आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
भाषा

संकटमा कुसुण्डा : ‘म मरेँ भने हाम्रो भाषा बोल्ने मान्छे छैनन्’

शुक्रबार, १९ फागुन २०७९, ११ : ४८
शुक्रबार, १९ फागुन २०७९

दाङ । घोराही उपमहानगरपालिका–१८ की ४७ वर्षीय कमला कुसुण्डालाई आफ्नो भाषा, संस्कृति लोप हुन लागेकोमा चिन्ता छ । उनी कुुसुुण्डा भाषा बोल्ने सक्ने एकमात्र महिला हुन् । उनीसँग कुसुण्डा भाषामा दोहोरो कुराकानी गर्ने अरु कोही छैनन् । उनले नै भाषा बोल्ने र अरुलाई सुनाउने र सिकाउने गर्छिन् ।

आफू मरिसकेपछि कुसुण्डा भाषा नै लोप हुनेमा उनलाई चिन्ता छ । उनले भनिन्, ‘यो भाषा बोल्ने ममात्रै हो । थोरै जनसंख्या, पातलो बसोबास, शिक्षाको अभावले हाम्रो भाषा–संस्कृति नै मासिने अवस्थामा पुगेको छ ।’ लोपोन्मुुख कुसुण्डाको संरक्षणका लागि एकीकृत बस्ती विकासको अभाव देखिएको उनको भनाइ छ । उनले भनिन्, ‘मबाहेक अरु कसैले यो भाषा बोल्न सक्दैनन् । मसँगै भाषा हराउँदै छ ।’

‘हामीले दुनियाँ देख्यौं, राज्यले हामीलाई देखेन’

कमलाको बिहे १४ वर्षको कलिलो उमेरमै भयो । ‘बिहेपछि घर गृहस्थीतिर लागेँ । मेरो पढाइलेखाइ केही छैन,’ उनले भनिन्, ‘कुुसुण्डा जात र भाषाले मलाई दुनियाँ चिनायो, देखायो । तर राज्यले हामीलाई कहिल्यै देखेन ।’ आफूहरु र आफ्नो भाषाको संरक्षणमा राज्यले खासै चासो नदेखाएको गुनासो उनी गर्छिन् ।

दुई सय जनसंख्या समेत नभएका कुसुण्डालाई राज्यले एकीकृत बस्ती विकासको अवधारणा अनुसार व्यवस्थापन गर्न सक्ने सरोकारवालाहरु बताउँछन् । तर, राज्यले नै ध्यान नदिँदा कुसुण्डाहरु संकटमा पर्दै गएको उनीहरु बताउँछन् ।

‘हिजो बाजे–बाबुहरुले वनको घुमन्ते जीवन बिताए, अहिले हामी अभाव र कष्टको जीवन बिताइरहेका छौं,’ उनले भनिन् ।

कुसुण्डा नेपालको एक लोपोन्मुख सीमान्तकृत एवं अल्पसंख्यक आदिवासी जनजाति समुदाय हो । परम्परागत रुपमा कुसुण्डाहरु वनजंगलमा घुुमन्ते जीवन बिताउँथे । जसका कारण यिनीहरुलाई वनका राजा पनि भन्ने गरिन्थ्यो । उनीहरु परम्परामा विश्वास गर्छन् । पशुपालन तथा खेतीपाती नगर्ने जातमा पर्दछ कुसुण्डा ।

kusunda

कुुसुुण्डाको आफ्नै भाषा, रहनसहन, खानपान र भेषभुषा छ । उनीहरुको आफ्नो जातीय सिप, पेसा भने केही छैन । नेपालमा करिब २५ घरधुरीका १ सय ६१ जना कुसुण्डाको बसोबास छ । जसमा दाङमा मात्रै ११ घरधुरी छन् ।

‘हाम्रो सम्पत्ति भनेकै यही ज्यान हो’

चल–अचल सम्पत्ति नभएका कुसुण्डाहरु आफ्नो शरीरलाई नै मुख्य सम्पत्ति मान्दछन् । वनजंगललाई नै उनीहरुले घर मान्छन् । तर दुई–तीन पुस्तादेखि कतिपयले सामाजिक जीवन थालेका छन् । वन, खोला र ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका उनीहरु अहिले न पूर्ण रुपमा वनमा निर्भर छन्, न समाजमा स्थापित नै हुन सकेका छन् ।

घोराही–१८ निवासी ९० वर्षीय प्रेमबहादुुर कुसुण्डाका अनुसार कुुसुुण्डाहरुको नाममा जग्गा जमिन नहुुँदा नयाँ पुुस्ता संकटमा परेका छन् । ‘न जंगलमै बसेर जीवन निर्वाह हुन्छ, न समाजमा गरेर खान जग्गा जमिन छ,’ उनले भने, ‘हामी अहिले यता न उताको भएका छौं । राज्यले संरक्षण र रोजगारको व्यवस्था पनि गर्दैन । अनि हामी संकटमा नपरे को पर्छ र ?’ राज्यकै संरक्षण अभावका कारण कुसुण्डाहरु संकटमा परेको उनको भनाइ छ ।

pream kusunda

दुई सय जनसंख्या समेत नभएका कुसुण्डालाई राज्यले एकीकृत बस्ती विकासको अवधारणा अनुसार व्यवस्थापन गर्न सक्ने सरोकारवालाहरु बताउँछन् । तर, राज्यले नै ध्यान नदिँदा कुसुण्डाहरु संकटमा पर्दै गएको उनीहरु बताउँछन् ।

घोराही निवासी धनबहादुुर कुसुण्डाका अनुसार राज्यको संरक्षण नभएरै खोला किनार, वनको छेउ, ऐलानी जग्गामा बसेर जसोतसो जीवन निर्वाह गरेको यो समुदाय आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप