आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपति आफ्नो पक्षमा पार्न नेताहरूको दौडधुप, बहुपक्षीय छलफल तीव्र

बुधबार, १० फागुन २०७९, २० : ४०
बुधबार, १० फागुन २०७९

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनय मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकपक्षीय, दुई पक्षीय हुँदै त्रिपक्षीय छलफलमा जुटेका छन् ।  बुधवार दिनभर विभिन्न राजनीतिक दलबाट आकांक्षा राख्ने दल र तिनका नेताहरुले राष्ट्रपति आफ्नो पक्षमा पार्ने कसरतसहित भेटवार्तालाई तीव्र बनाएका हुन् ।

त्यस क्रममा त्यसक्रमा उनीहरुले व्यक्तिगत व्यक्तिगत र सामूहिक रुपमा एक अर्का दलका नेताहरुलाई भेटेर राष्ट्रपतिका लागि आफ्नो पक्षमा साथ, सहयोग र समर्थनको अपेक्षा गरे । बुधवार बिहान बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताबाट सुरु भएको नेताहरुको दौडधुप साँझसम्म पुग्दा प्रचण्ड र देउवासम्म पुग्यो ।

बालुवाटारमा बिहान प्रचण्ड र ओलीबीच भेटवार्ता भइरहेका बेला लोसपाका नेताहरु भने कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न धुम्बाराही पुगेका थिए । सभापति देउवालाई भेटेर उनीहरुले राष्ट्रपतिमा अध्यक्ष महन्थ ठाकुरलाई साझा उम्मेदवार बनाउन आग्रह गरे । त्यसलगत्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न आलोकनगर पुगे । 

नेता पौडेल अध्यक्ष नेपाललाई भेट्न पुगेलगत्तै नेपाल आफ्नो पार्टीका केही नेतासहित कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगे । नेता नेपाल उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसालसहित देउवालाई भेट्न उनको निवास पुगेका थिए । देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बुधवार उनको निवास पुगे । 

राष्ट्रपतिमा आफ्नो पक्षमा माहोल बनाउने रस्साकस्सी चलिरहेका बेला बुधवार नै एकीकृत समाजवादीको सचिवालय बैठक बसेर राष्ट्रपतिका लागि औपचारिक प्रस्ताव आए स्वीकार्ने भन्दै अन्य दलहरुसँग संवाद गर्ने निर्णय गरेको छ । उता कांग्रेस सभापति देउवाले लोसपा, जसपा र समाजवादीका नेताहरुसँगको भेटवार्तालगत्तै सभापति देउवा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ । यसैलाई मध्यनजर गरेर दलका नेताहरुको दौडधुप बढेको हो । त्यसैले १३ गतेसम्म सहमति गर्ने गरी नेताहरु अन्तिम कसरत गर्दै संवाद र छलफलको दौडधुपमा जुटेका हुन् । 

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने बताए पनि कसलाई उम्मेदवार बनाउने भन्ने ठोस निर्णय गरिसकेको छैन । यद्यपि कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा आएको छ । यता माधवकुमार नेपालको नाम समेत राष्ट्रपतिका लागि चर्चामा आएको छ । नेपाललाई एमाले अध्यक्ष ओलीले प्रचण्डसमक्ष राष्ट्रपतिको उम्मेदवारका लागि प्रस्ताव गरेका छन् । विगतमा प्रचण्ड र देउवासँग सहकार्य गर्दै आएका नेपाल पुस १० मा प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री भएकोमा खासै सन्तुष्ट थिएनन् । तर अहिले उनै नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गर्दा प्रचण्डलाई निर्णय गर्न सकस भएको बुझिएको छ ।

यद्यपि प्रचण्डले सबैसँगको संवादमा राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने अडान लिँदै आएका छन् । यसैक्रममा प्रतिनिधिसभा बैठकपछि पनि नेताहरुले राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे आ आफ्ना प्रतिक्रिया सार्वजनिक गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीलाई राष्ट्रपति बनाउन नहुने बताए । राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्रीहरुको समेत नाम चर्चामा आइरहेका बेला महामन्त्री शर्माले यस्तो धारणा बाहिर ल्याएका हुन् ।

 राष्ट्रपति निर्वाचनका लागि कांग्रेस र एमालेले फरक फरक उम्मेदवार उठाउने बताइरहेका बेला माओवादीले जसलाई मत दिन्छ उही निर्वाचित हुने भएकाले पनि सबै पार्टीको ध्यान माओवादी केन्द्रतर्फ बढि केन्द्रीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप