सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हँस्यौली

विचित्र स्वभावको मानिस

बिहीबार, ०४ फागुन २०७९, २२ : १४
बिहीबार, ०४ फागुन २०७९

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना नसरुद्दिन नामका सज्जन थिए । उनको हरेक क्रियाकलाप अनौठा किसिमका हुन्थे । स्वभाव अनौठो थियो व्यवहार उट्पट्याङ । उनको व्यवहार देखेर गाउँलेहरू कहिले हाँस्थे कहिले हैरान हुन्थे । भाइबहिनीहरूका मनोरञ्जनका लागि यहाँ यस्तै एउटा प्रसङ्ग प्रस्तुत गरिएको छ ।

एक दिनको कुरा हो । नसरुद्दिनको गाउँमा कुनै सार्वजनिक कार्यक्रम थियो । गाउँलेहरूले कार्यक्रमको प्रमुख अतिथि उनैलाई बनाउने विचार गरी उनी समक्ष गएर भने–

‘आज अमुुक स्थानमा अमुक कार्यक्रम छ । तपाईँलाई मुख्य अतिथि बनाउने विचार गरेका छौँ नाइनास्ति नगरिदिनुहोला । कार्यक्रमलाई सम्बोधन गरी मार्गदर्शन गरिदिनुहुन आग्रह गर्छौँ ।’

नसरुद्दिनले पहिले त मानेका थिएनन् तर गाउँलेहरूले निकै कर गरेपछि स्वीकृति दिए ।

निश्चित समयमा कार्यक्रम सुरू भयो । नसरुद्दिन प्रमुख अतिथिको आसनमा विराजमान भए । सबैको मन्तव्य राख्ने क्रम सकिएपछि उनको बोल्ने पालो आयो । उपस्थित सज्जनहरू नसरुद्दिनले के बोल्ने हुन् भनेर कान ठाडो बनाउन लागे । उनी सभालाई सम्बोधन गर्दै भन्न लागे–

‘उपस्थित भद्र महिला तथा सज्जन वृन्द ! आज मैले यहाँ के भन्दैछु भन्ने कुरा तपाईँहरूलाई थाहा छ ?’

सभाबाट सामुहिक आवाज आयो–

‘छैन महाशय ! हामी त्यही सुन्न प्रतीक्षा गरिरहेका छौँ ।’

उनीहरूको कुरा सुनेपछि नसरुद्दिनले रिसाउँदै भने–

जब तपाईँहरूलाई मैले के बोल्दैछु भन्ने नै थाहा छैन भने यस्तो स्थानमा आफ्नो कुरा सुनाउनुको के अर्थ ?’

यति भनेर बाटो लागे । उनको व्यवहार देखेर उपस्थित सबैले आश्चर्य त लाग्यो तर कहाँ के भयो बुट्टन सकेनन् । उनीहरूले सोचे सायद आज कुनै गल्ती भएछ क्यारे, भोलि माफी मागेर फेरि बोलाउनुपर्ला । यस्तैयस्तै सोचेर भोलिपल्ट गएर भने–

‘महाशय ! हिजोका लागि माफी चाहन्छौँ । जहाँ जे भएको भए पनि बिर्सिदिऊँ । आज आएर आफ्नो भनाइ राखिदिनुहुन अनुरोध गर्दछौँ ।’

त्यस दिन पनि नसरुद्दिन आउन राजी भए । निश्चित समयमा कार्यक्रम सुरू भयो । उनले हिजो जस्तै सभालाई सम्बोधन गर्दै भने–

‘भद्र महिला तथा सज्जन वृन्द ! आज त पक्कै तपाईँहरूलाई म के बोल्दैछु भन्ने कुरा थाहा छ होला होइन ?’

उपस्थित जनसमुदायले हिजो थाहा छैन भनेकाले रिसाएर हिँडे । त्यसैले आज थाहा छ भन्नुपर्ला भन्ने सोचेर सामुहिक स्वरमा भने–

‘थाहा छ महाशय ! आज हजुरले के भन्दै हुनुहुन्छ भन्ने कुरा बिहानै कण्ठ बनाएर आएका छौँ ।’

उनीहरूको कुरा सुनेर नसरुद्दिन बोले–

‘जब यहाँहरू सबैलाई मैले के बोल्दैछु भन्ने कुरा पहिले नै थाहा छ भने पुनः बोलिरहनुको के अर्थ ?’

यति भनेर आज पनि कार्यक्रम छाडेर आफ्नो बाटो लागे । गाउँलेहरू पुनः हैरान भए । आखिर के भएको छ यिनलाई ? यसो भन्दा पनि हुँदैन उसो भन्दा पनि हुँदैन । तैपनि हिम्मत हारेनन् र अब हामीमध्ये आधाले थाहा छ भनौँ आधाले थाहा छैन भनौँ तैपनि उनको भावाना बुझ्न सकिन्छ कि भन्ने ठानेर भोलिपल्ट फेरि बोलाए ।

हिजोअस्ति जस्तै आज पनि नसरुद्दिनले सभालाई सम्बोधन गर्दै भने–

‘उपस्थित जनसमुदायहरू ! आज मैले के बोल्दैछु भन्ने यहाँहरू थाहा छ ?’

पूर्वसहमति अनुरूप उपस्थित जनसमुदायमध्ये आधाले थाहा छ भने आधाले छैन ।

त्यसपछि नसरुद्दिनले विनम्रतापूर्वक सम्झाउँदै भने–

‘तपार्ईँहरूमध्ये आधालाई थाहा रहेछ । आधालाई रहेन छ । त्यसैले विनम्रतापूर्वक के भन्न चाहन्छु भने थाहा हुनेले नहुनेलाई बताइदिनुहोला ।’

यति भनेर फटाफट हिँडे । 

उनको व्यवहार देखेर गाउँलेहरूको धैर्यको सीमा नाघ्यो । उनीहरूले यस्ता बेढङ्गीको मानिसलाई बोलाएर समय बर्बाद गर्नुभन्दा वास्ता नगर्नु नै बेस भन्ने ठानेर बोलाउनै छाडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप