बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

निजी कलेजलाई छोएन स्ववियु चुनावले

सम्बन्धन प्राप्त १०४० कलेज, तयारी १५० मा मात्र
शनिबार, २७ फागुन २०७९, १२ : ०८
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउँदैछ । त्रिविले आफ्ना ६२ वटा आङ्गिक क्याम्पसमा निर्वाचन गर्न निर्देशन दिइसकेको छ । र उनीहरूले त्यही आधारमा तयारी समेत थालेका छन् । 

विश्वविद्यालयले सम्बन्धनप्राप्त १ हजार ४० कलेजलाई पनि सार्वजनिक सूचना जारी गर्दै निर्वाचन गराउन आग्रह गरेको थियो । आङ्गिक क्याम्पसहरूले तयारी अगाडि बढाइरहँदा कतिपय सम्बन्धन प्राप्त कलेजहरूले निर्वाचनको सुरसार नै अगाडि बढाएका छैनन् । कलेज सञ्चालकहरूले आफ्नो कलेजमा विद्यार्थी संगठनहरूलाई प्रवेश नै दिएका छैनन् । आफ्नो कलेजलाई राजनीतिक संगठन मुक्त बनाएका छन् । जसले गर्दा ती कलेजहरूमा स्ववियु निर्वाचनको कुनै सुरसार नै सुरु हुन नसकेको हो । 

त्रिविको प्रारम्भिक विवरणअनुसार करिब १५० जति सम्बन्धनप्राप्त कलेजहरूले स्ववियु निर्वाचनको तयारी थालेका छन् । ती बाहेक अन्य कलेजले के गरिरहेका छन् भन्ने बारे त्रिविलाई कुनै जानकारी छैन । 

काठमाडौँ उपत्यकामा मात्र ३०० भन्दा बढी सम्बन्धन प्राप्त कलेज छन् । ती मध्ये कसले निर्वाचनबारे के गरिरहेका छन् भन्ने जानकारी समेत त्रिविलाई छैन । १७ वटा क्याम्पसहरूले तयारी थालेको भन्ने जानकारी चाहिँ त्रिविले गृह मन्त्रालयमार्फत पाएको छ । स्ववियु निर्वाचन गराउनका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न भन्दै त्रिविले गृह सचिवलाई पत्र पठाएको थियो । सोही आधारमा गृह सचिवले प्रहरीलाई निर्वाचनका लागि शान्ति सुरक्षा दिन भनेका थिए । सोही आधारमा कुन–कुन कलेजले निर्वाचनको तयारी थाले भन्ने जानकारी त्रिविले गृह मन्त्रालयमार्फत मात्रै पाएको हो । सम्बन्धित कलेज आफैँले भने त्रिविलाई जानकारी दिने गरेका छैनन् ।

त्रिविका आङ्गिक क्याम्पसहरूलाई आफ्नो राजनीतिक थलो बनाइरहेका विद्यार्थी संगठनहरू निजी कलेजहरूमा भने छिर्न नै डराउने गरेका छन् । 

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य–सचिव प्राध्यापक पशुपति अधिकारीले सम्बन्धन प्राप्त क्याम्पसहरूले निर्वाचन गराउन आनाकानी गर्दै आएको बताए । विश्वविद्यालयले स्ववियु निर्वाचन गराउनुपर्छ भनेर निर्देशन जारी गरेपछि सम्बन्धन प्राप्त कलेजहरूले पनि चुनाव गराउनैपर्ने उनको भनाई छ । तर, कहिले पनि उनीहरूले स्ववियु चुनाव गराउँदैनन् । 

विधान नै बनाउँदा स्ववियुको प्रावधान राख्नुपर्ने हुन्छ । र सोही आधारमा स्ववियु निर्वाचन गराउनुपर्ने हुन्छ । तर कलेजहरूले स्ववियुको विकल्पमा विद्यार्थी सर्कल वा काउन्सिल लगायतका संस्था बनाउने गरेका छन् । तर, ती संस्था कलेजको पूर्ण रेखदेख र नियन्त्रणमा हुने गरेका छन् । 

विद्यार्थी संगठन पनि छिर्न डराउँछन्

त्रिविका आङ्गिक क्याम्पसहरूलाई आफ्नो राजनीतिक थलो बनाइरहेका विद्यार्थी संगठनहरू निजी कलेजहरूमा भने छिर्न नै डराउने गरेका छन् । 

कतिपय कलेजहरूले विद्यार्थी संगठनको नाममा आउने कुनै पनि समूहलाई गेटबाटै बाहिर पठाउने गरेका छन् । 

विद्यार्थी संगठनहरूको चाहना सबैभन्दा पहिला अर्को पार्टीको संगठनले संगठन विस्तार गरोस् भन्ने चाहना हुन्छ । पहिला अर्कोले खोल्यो र त्यो सफल भयो भने त्यसपछिका बाँकी संगठनकालाई सजिलो हुन्छ भन्ने चाहना विद्यार्थी संगठनहरूको छ । 

यसमा विद्यार्थी संगठन आफैँ चुकेका छन् । नेपाली कांग्रेसको लगानीकर्ता वा प्रिन्सिपल भएको क्याम्पसमा नेविसंघले सबैभन्दा पहिला अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतले संगठन विस्तार गरोस् भन्ने चाहना हुन्छ । 

त्यस्तै नेकपा एमालेको लगानीकर्ता वा प्रिन्सिपल भएको क्याम्पसमा सबैभन्दा अन्य संगठनले संगठन खोलुन् भन्ने चाहना हुँदो रहेछ । तर, त्यहाँ आफैँ भने अघि सर्न कोही पनि तयार हुँदैनन् । 

अनेरास्ववियुको उपाध्यक्ष नारायण घर्तीले निजी क्याम्पसहरूमा आफूहरू पुग्न नसकेको स्वीकार गरे । ‘हामी जानुपर्छ भन्नेमा त हौँ । तर, के के कारणले मिल्न सकिरहेको छैन । जसले गर्दा अहिले स्ववियु चुनाव पनि निजी कलेजहरूमा नहुने अवस्था छ ।’ उनले भने । 

कतिपय कलेजमा संगठन विस्तार गर्न खोजे पनि कलेज सञ्चालकको अवरोध हुने गरेको छ । भने कतिपय ठाउँमा विद्यार्थी संगठन नै संगठन विस्तार गर्न अनइच्छुक देखिने गरेका छन् । 

निजी कलेजमा विद्यार्थी संगठनहरू विस्तार हुन नसक्दा त्योभित्रको विकृतिबारे बोल्ने आँट कसैलाई पनि नभएको उनको भनाई छ । ‘त्यहाँ पढ्ने विद्यार्थीहरूको कोही पनि बोल्न मान्दैनन् । संगठन विस्तार गर्न खोज्यो भने विद्यार्थीहरू सदस्य बन्न आँट पनि गर्न सक्दैनन् । जसले गर्दा समस्या भइरहेको छ ।’ उपाध्यक्ष घर्तीले भने । 

अन्य संगठनहरूले समेत त्रिविका सम्बन्धनप्राप्त कलेजहरूमा संगठन विस्तार गर्न नसकेको स्वीकार गर्दै आएका छन् । जसले गर्दा निजी कलेजहरूभित्रको मनोमानी तथा बेइमानी बाहिर आउन नसकेको उनीहरूको भनाई छ । 

कतिपय कलेजमा संगठन विस्तार गर्न खोजे पनि कलेज सञ्चालकको अवरोध हुने गरेको छ । भने कतिपय ठाउँमा विद्यार्थी संगठन नै संगठन विस्तार गर्न अनइच्छुक देखिने गरेका छन् । 

विद्यार्थी संगठनहरूले त्रिविका सम्बन्धन प्राप्त कलेजहरूमा संगठन विस्तार गर्न नसक्दा स्ववियु निर्वाचन समेत प्रभावित हुँदै आएको छ । त्रिविले आङ्गिक क्याम्पसहरूमा तामझामका साथ स्ववियु निर्वाचन गराउँदै आएको छ । तर, निजीमा भने त्रिविले स्ववियु निर्वाचन गराउन सकेको छैन । 

यो पटकको चुनावमा १ हजार ४० वटै सम्बन्धन प्राप्त कलेजहरूलाई निर्वाचन गराउन भन्दै परिपत्र गरिएको छ । तर, अहिलेसम्मको अवस्था हेर्दा डेढ सयको हाराहारीमा कलेजहरूले चुनाव गराउने जस्तो देखिएको छ । 

विद्यार्थी संगठनहरू नै अग्रसर नहुँदा सम्बन्धन प्राप्त कलेजहरूमा चुनाव गराउन कठिन हुने सदस्य सचिव अधिकारीले बताए । ‘विद्यार्थी संगठनहरूले चाहेको खण्डमा आफ्नो सदस्यता विस्तार गरेर सम्बन्धन प्राप्त कलेजमा पनि जान सक्छन् । तर, उनीहरू जान सकेका छैनन् । संगठन नै नभएपछि चुनाव गराउन पनि गाह्रो हुने रहेछ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप