शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव

बुधबार, २५ माघ २०७९, २१ : ०७
बुधबार, २५ माघ २०७९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्रह गरेको छ । मन्त्री किरातीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले विभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवश्यक छ, ।’ 

मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

नेपालका महत्वपुर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रवर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 

विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुपति, लुम्बिनी, लगायतका   क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराती समक्ष आग्रह गरे । यसैगरी नेपाल वायुसेवा निगम र अन्तर्राष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाईन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्ब शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उनको सुझाव छ । अध्यक्ष मल्लले भने, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वाञ्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तीमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ, ।’

मन्त्री किराती समक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिषा शुल्क निःशुल्क गर्नुपर्ने बताएका थिए । चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किरातीले पर्यटन गतिविधि बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिषा सहज बनाउन योजना बनाइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप