आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘आरनको रापले तन पोल्छ, मनको तापले जीवन’

शुक्रबार, १२ फागुन २०७९, १५ : ५६
शुक्रबार, १२ फागुन २०७९

दाङ । सेतै फुलेको कपाल, शिरमा आधा ढल्किएको निलो कलेजी ऊनीको टोपी पसिनाले निथ्रुक्क भिजेको छ । उमेरले ६३ वसन्त पार गरिसकेका चेतबहादुर विकको विगत ४ दशकदेखिको दिनचर्या पसिना पुछ्दै, आरन घुमाउँदै बितिरहेको छ ।

बंगलाचुली–३, छिप्पनका उनले २५ वर्षको उमेरदेखि आरन घुमाउन सुरु गरेका हुन् । त्यस यता उनको जीवन आरनमै बित्यो । तर आरनले न उनको जीवन नै फेर्‍यो, न छुटकारा नै दियो ।

‘आरनमा आगो नफुके, घरमा चुलो बल्दैन । आरनमा आगो फुकेर जीवन सोचेजस्तो हुँदैन । न छोराछोरीलाई राम्रो पढाई लेखाइ गराउन सकियो, न मन लागेको बेला मिठो मसिनो खुवाउन सकेँ,’ उनी भन्छन्, ‘तर पनि आरन घुमाउन छाडेको छैन । न कमाउन सकेँ, न रमाउन । आरनको राप र मनको तापमै जीवन बित्यो ।’

अभावै अभावमा बाल्यावस्था बिताएका विकले जीवन फेर्ने सहाराका रूपमा वयस्क उमेरमै आरन रोजे । सोचेजस्तो जीवन बनाउन नसके पनि बिहान साँझ दुई छाकको जोहो गर्न आरनले सहज नै बनायो । तर मनका रहर र जीवनका सपना पूरा गर्न कहिल्यै नसकेको उनी बताउँछन् ।

उनले थपे, ‘उहिले कामी भन्थे, न कामको सम्मान थियो, न मूल्य । जीवन धान्नका लागि पनि यो काम गर्नैपर्ने बाध्यता थियो । हातमा अरू केही सिप थिएन ।’

कामको मूल्य र सम्मान नभए पनि गरिबीको कारण उनले आफ्नो जीवनका रहर र सपनालाई आरन घुमाउँदै कोइलासँगै जलाए । ‘छोरालाई मास्टर बनाउने रहर थियो, छोरीलाई स्टाफ नर्स,’ उनी भन्छन्, ‘आरनलाई उद्योग पनि बनाउँछु भनेर सिप सिकेँ, आरनमा कोइला जोडेँ, तर आरनले मेरा सपना र रहरलाई जोड्न सकेन ।’

‘हेलाँको काम रहेछ’

आरनको कामले उन्नति नभएको र सम्मान पनि नपाइएको उनको गुनासो छ । ‘अहिले पनि कमाई उस्तै हो । दिनभर आरन घुमायो, हात बौरिन्छ, जिउमा तागत छैन । दिनभरको कमाई त्यही २/३ सय हुन्छ,’ उनले भने, ‘उहिले यो पनि हुँदैनथ्यो । वर्षभरि काम गर्‍यो । विष्टले भने जति अन्नपात पनि दिँदैनथे । उहिलेदेखि हेलाँको यो काम अझै हेलाँमै छ ।’

मेहनतको मूल्य नै नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘सीपमात्रै भएर के गर्ने ? सिप भएकाहरूलाई राज्यले हेर्दैनन् । गाउँलेले यस्तै हो । जति सक्दो सस्तोमस्तोमा गराउँछन् ।’

हातमा सिप भएर पनि कहिलेकाहीँ घरमा चुलो बाल्न समस्या हुने गरेको उनको भनाइ छ । हातमा आरनको सिप नभएको भए जीवन अझै कहालीलाग्दो हुने थियो कि भन्ने डरले पनि उनको मन छुन्छ । तर हातमा सिप भएर पनि नभएजस्तो अभावको जीवन बिताउनु पर्दा उनलाई आरनले दुई गाँस जोहो गराए पनि मनमा सन्तोष दिन सकेको छैन ।

मनको सन्तोष, सिपको सम्मान र मूल्य आरनमा भेटाउन नसक्दा अहिले आरन हराउँदै गइरहेको उनी बताउँछन् । उनले भने, ‘जातीय पहिचानको आरनलाई समाजले सम्मान गर्न त सकेन, राज्यले समेत पहिचानका रूपमा जोगाउन सकेन । जसका कारण अहिले आरन गर्नेहरू बुढा पुरानामात्रै भेटिन्छन् । नयाँ पुस्ताले यो गर्न सकेनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप