवि शिक्षण अस्पतालमा रहेको कोरोनाविरुद्धको खोप केन्द्र बन्द भएको महिना दिन बितिसकेको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । वीर अस्पतालमा पनि कोरोना खोप केन्द्र सञ्चालन छ । तर, त्यहाँ पनि भेरोसेल खोपको मात्रै बुस्टर डोजका साथै पहिलो र दोस्रो मात्रा दैनिक दिने गरिएको छ । 
अधिकारीहरूका अनुसार खोप लगाउने १८ वर्षमाथिको उमेर समूहलाई दिइने बुस्टर खोपको मात्रा भण्डारण केन्द्रमा छैन । स्वास्थ्य संस्थाहरूले खोप माग गरे पनि स्वास्थ्य विभागले उपलब्ध गराउन नसकेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।

कति छ खोपको मौज्दात
नेपाल सरकारसँग भेरोसेल खोपबाहेक फाइजर खोप ९०० मात्रा मात्रै छ । त्यो पनि मधेस प्रदेशमा स्टक रहेको हो । केन्द्रीय भण्डारणसहित सातै प्रदेशका भण्डारण केन्द्रमा भेरोसेल खोप मात्रै उपलब्ध गराएको केन्द्र सरकारले यसअघि लगाइएका खोपहरू भने उपलब्ध गराउन नसकेको हो । जसको नतिजास्वरुप हाल बुस्टर डोज खोप लगाउन समस्या भइरहेको छ ।

 हाल ४३ लाख ६२ हजार ४४२ मात्रा भेरोेसेल खोप देशका १० वटा खोप भण्डारण केन्द्रमा स्टक रहेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले बताए ।

  बुस्टर डोजबारे मलमल
टेकु अस्पतालको खोप केन्द्रमा पहिलो मात्रा जोन्सन मण्ड जोन्सन खोप लगाएर एक वर्षअघि विदेश गएका बाराका महेश साह (नाम परिवर्तन) त्यसको तीन महिनापछि स्वदेश फर्किए । पुनः विदेश जाने प्रक्रिया रहेका उनले बुस्टर डोज जोन्सनको सट्टामा भेरोसेल खोप लगाइदिन आग्रह गरिरहेका थिए । तर, कुन खोप लगाएकाहरूले बुस्टर डोज कुन लगाउने जानकारी कमैमा छ । 

कोभिशिल्ड, अष्ट्राजेनिका, फाइजर, जोन्सन मण्ड जोन्सन र मोडर्नाको पूर्ण मात्रा लगाएकाले हाल नेपालमा उपलब्ध भेरोसेल खोप बुस्टर डोजका रूपमा लगाउन नमिल्ने प्रमुख डा. चौरसियाले बताए । विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रिय खोप सल्लाहकार समितिले सिनोफार्मको खोप भेरोसेललाई बुस्टर डोजको रूपमा लगाउन अनुमति नदिएकाले  प्रयोगमा ल्याउन नसकिएको डा चौरसियाले बताए ।

जस्तै पहिला कोभिशिल्ड वा भेरोसेल खोप लगाएका व्यक्तिले  बुस्टर डोजका रूपमा अष्ट्राजेनिका, फाइजर खोप पनि लगाउन मिल्छ ।  केही अध्ययनहरूले मिक्समाक्स खोप लगाएमा अझै प्रभावकारी हुने देखाएको छ । कोभिसिल्ड, जोन्सन मण्ड जोन्सन र अस्ट्राजेनिका खोप लगाएकाले फाइजर/मोडर्ना लगाउन मिल्छ । खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ ।  

मन्त्रालयका अनुसार हालसम्म बुस्टर डोज खोप ७९ लाख ६२ हजार ७९१ मात्रा  लगाइएको छ । पूर्णमा मात्रा खोपको लक्षित जनसङ्ख्या २ करोड ३३ लाख २७ हजार ६१९ जना रहेको छ । जसमा ९५ प्रतिशतले खोप लगाएका छन् भने एक मात्रा खोप ९९.५ प्रतिशतले लगाइसकेका छन् ।

बुस्टर डोज खोप कहिले आउँछ  ?
हाल खोपको अभाव रहेको अवस्थामा अब खोप कहिले आउला भन्ने चासो व्यप्त छ । प्रमुख डा. चौरसियाका अनुसार चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चित गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख ८८३ मात्रा १३ फेब्रुअरी अर्थात् फागुन १ गतेबाट आउन सुरु हुन्छ । त्यसपछि  थप १५ लाख खोप पनि आउने सुनिश्चित भएको छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलालले चौथो लहरपछि खोप लगाउने दर ह्वात्तै कम हुँदा केही खोप खेर जान पुग्यो । जसका कारण आलेचित समेत हुनुपरेको उनको भनाइ छ ।
सोही समयमा सरकारले कोभ्याक्स सुविधाअन्तर्गत ९० लाख डोज खोप ल्याउने सुनिश्चित गरेको थियो । जसमा ३० लाख मात्रा खोप प्राप्त गरिएको उनले सुनाए । नेपालमा खोप नलगाएर म्याद गुज्रिने अनि सुनिश्चित गरिएको खोपको पनि म्याद कम भएकाले त्यस बेला खोप नल्याएको उनले बताए ।

स्टकमा भेरोसेल खोप छ कहाँ कति ?  
टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रसँगै सातै प्रदेशका खोप भण्डारण केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपमात्रै स्टकमा छ । देशभरका १० वटा खोप भण्डारण केन्द्रमा ४३ लाख ६२ हजार ४४२ मात्रा खोप स्टकमा रहेको आपूर्ति शाखाको जनाएको छ । त्यसबाहेक मधेस प्रदेशमा फाइजर खोप ९०० मात्रा स्टक छ । 
खोप स्टक विवरण

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप