शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
कला अभिलेखीकरण

राजनीतिक होइन, कला ‘गठबन्धन’को रापिलो वातावरण

शनिबार, २८ माघ २०७९, १४ : ००
शनिबार, २८ माघ २०७९

‘गठबन्धन’ शीर्षकबाट एउटा सामूहिक कला प्रदर्शनी अहिले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को ‘चन्द्रमान सिंह मास्के प्रदर्शन कक्ष’मा भइरहेको छ । यस प्रदर्शन कक्षका सम्बन्धमा थोरै चर्चा गरौँ । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठनलगत्तै सीता भवन (राणाकालीन दरबार)को एउटा ठूलो कक्षलाई ‘चन्द्रमान सिंह मास्के कक्ष’ भनेर नामाकरण गरिएको थियो । चन्द्रमान सिंह मास्के, जो समसामयिक कलाको शुभारम्भ बिन्दुको शीर्षस्थ स्थानमा थिए । पश्चिमी कला पद्धतिका बारेमा औपचारिक शिक्षा लिने पहिलो नेपाली समेत हुन् मास्के । सन् १९१७ तिरै चिकित्सक बन्न कलकत्ता गएका उनले चिकित्साशास्त्रसँगै ललितकलाको पनि लुकिछिपी अध्ययन गरे । पछि चिकित्सकको बाटो बीचैमा छाडी कलकत्ताबाटै विधिवत कला शिक्षा हासिल गरेका थिए । नेपाली कलाको नौलो धार स्थापना हुनुमा उनको योगदान ठूलो छ । यसैको सम्मानार्थ यो कक्ष उनलाई समर्पित गरिएको थियो ।

1 chandra man singh maskey

चन्द्रमान सिंह मास्के

सम्भवतः अग्रज, मूर्धन्य कलाकारलाई सम्झने यो परिपाटीलाई अहिलेसम्म कायम राखिरहेको, भइरहेको देखिन्छ । ललित कला प्रज्ञा प्रतिष्ठानको तेस्रो कार्यकाल सकिएर यतिखेर चौथो कार्यकालको पर्खाइमा रहँदा समेत अग्रजलाई सम्मान गर्ने परिपाटी जीवन्त रहनु खुसीको कुरा हो । ०७२ को भूकम्पले सीता भवन तहसनहस भएपछि नाफाको कार्य सञ्चालनका लागि साना–ठूला टहरा बनेका छन् । यहीमध्ये एउटा टहरामा यो चन्द्रमान सिंह मास्के कक्ष सरेको छ ।

गठबन्धन

२०२३ को फेब्रुअरीको पहिलो सप्ताहमा सुरु भएको यो कला प्रदर्शनी फेब्रुअरीको दोस्रो सातासम्म चल्नेछ । राष्ट्रमा राजनीतिक गठबन्धनको तमासा भइरहेको अवस्थामा कलाको विषय (थिम) पनि ‘गठबन्धन’ बन्नु वा बनाइनु समसामयिकता सन्दर्भ हो । यद्यपि यही थिममा मिल्ने गरी कला बनेको भने देखिँदैनन् । यसले अलिकता खल्लो महसुस गराउँछ । प्रदर्शनी हेर्दै गर्दा पनि कलाको थिम र प्रदर्शित कला एकापसमा मेल नखानुले भावक स्वाभाविक अलमलमा पर्छन् । 

१९ कलाकारका काम यस कला प्रदर्शनीमा समावेश भएका छन् । यस प्रदर्शनीमा समसामयिक, आधुनिक, परम्परागत र व्यावसायिक कलाको समिश्रणमा देखापरेको छ । नितान्त अलग अलग क्षेत्रका, अलग अलग विधाका कलाकार एकै ठाउँमा जम्मा भएर कला प्रदर्शनी गर्नु यो कलाको विशेषता हो ।

चित्रहरूका साथसाथै केही मेटलबाट बनेका आकर्षक मूर्ति पनि यस प्रदर्शनीमा राखिएका छन् । यी खाइलाग्दा, लोभलाग्दा मूर्ति व्यावसायिक मूर्ति हुन् । यसले नेपाली हस्तकलामा नेपाली कला कति उच्च स्तरमा पुगिसकेको छ भन्ने प्रतिविम्बित गर्दछ । राजनीतिमा गठबन्धन कामयाबी भए वा नभए पनि यता कला क्षेत्रमा यस्ता गुणस्तरका परम्परागत कला र हस्तकला बनिरहेका छन्, यस्ता कला बनाउने कलाकारको ठूलो जत्था निरन्तर सक्रिय छ । 

यो कला प्रदर्शनीको मुख्य विशेषता भनेकै केही अग्रज कलाकारका महŒवपूर्ण चित्र प्रदर्शित हुनु हो । यस्तै, विभिन्न विधा र शैलीका कला एकै ठाउँमा समेटिनु अर्को विशेषता देखिन्छ । अग्रज कलाकारमा शशिविक्रम शाह (जन्म सन् १९४०), कृष्ण मानन्धर (१९४८), विजय थापा (जन्म १९४३) इन्द्र प्रधान (१९४५–१९९४) आदि हुन् ।

वर्तमान अवस्था र राजनीतिक झमेलाको झ्यालबाट चियाएर नहेर्ने हो भने, यो कला प्रदर्शनीले एउटा अर्थ बोकेको देखिन्छ । स्वास्थ्यले राम्ररी साथ नदिएर घरैमा आराम गरिरहेका ८२ काटेका मूर्धन्य कलाकार शशिविक्रम शाहको चित्र हेर्न पाउँदा कलाको सौन्दर्य अनुभूत गर्न यो कला प्रदर्शनी उपयुक्त छ । शशिको चित्र छ– गहिरो रातो पृष्ठभूमिमा बुर्कुसी मार्दै गरेको अवस्थामा सातवटा घोडा छन्, चित्रपटको अग्रभागमा मलिन अनुहारका साथ एक असहाय महिला, सँगै बसेको एक बालक कुतूहलताका साथ उफ्रिरहेको घोडामा एकटकले हेरिरहेको छ । स्वभावतः हामी सबैमा ती अग्रज र आदरणीय कलाकारमाथि त्यसै पनि श्रद्धा जागेर आउँछ । अहिले यस उमेरमा पनि रहरलाग्दो उत्तेजित घोडा बनाएर उनले नेपाली कला जगत्लाई उर्वर बनाउँदै छन् । यस्ता यस्तै चित्रले भरिएका यो कला प्रदर्शनी यसर्थ महŒवपूर्ण छ ।

2

शैलीगत रूपमा नेपाली कलामा स्वैरकाल्पनिकता अनि मिथको प्रयोग गरी कालजयी कलाको सिर्जना गर्ने यी कलाकार शक्तिशाली समसामयिक कलाकारका रूपमा पनि चिनिन्छन् । समुद्र मन्थन, शेष  शय्यामा विष्णु, ब्रह्मा विष्णु महेश, कल्की अवतार (सिरिजका रूपमा) दशावतार, आदि थुप्रै चित्र उनले मिथलाई प्रयोग गरेर बनाइएका छन् । मिथलाई नेपाली समसामयिक कलामा गर्विलो रूपमा भिœयाउने पहिलो कलाकार पनि उनै हुन् । 

पछिल्लो कालमा आएर उनले घोडाहरूलाई शक्तिशाली पात्रका रूपमा स्थापित गरेका छन् । सशक्त रेखालाई खेलाउन सक्ने शशिले कार्टुन पनि बनाएका छन्, दृष्टान्त चित्रमा समेत उनी माहिर मानिन्छन् । भाव र चोटिला व्यंग्य, अभिव्यञ्जनामा उनी खप्पिस हुँदै हुन् । नेपाली समसामयिक कलामा देखिने गरी स्वैरकाल्पनिकता भित्र्याउने उनी नै हुन् ।  

आज इन्द्र प्रधान भौतिक रूपमा हामीबीच छैनन् । उनका चित्र यहाँ प्रदर्शन हुनुले एक अलग्गै अर्थ राख्छ । धेरै छोटो समयसम्म उनी यो धर्तीमा बसे । तथापि उनले सिर्जना गरेका शक्तिशाली आधुनिक कलाले उनको नाम अमर बनाएको छ । कलाकार बितेर गएपछि उनका कृति ल्याएर यसरी प्रदर्शनी गर्नु निकै जटिल काम हो । नेपालमा आधुनिक कला संग्रहालय छैन । कलाकारका परिवारले यस्ता चित्र दिन मान्दैनन् । अर्को कुरा रिक्स लिन पनि गाह्रो हुन्छ । सम्भवतः हामी धेरैले अहिले प्रदर्शित इन्द्रका चित्र देख्न सकेका थिएनौँ । 

3

इन्द्रको १९७३ तिर बनाइएको पहेलो रंग बाहुल्य भएको एउटा चित्र छ । असलमा यो चित्र अपुरोजस्तो लाग्छ, चित्र साइन भइसकेको हुँदा सम्भवतः यो पूरा भएकै चित्र होला । यसको बीचोबीच मधुरो आकृतिको भ्रमलाई उमारेर चित्रपटका बाँकी भाग सम्पूर्णमा पृष्ठभूमिकै भूमिकामा छाडिदिएका छन् । यो अलि अनौठो संयोजन हो । 

रापिलो गरम रंग खेलाइएको यस चित्रमा उनैको अन्तस्करणमा खेलेका भाव सपनाजस्तो गरी उदाएको एउटा अपत्यारिलो किसिमको संयोजन देखिन्छ । 

इन्द्रको अर्को चित्र पनि छ, जसमा सर्वांगमा अकासे नीलो रंग खन्याइसकेपछि रूखका हाँगाबिँगा झल्याकझुलुक देखेजस्तो गरी दृश्यचित्र बनेका छन् । दृश्यचित्रलाई भताभुंग पारेर कलालाई अमूर्ततिर डो¥याउने पश्चिमी शैलीमा बनेको उनको यो अचुक कलाकृति हो । पश्चिममा ठुल्ठूला कलाकारले मूर्तबाट अमूर्तमा जाने क्रममा यस्तायस्तै धेरै चित्र बनाएका छन् । 

सन् १९६२ मै आफ्नो पहिलो एकल कला प्रदर्शनी गरेर नेपाली आधुनिक कलाको शुभारम्भकै बेलामा आफ्नो अलग्ग पहिचानलाई स्थापित गरेका कलाकार हुन्, विजय थापा । नेपालको कला इतिहासमा सन् १९६२ यस्तो कालखण्डका रूपमा देखाप¥यो, यही वर्ष आधिकारिक रूपमा नेपाली आधुनिक कलाको नौलो मोड सुरु भएको थियो । यसै बेला चार आधुनिक कलाकारले एकल कला प्रदर्शन गर्न शुभारम्भ गरेका थिए । त्यतिबेला उमेर सानै भए पनि विजय थापाले आफ्ना एकल कला प्रदर्शनी गरेका थिए । अन्य तीन कलाकारमा उर्मिला उपाध्याय, उत्तम नेपाली र लैनसिंह बाङ्देल थिए ।

त्यस बेलाका एकल कला प्रदर्शनी गर्ने चारै कलाकार अलग अलग कला स्कुलिङबाट दीक्षित थिए । यसर्थ पनि ती चारवटै कला प्रदर्शनी शैलीगत रूपमा, प्रस्तुतिमा र सोचमा समेत अलग–अलग देखिन्थ्यो । 

त्यतिबेला विजय थापाले बनारस बिएचयुमा कलाको अध्ययन सकेकै थिएनन्, यसैबीच उनी काठमाडौँ आएर एकल प्रदर्शनी गरेका थिए । उत्तम नेपाली लखनउबाट कलामा अध्ययन सकेर जागिर खाँदै थिए, यसै बखत उनले आफ्नो पहिलो एकल कला प्रदर्शनी थिए । उर्मिला उपाध्यय मुम्बईको जे जे स्कुल अफ आर्टबाट पढाइ सकिवरी नेपाल फर्केकी थिइन् । यसअघि पनि उनले सन् १९५९ तिर आफ्नो पहिलो एकल कला प्रदर्शनी गरिसकेकाले सन् १९६२ को एकल प्रदर्शनी दोस्रो थियो । 

लैनसिंह वाङ्देलको त्यतिबेला नेपालमा पहिलो एकल प्रदर्शनी थियो तर अन्यत्र गरेको प्रदर्शनी हेरी त्यो तेस्रो एकल कला प्रदर्शनी थियो । त्यसअघि उनी बेलायतमा थिए, दुईवटा एकल कला प्रदर्शनी उतै बेलायतमै भएको थियो । त्यस वेला प्रदर्शित यी चारै कलाकारको कला एकापसमा पटक्कै मिल्दैनथ्यो तर सबै आधुनिक कला नै थिए । यसकारण त्यसवेला एक विशेष खण्ड बन्न गएको थियो । 

त्यसपछि नेपालको कला इतिहासमा संयोगवश एकल कला प्रदर्शन गर्ने एउटा अलग्ग संस्कार बसेको देखिन्छ । सन् १९६४ मा रामानन्द जोशी र लक्ष्मण श्रेष्ठको एकल कला प्रदर्शनी भयो । पछि सन् १९६८ मा शशिविक्रम शाहको एकल कला प्रदर्शनी भयो, यसरी नेपाली समसामयिक कलाको एउटा अलग्ग धार विकसित भएको देखिन्छ । यसै वेलादेखि सुरु भएको यस्ता एकल कला प्रदर्शनी गर्ने प्रचलन आज झाँगिन गएको छ । 

अहिले प्रदर्शित विजय थापाका चित्रले स्वाभाविक रूपमा महŒव राख्ने नै भए । विजयबाहेक अन्य तीन कलाकार कलाको सानो समूह स्किब– ७१ का सदस्य हुन् । स्किब (एसकेआइबी)को ‘एस’ लेटरको मतलब शशिविक्रम शाह, ‘के’को मतलब कृष्ण मानन्धर, ‘आई’को मतलब इन्द्र प्रधान र ‘बी’को मतलब वत्सगोपाल वैद्य हो । यतिखेर वत्सगोपाल वैद्य (सन् १९४७) का चित्र यहाँ समावेश छैनन् ।

यी चारै कलाकार मुम्बईको जे जे स्कुल अफ आर्टबाट कलामा दीक्षित हुन् । यसर्थ एउटै कलाको स्कुलिङले सबैजसो कलाकारलाई समाएको देखिन्छ । यति मात्र होइन, यसमध्ये दुई कलाकार शशिविक्रम शाह र कृष्ण मानन्धर त भोटाहिटीस्थित नेपालमा रहेको एक मात्र ललित कला क्याम्पस (त्यसबखतको) मा दशकौँसम्म अगुवाइ (प्रिन्सिपल) समेत गरेका कलाकार हुन् । यस कलाको क्याम्पसबाट सयौँ कलाका विद्यार्थी निस्केका छन् । स्वभावतः यी सबैजसो यही स्कुलिङबाट निर्देशित देखिन्छन् । यसले नेपालको सिंगो समसामयिक कलामा प्रत्यक्ष प्रभाव पारेको देखिएको छ । यसैले पनि यी कलाकारका चित्रले विशेष अर्थ राखेको छ । 

स्किब कला समूह आफैँ पनि ७० को दशकको शुभारम्भमै स्थापना भएर सक्रिय भइसकेको थियो । भर्खर–भर्खर नेपालमा आधुनिक कला खुला रूपमा सार्वजनिक हुँदै थियो । साना–ठूला हलमा यस्ता आधुनिक कला प्रदर्शन हुन लागेको अवस्था थियो । नेपाली परम्परागत कलाको धारबाट एक अलग्ग आधुनिक धारमा कलाको नयाँ स्वरूपका देखिन थालेको अवस्थामा यी कलाकारका यस्ता कला उदाएका थिए । 

कलाकार मिलेर कलाको सिर्जना र विकास गर्नुपर्छ भन्ने अवधारणा यहीँबाट सुरु भएको हो । यसर्थ कलाकारको यो समूह (स्किब) नेपाली आधुनिक कलाको इतिहासमा अझ महŒवपूर्ण रूपमा देखापरेको थियो । यस्तै खालको कला समूह यसभन्दा पहिला देखापरेको थिएन । यसै बेलादेखि कलाका यस्ता स–साना समूह खुल्न थाले । कलाकार आफ्नै कला विकासका लागि एकजुट हुने परम्परा बिस्तारै यसै वेलादेखि विकास हुन थालेको हो ।

६० र ७० को यो दशक नै नेपाली आधुनिक कलाको शुभारम्भ र विकासको वेला थियो, जुन वेला आधुनिक कलाको सबैजसो शैली र प्रवृत्ति एकैपटक प्रयोग भएका थिए । त्यति वेला यी कलाकारले कस्ता प्रकृतिका आधुनिक कला बनाएका थिए र अहिले कस्ता स्वरूपमा परिवर्तन गरिरहेका छन् ? नेपाली कलालाई बुझ्न यी सन्दर्भ थाहा पाउन जरुरी छ । त्यस वेला भारतको सबैजसो कला स्कुलमा पश्चिमी कला पद्धतिमा आधारित पाठ्यक्रमबाट सिकाइने हुँदा झट्ट हेर्दा सबैका कला एकैजस्तो पनि देखिन्छ । प्रजातन्त्रको उदय (२००७ साल) पछि थुप्रै कलाकार भारत (विशेष गरेर जे जे स्कुल अफ आर्टमा) अध्ययन गर्न गएका छन् । 

अहिलेको प्रदर्शनीमा आधुनिक कलामा दोस्रो पुस्ताका रूपमा जोडिन आएका किरण मानन्धर, रागिनी उपाध्याय, उमा शंकर शाह, सीमा शाह, चन्दा श्रेष्ठ र कृति शाह आदिका चित्र प्रदर्शित छन् । यी सबैजसो कलाकार लामो समयदेखि निरन्तर रूपमा आ–आफ्नो एक अलग्ग सिग्नेचरका साथ कला सिर्जना गर्दै आएका छन् । 

यसै वेला लगभग ९० छुन लागेका कलाका महारथी कालु कुम्हाले (परम्परागत मूर्तिकार)का काम पनि प्रदर्शित हुनुले पनि एउटा यो कला प्रदर्शनी महŒवपूर्ण अर्थका साथ देखापर्दछ । यस्तै, आधुनिक कलाकार गेहेन्द्रमान अमात्य (जन्म वि.सं. १९९३) का कला पनि यसैमा अवलोकन गर्न सकिन्छ । 

प्रदर्शित कला 

प्रदर्शन कक्ष पस्नेबित्तिकै सुरुमै कृष्ण मानन्धरका दुई अमूर्त चित्र देखिन्छन् । क्युबिक फर्मका यी चित्रलाई हल्का कोमल, मनमोहक रंगले समायोजन गरेको देखिन्छ । एकैजस्तो देखिने थुप्रै समान मोटिफलाई एउटा चित्रभित्र संगठित गर्दा चारपाटे, चारकुने चौखट र झ्यालहरू जस्ता देखिन पुगेका छन् । धुम्म तुँवालो वा हुस्सुले ढाकेका वेला सहर माझ उभिएका ठूला–ठूला बिल्डिङ पो हुन् कि जस्तो लाग्छ । यही दृष्टिभ्रमको खेल खेल्नु वा खेलाउनु नै अमूर्त कलाको खास विशेषता हो ।

एउटा चित्र गरम रंगीय संगति अनि अर्को चित्र शीतल रंगीय सगंतिमा संयोजित देखिन्छ । मोनोक्रोम्याटिक प्रभावलाई पस्कने कलाको आसय देखिन्छ, अर्कोतिर देखिने गरी विपरीत रंगलाई क्यानभासमा पस्न दिएको देखिँदैन । नितान्त सपाट र समतलीय बन्दाबन्दै आयामिक धरातलमा प्रवेश गरेझैँ अनेक दृष्टिभ्रम छर्ने विम्ब यी चित्रमा अमूर्त रूपमा दृश्यावलोकन हुन्छ । आनन्दविभोर हुँदै हेरिरहुँ जस्तो गरी बनेका यस्ता चित्रमा विचार र भावभन्दा सौन्दर्यताप्रति बढी केन्द्रित हुन्छ । यसो हुुँदा चित्रमा निहित अर्थ खोज्न छाडेर भावक ध्यान गरेजस्तो गरेर एकटकले नियाल्छन् । या, यसै गर्न कलाकारको आग्रह हुन्छ । छटपटाएको मनलाई शान्त र आनन्द दिने यस्ता चित्रमा ध्यान केन्द्रित गरी रोगको उपचार गरेको पनि हिजोआज देख्न र हेर्न सकिन्छ । निराकार, गोलाकार र बिन्दुमा ध्यान गर्ने त जताततै देखिन्छ नै । 

4

कृष्णको यो चित्र पारदर्शिता, पातलो र पृष्ठभूमिकै रंगसँग एकाकार रहेको देखिन्छ, यसले मानवको बाह्य चर्मचक्षुलाई आराम गराउने वा गर्न दिने वातावरण सिर्जना गरेको छ । एकनासका नरम कलिलाजस्ता देखिने रंगले कुनै पनि भावकको मन त्यसै तान्न सक्छ । रंगले खोतल्दै गएको गहिराइ आदिलाई महसुस गर्दा भावकले स्वाभाविक मिठो सौन्दर्यभूतको अनुभव गर्छन् । मुलायम र मधुरो, कमलो रंगहरूले अमूर्तताको भाव दिन्छ नै, रंग संगतिले छर्ने मिठास अनि सन्तुलित अवयव कतै चलमल नगरी स्थिर भएजस्तो गरी बसिदिँदा चित्रले एउटा अनौठो स्वाद पैदा गर्दछ । भावक स्वभावतः आल्हादित हुने वातावरण बन्छ । सहरको क्रङ्क्रिट घरका ‘बक्सानुमा’ राति मधुरो प्रकारले झ्याल बलेजस्तो गरी देखिनु उनको यसपल्टको नौलो संयोजन रह्यो । यसअघि उनले रुख र हाँगाबिँगालाई अर्ध–अमूर्तमा खेलाउन थालेका थिए । हिमालका टाकुरा, संगीत, खेतका गरालाई समेत खेलाएर उनले सयौँ यस्ता अमूर्त चित्र बनाइसकेका छन् । अरुसँग कुरा गर्दागर्दै पनि उनका हात क्यानभासमै खेलिरहन्छन्, उनको यो बानीले गर्दा एकताका उनका तुलिकाघातले गतिपूर्ण भाव सम्पे्रषण गर्ने गर्दथ्यो । उनी सम्भवतः पछिल्लो कालमा आएर कहिले पनि आकारसँग खेलेनन्, खेलेको देखिएन । यही नै उनको विशेषता देखियो । 

कृष्ण मानन्धर सुरुका कालदेखि एक मात्र यस्ता चित्रकार हुन् । जसले सुरुदेखि नै आफ्नो चित्रमा अमूर्ततालाई अँगाले, यसैको निरन्तरता आजको दिन (झन्डै ५० वर्ष) सम्म कायम राखेका छन् । ६० र ७० को दशकमा देखापरेका अन्य अमूर्त चित्रकारले पनि समयअनुसार अलग–अलग शैली र प्रवृत्तिलाई अँगालेको देखिन्छ । कृष्ण भने विषय र सिरिजको रूपमा अनेकौँ क्षेत्रमा प्रवेश गरे, यद्यपि अलिकता अर्धअमूर्तता हुँदै पनि उनको शैली र कलागत प्रवृत्ति परिवर्तन भएको देखिएको छैन, यही नै उनको सबैभन्दा बलियो पक्ष देखिन आएको छ । उनीभन्दा थोरै अग्रज कलाकार लक्ष्मण श्रेष्ठ भारत पलायन भएपछि अमूर्त कलामा कृष्णको एकछत्र राज छ जस्तो भएको छ । 

विजय थापाले यतिखेर चित्रपटमा ठुल्ठूला विपरीत रंगका खण्ड स्थापित गर्दै अमूर्त चित्र बनाउँछन्, सर्वथा सपाट एकसरो रंगको लेपन उनको अहिलेको अमूर्त कलाको विशेषता हो । स–साना ठाउँ ओगटेका उज्याला आधारभूत रंगलाई मध्य पारेर समधर्मी रंगहरूले क्यानभासलाई भर्ने उनको अनौठो शैली छ । अमूर्त तर मानव आकार दृश्यावलोक हुने वा देखिने उनको खास विशेषता हो । यथार्थवादी चित्रमा सिद्धहस्त कलाकार थापाले बनाएका व्यक्तिचित्र अब्बल नम्बरका हुने गर्छन् । 

5

यसपल्ट विजयका दुईवटा चित्र यस प्रदर्शनमिा राखिएका छन् । एउटा चित्रको नाम छ, ‘दियोमुनि अँध्यारो’ । यही विषयमा आफूले धेरै अघि बनाएको चित्रको सम्बन्धमा उनीसँग रमाइलो स्मरण रहेछ । उनी सुनाउँछन्, ‘झन्डै २०१५ सालतिर होला, म बनारसमै पढ्थेँ, काठमाडौँ आएका वेला घुम्दै जाँदा एक ठाउँमा मेला लागिरहेको रहेछ । ठाउँ पनि राम्ररी याद भएन । त्यसवेला आजजस्तो कला प्रदर्शनी गर्ने चलन थिएन । त्यो मेलामा सबै कुराको प्रदर्शन हुन्थ्यो, अनि त्यसवेला एउटा कुनामा चित्रलाई पनि प्रदर्शन गरिन्थ्यो । त्यहाँ त्यतिवेलाका चर्चित कलाकार चन्द्रमान सिंह मास्केका चित्र रहेछन् । मैले पनि चित्र बनाउँछु भनेँ, मेरा चित्र पनि त्यहाँ राख्ने अवसर मिल्यो । त्यसैवेला राजा महेन्द्रको सवारी हुँदा मेरै चित्र हेरेर सोधनी भयो । मैले भनेँ– दियोले सबैलाई उज्यालो दिन्छ, उसको मुनि भने अँध्यारो हुन्छ । म जस्तो सानो फुच्चे केटाले यसरी जवाफ दिएको सुनेर अलि ठूलो यही चित्र बनाएर ल्याऊ भन्ने हुकुम भयो, बनाएर दिएँ । यसै वेलाका चित्रमध्ये योचाहिँ त्यही थिममा बनाएको त्यही सिरिजको हो ।’ 

यसबाहेक अहिले यस प्रदर्शनीमा किरण मानन्धरका पुरानै शैलीका दुईवटा चित्र राखिएका छन् । एउटा चित्रमा दुई युवती छन् । अर्को चाहिँ नाचिरहेको पोजमा देखिन्छ । मूलतः किरणले क्यानभासमा रेखाहरूले आकृतिलाई सजाइसकेपछि यसैको वरिपरि मोटामोटा गतिपूर्ण तुलिकाघात कुदाएर चित्रको रचना गर्ने गर्छन् । 

यही कला प्रदर्शनीमा उमाशंकर शाह र डा. सीमा शाहको प्रिन्ट मेकिङ कला पनि छन् । समसामयिक कलामा प्रिन्ट मेकिङ कलामा एक अलग्ग पहिचान बनाइसकेका यी कलाकार दम्पती हुन् । दुवै कलाकार विशेष गरी मठ–मन्दिर, देवीदेवतालाई लिएर आफ्ना चित्रको सिर्जना गर्ने गर्छन् । यसपल्ट पनि उनीहरूका यस्तै चित्र प्रदर्शित छन् । खोपामा बसेका जस्ता देखिने देवीदेवताहरू यथार्थ रूपमा देखापर्दा अलौकिक सौन्दर्यता यसले प्रदान गर्दछ ।

 6

रागिनीको स्वैरकाल्पनिक दुई चित्र छन् । फेन्टासी प्रशस्तै रहेको उनको एक चित्रमा जरायो जस्तो एक जनावरले शरीरमा सिंगो पृथ्वी बोकेको भानलाई प्रस्तुत गरिएको छ, जरायो जस्तो लागे पनि मुखाकृति चाहिँ मान्छे (महिला)को छ, जसमा केशसँगै अनेक रुख–बिरुवा उम्रिएको देखाइएको छ । उनको अर्को चित्र सानो बिरुवामा फूल फुलेभाँती महिलाको मुख छोपेको लगायत अनेक विम्ब र प्रतीकको रूपमा आएको छ । समसामयिक, सामाजिक र राजनीतिक मुद्दाहरूमा सटीक प्रश्न गर्ने गर्दछन्, यसपल्ट पनि उनका यी चित्रले ।    

(मल्ल कलाकार र कला समीक्षक हुन्)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप