बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

पुरानो गठबन्धन ब्युँताउने कांग्रेस र माओवादीबीच सहमति, बिहीबार साँझसम्म सम्झौताको तयारी

बुधबार, १० फागुन २०७९, २२ : ३१
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच बिहीबार (भोलि) साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो । राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ  ।

त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको उनको भनाइ छ । उनले भने, ‘यसका लागि भोलि (बिहीबार) दिनभर माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत लगायतसँग छलफल हुन्छ । भोलि बेलुकासम्म सबैजना संँगै बसेर सम्झौता गरेर टुंग्याइने छ ।’

चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। अब यसमा जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराइने छ । 'बुधबार चार दलबीच धेरै विषयमा कुरा भयो । पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ,'  ती नेताले भने ।

यस्तै एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताए । उनले भने, 'संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको छ । यो राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ । राष्ट्रपतिको आवश्यकता पनि यसैका निम्ति हो भन्ने दुवै दलको निष्कर्ष छ ।'

उनले अगाडि भने, 'हामीले को उम्मेदवार बन्ने वा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल गरेनौँ तर परिवर्तन पक्षधरसँग संवाद गरेर राष्ट्रपति सहमतिमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने हाम्रो निष्कर्ष हो ।'  

ती नेताका अनुसार कांग्रेस र माओवादीबीच एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई 'पावर सेयरिङ' मा कसरी मिलाएर जाने भन्नेबारे पनि छलफल भएको थियो। आगामी पाँच वर्षभित्र नेपाललाई प्रधानमन्त्री बनाउने गरी सहमतिको खाका तयार पारिने ती नेताको भनाइ छ ।

यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । फागुन १० मा आएर सात दलीय गठबन्धन विसर्जन गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । सत्ता गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।

धुम्बाराही टू बालुवाटार

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार दिनभर राजनीतिक भेटवार्ताको सरगर्मी बढ्यो । बिहान १० नबज्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु देउवा निवास धुम्बाराही पुगे । कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कासँग लोसपाका शीर्ष नेताहरुले करिब एक घण्टा वार्ता गरेका थिए ।

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर नेताहरु धुम्बाराही पुगेका थिए । लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताले राष्ट्रपतिका सन्दर्भमा छलफल गरेका थिए ।

सोही समयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको थियो । 

लोसपाका नेताहरु देउवाबाट सकारात्मक जवाफ पाएर फर्किँए । बालुवाटारमा प्रचण्ड र ओलीबीचको छलफल राष्ट्रपतिबारे कुनै ठोस निष्कर्षमा पुग्न सकेन । यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव दिउँसो धुम्बाराही पुगे ।

कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापासँग यादवले छलफल गरेका थिए ।  कांग्रेस नेताहरुसँग यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने गरी सत्ता समीकरण गर्नुपर्ने कुरामा आफ्नो साथ रहने बताएका थिए । त्यसपछि एकीकृत समाजवादी पार्टीका नेताहरु देउवा निवास पुगेका थिए । 

पार्टीको केन्द्रीय सचिवालय बैठक गरेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेससँग छलफल गर्न पुगेका थिए । उनको साथमा नेता प्रमेश हमाल, वेदुराम भुसाल र घनश्याम भुसाल सहभागी थिए ।

पुरानो गठबन्धन ब्युताएर जाने कुरामा सहमत रहेको भन्दै नेपालले आफ्नो पार्टीले के पाउँछ भन्ने प्रश्न छलफलमा गरेका थिए । छलफलमा नेपालले भने, ‘एकीकृत समाजवादीले राष्ट्रपति पाउनुपर्छ भन्ने पार्टीका साथीहरुको कुरा छ । हाम्रो पार्टीले राष्ट्रपतिको प्रस्ताव आए स्वीकार गर्ने निर्णय पनि गरेको छ ।’

जवाफमा कांग्रेस नेताहरुले राष्ट्रपति कांग्रेसले नलिकन पुरानो गठबन्धन ब्युँतिने कुरा सम्भव नभएको बैठकमा सहभागी एक नेताले बताए ।

राष्ट्रपतिममा आफ्नो दाबी भएपनि पुरानो गठबन्धन ब्युँताउने कुरामा सहमत रहेको नेपालको भनाइ थियो । एकीकृत समाजवादीसँगको छलफलपछि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे । बालुवाटार छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप