सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई

बुधबार, २६ वैशाख २०८१, ०७ : ११
बुधबार, २६ वैशाख २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स २० रनले विजयी भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई पराजित गर्दै तालिकामा १२ अङ्क थप गर्दै पाँचौँ स्थानमा उक्लिएको छ ।

यता  राजस्थानले लगातार दोस्रो हार व्यहोर्दा दोस्रो नै स्थनमा रहेको छ । दिल्लीको जितपछि प्लेअफ समिकरण भने थप रोचक बनेको छ । शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सको १६ अङ्क रहेको छ भन राजस्थानको पनि समान १६ अङ्क रहेको छ ।

मंगलबार राति टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२१ रन बनाएको थियो । जवाफमा राजस्थानको टोलीले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाएपछि २० रनको पराजय भोग्न पुग्यो । जीतपछि दिल्ली प्लेअफको दौडमा कायमै रहेको छ भने राजस्थानलाई प्लेअफ पक्का गर्न अझैं कुर्नु पर्ने छ ।

राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । जुन पावर प्लेको क्रममा नै गलत साबित भएको थियो । दिल्ली क्यापिटल्सका लागि इनिङ्स ओपन गर्न आएका जेक फ्रेजर–म्याकगुर्क र अभिषेक पोरेलले पहिलो विकेटका लागि ६० रन जोडे । यस क्रममा म्याकगुर्कले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे र उनी आईपीएलमा २० भन्दा कम बलमा सर्वाधिक अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बने । पाँचौँ ओभरमा म्याकगुर्कको विकेट गुमेको थियो । उनलाई रविचन्द्रन आश्विन आउट गर्दै राजस्थानलाई राहत दिलाएका थिए । अर्को ओभरमा साई होप पनि एक रनमा रनआउट भए ।

त्यसपछि अभिषेक पोरेलले आक्रामक ब्याटिङ गरेपछि दिल्ली क्यापिटल्सले नवौं ओभरमा १०० रनको अङ्क बनाएको थियो । पोरेलले २८ बलमा अर्धशतक पूरा गरे पनि अक्षर पटेल (१५) र कप्तान ऋषभ पन्त (१५) सस्तैमा पभेलियन फर्किए ।  १३औँ ओभरमा १४४ रनको स्कोरमा आउट हुनुअघि पोरेलले ३६ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६५ रनको उत्कृष्ट इनिङ खेले । डेब्यु खेल खेलिरहेका गुलबदिन नाइबले १९ रन बनाए ।

अन्तिम ओभरमा ट्रिस्टन स्टब्सको शानदार ब्याटिङ गरे । उनले टोलीको स्कोर २०० भन्दा माथि पुर्‍याए । २० औँ ओभरमा आउट हुनुअघि स्टब्सले २० बलमा ३ चौका र तीन छक्का सहित ४१ रन बनाए । रसिख सलाम दार ३ बलमा ९ रन बनाएर आउट भए । जबकि कुलदीप यादव ५ रन बनाएर अविजित रहे । राजस्थान रोयल्सका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले एक एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवात खासै सुखद हुन सकेन । आपनर यशस्वी जैसवाल पहिलो ओभरमै ४ रन बनाएर आउट भए ।  दोस्रो ओपनर जोस बटलर र कप्तान सञ्जु सामसनले स्कोरलाई ५० भन्दा माथि पुर्याएपनि बटलरले ठूलो इनिङ खेल्न सकेनन् । उनी छैठौं ओभरमा ६७ रनको स्कोरमा १९ रन बनाएर आउट भए । राजस्थानको टोलीले ११ औँ ओभरमा १०० रन पुरा गरेपनि १०३ रनको स्कोरमा रियान परागको विकेट गुमाए । पराग २२ बलमा २७ रन बनाएर आउट भएका थिए ।

कप्तान सञ्जु सामसन उत्कृष्ट फर्ममा ब्याटिङ गरिरहेका थिए । उनी शतक बनाउन भने असफल भए । विवादास्पद क्याच आउट निर्णयका कारण ४६ बलमा ८६ रन बनाएर पभेलियन फर्किएका थिए । उनको इनिङ्समा आठ चौका र छ छक्का सामेल थियो । शुभम दुबेले पनि १२ बलमा २५ रनको इनिङ खेले । डेब्यु गरेका डोनोभान फरेरा १ रन बनाएर आउट भए भने रविचन्द्रन आश्विन २ रन बनाएर आउट भए ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २९ रन जोड्नुपर्ने थियो तर मुकेश कुमारले मात्र ८ रन दिएर रोभमान पावेल (१३) लाई आउट गरेर आफ्नो टोलीलाई जित दिलाएका थिए । दिल्ली क्यापिटल्सका खलिल अहमद, मुकेश कुमार र कुलदीप यादवले समान २–२ विकेट लिए । अक्षर पटेलको नाउँमा एक विकेट रह्यो । आइपीएलमा आज राति पौने ८ बजे सनराइजर्स हैदरावाद र लखनऊ सुपर जायन्ट्स भिड्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप