शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कविता

नबुझिने कविता

शनिबार, ०६ फागुन २०७९, ०७ : ४३
शनिबार, ०६ फागुन २०७९

जीवन पनि त यहाँ नबुझिँदो हो 
जसरी कविता नबुझिँदो हो ।

नबुझिने कविता, नबुझिने जिन्दगी
उस्तै त हो नि ।
नबुझिने जिन्दगीमा 
बुझिने कविता कसरी लेखौँ म ?

हिँड्दा हिँड्दै थाकेको पैतालाले 
सगरमाथाको उचाइ नाप्ने एउटा अधुरो सपना
सगरमाथामा टल्कने हिउँको आगो 
चिसाएपछि मनमा द्वन्द्व जल्छ,
समुद्रको गहिराई कति ? ज्ञात छ मलाई
सिपी माछाको पेटमा मोती छ, पढेको छु
देखेको होइन, विश्वास छ एउटा अटुट
कसले जग बसाइदियो विश्वासको घर
मान्छेको जङ्गलमा ।

मेरो कविता जन्मकैद जेलमा छ
कैदीको अनुहारमा छ 
मेरो कविता अस्ताउँदो उमेरमा छ 
बूढी आमाको अनुहारमा छ । 

अनुहारको चाउरी रेखामा 
मेरो देशको मानचित्र कति हो ? 
मापन छ मलाई
विगत बिर्सिएर आगत अडेसिएको अनुहारमा
फुरेको छ कविता ।

मेरो कविता तिमी सुनिरहेछौँ यतिबेला
तिमी पढिरहेछौ यतिबेला
बुझ्नु र नबुझ्नुको 
द्वन्द्व चलाइरहेछौ यतिबेला
कसरी बुझाऊँ म कविताको अर्थ ?
अर्थै अर्थको माखेसाङ्लोमा 
शब्दभित्र अक्षर, अक्षरबीच मलयुद्ध चलिरहेछ 
यस्तो स्थितिमा म कसरी बुझ्ने कविता लेखौँ ।

म जन्मेपछि बाबु नि खसे 
आफ्नै हक र अधिकार माग्दा 
दाजु थुनामा परेको छ
ठूल्दिदी साहुकोमा कमलरी गएकी
दुई जिउकी भएर आकी छे 
सानी बहिनी पाठशाला गाकी 
सेतो पोसाक रातै बनाएर आकी छे 
बेमौसम झरीले 
निथ्रुक्क भिजेको आमाको सिउँदो
बेरङ्ग छ
पुछौँ कि राखौँ धरमर विचार
अल्झिरहेछ एक धर्को विश्वास
लेखिरहेछु एउटा कविता
यस्तो अवस्थामा 
म कसरी बुझ्ने कविता लेखौँ ।

तिमी सुनिरहेछौ यही कविता
गमिरहेछौँ भाव र विचारहरू
बुझ्नु र नबुझ्नुको दोसाँधमा
भरिया विचार मन्दनी रहेछौ
यस्तो स्थितिमा 
कसरी बुझ्ने कविता लेखौँ । 
 

डुवर्स,  भारत 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा राई
दुर्गा राई
लेखकबाट थप