मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

पूर्वराजाले सहकार्यको हात बढाउँदा के भन्छन् दलका नेताहरु ?

रास्वपा मौन बस्दा राप्रपा भने उत्साहित
आइतबार, ०७ फागुन २०७९, १५ : ३५
आइतबार, ०७ फागुन २०७९

राजनीतिक दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको सहकार्यको प्रस्तावलाई अनावश्यक र औचित्यहीन भनेर टिप्पणी गरेका छन् । ७३ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार पूर्वराजा शाहले मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्यका लागि बिलम्ब गर्न नहुने बताएका थिए ।

‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन,’ उनको वक्तव्यमा उल्लेख थियो ।

पूर्वराजा शाहको उक्त प्रस्तावलाई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले औचित्यहीन भनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले कुनै टिप्पणी नगर्ने बताउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सराकात्मक रुपमा लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई आफ्नो वरिपरि २–४ जना मानिस देख्ने बित्तिकै पुरानै झल्को आउने गरेको टिप्पणी गरे । आइतबार विराटनगरमा पत्रकारसित कुरा गर्दै ओलीले भने, ‘ज्ञानेन्द्रजी आफै अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’

मुलुकको अवस्था बिग्रिएको भन्दै ज्ञानेन्द्र शाहले ‘टुलुटुलु हेरर बस्दिनँ’ भनेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले पूर्वराजामाथि प्रश्न उठाए । ‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको होइन ? उहाँहरुले देश कहाँ पु¥याउनुभएको थियो ?,’ ओलीको प्रश्न छ, ‘अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ?’

ओलीले पूर्वराजा शाहले राखेको सहकार्यको प्रस्तावमाथि पनि जवाफ फर्काएका थिए । ‘कोसँग, केसँग सहकार्य ? ज्ञानेन्द्रजी आएर राजनीतिमा हिँडिराख्नुभएको छ । अस्ति मेचीमा गएर दियो बाल्नुभयो क्यार । भएकै छ त,’ उनले भने ।

यता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पूर्वराजा शाहको सहकार्यको प्रस्ताव स्वाभाविक नभएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र शाहको सहकार्यको प्रस्ताव स्वाभाविक छैन । राजनीतिक दललाई सहकार्यका गरौं भन्नु उहाँको रहर होला ।’

तर यसको आवश्यकता र औचित्य नभएको नेता पौडेलको जिकिर छ । उनी भन्छन्, ‘नेपालमा राजसंस्था अब एउटा अतित मात्र हो । जुन संस्था नै इतिहास भइसक्यो, उसैसँग के को सहकार्य ?’

नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि पौडेलको धारणासँग मिल्दोजुल्दो टिप्पणी गरे । उनले पूर्वराजा शाहको अभिव्यक्तिप्रति सम्मान गरे पनि राजसंस्था नेपालमा इतिहास भइसकेको बताए । ‘संविधानले उहाँलाई पनि अरु नागरिक जस्तै अधिकार दिएको छ । उहाँका आफ्ना कुराहरु होलान् । उहाँको चाहना, उहाँको अभिव्यक्तिलाई सम्मान गर्छु । तर राजतन्त्र भन्ने त अब इतिहास भयो,’ उनले भने ।

सम्मानका साथ राजसंस्थासँग सहकार्य गर्ने भन्ने कुनै प्रसंग बाँकी नरहेको नेम्वाङको तर्क छ । ‘राजसंस्था इतिहासको सन्दर्भ भइसक्यो । इतिहासलाई सम्मान गरिन्छ । सहकार्य कसरी हुन्छ होला ?’ उनको प्रश्न छ ।

यस्तै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको बताए ।  ‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?’ उनको प्रश्न छ, ‘देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ ।’

संविधान र गणतन्त्र स्वीकार नगरेका पूर्वराजा शाहसँग सहकार्यको औचित्य नरहेको उनको भनाइ छ । ‘लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ,’ उनले भने, ‘तर संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डोलप्रसाद आर्यालले पूर्वराजा शाहको सहकार्यको प्रस्तावबारे अहिले टिप्पणी नगर्ने बताए । उनले भने, ‘अहिले म हेटौंडामा छु । पार्टीभित्र छलफल गरेपछि मात्र यसबारे टिप्पणी गरौंला । अहिले नबलौं होला ।’ पार्टीको बैठक बसेर यसबारे धारणा सार्वजनिक गर्ने उपाध्यक्ष अर्यालको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले भने पूर्व राजाले अगाडि सारेको सहयकार्यको प्रस्ताव मन परेको बताए । ‘पूर्व राजाले आह्वान गरेको कुरा नराम्रो छैन । मलाई मन प¥यो । देशको बिग्रिदो अवस्थालाई सुधार गर्न सबै दलसँग सहकार्य गरेर जान्छौं भन्नु भएको छ । आर्थिक, राजनीतिक, भूराजनीतिक, शान्ति सुरक्षाको अवस्था संकट उन्मुख छ,’ उनी भन्छन् ।

२४० वर्षभन्दा लामो समय नेपालमा रहेको राजसंस्थालाई निषेध गरेर जाने कुरा राम्रो नभएको भन्दै राजसंस्था नेपालको चिनारी भएको उनले बताए ।

‘राजसंस्थाले नेपाल र नेपाली चिनाएको छ । त्यो संस्थाले देशमा कसैलाई निषेध गर्नुहुन्न र सबै मिलेर जानुपर्छ भन्ने कुरा राम्रो हो,’ उनले भने, ‘यो देश बनाउन सबैको योगदान र संघर्ष छ । देश जोगाउन पूर्वराजाले गरेको आह्वानलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ ।’

पूर्वराजा शाहले राजनीतिक दललाई सहकार्यका लागि गरेको आह्वानमा राप्रपाले सहजीकरण गर्ने तामाङको भनाइ छ । ‘हामीले राजसंस्था चाहिन्छ भनेका छौँ । पूर्वराजाको आह्वानपछि हामीले पहल गर्छौँ । राजसंस्था पुनर्स्थापनाका लागि हामी सबै दलसँग पहल गर्छौँ,’ उनले भने ।

संवैधानिक राजसंस्था मुलुकको आश्वयकता रहेको भन्दै तामाङले राजाले अभिभावकको भूमिका निर्वाह गर्ने बताए । ‘राष्ट्रपतिमा अहिले तानातान भइरहेको छ । संवैधानिक राजसंस्था हुँदा भोलि यो कुरा आउँदैन । त्यसैले राजसंस्था पुनर्स्थापनाका लागि सबैले पहल गर्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप