शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जेठमा बजेटभित्र परेको कार्यक्रमबारे मन्त्री बेखबर, अर्थले रोक्काको पत्र पठायो

मङ्गलबार, ३० फागुन २०७९, १७ : ०७
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । सरकारले नौ महिनाअघि संघीय संसदमा पेस गरेको बजेट वक्तव्यमा परेका कार्यक्रमबारे मन्त्री नै बेखबर भएका छन्।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते संघीय संसदमा बजेट वक्तव्य प्रस्तुतिका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको ‘नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास’ नामक कार्यक्रमबारे विभागीय मन्त्री अमनलाल मोदी बेखबर भएका हुन्। रातोपाटीले गरेको जिज्ञासामा मन्त्री मोदीले ‘ यो कार्यक्रम पनि छ र ?’ भन्दै अनविज्ञता प्रकट गरे। उनले तत्कालै स्थानीय तह क्षमता विकास महाशाखाका कर्मचारीलाई सोधपुछ गरे। जवाफमा महाशाखाका कर्मचारीले कार्यक्रमको बजेट अर्थले रोकिदिएपछि ब्रिफिङ नगरेको जवाफ दिए। 

तत्कालीन अर्थमन्त्री शर्माले उक्त कार्यक्रमको लागि ३ अर्ब रुपैयाँ बजेट समेत विनियोजन गरेका थिए। जनार्दनपछि अर्थमन्त्रीमा विष्णु पौडेल आए। उनले अर्थतन्त्र सुधारको नाममा पूर्ववर्ती सरकारले राम्रै उद्देश्यले ल्याएको कार्यक्रम गर्न ‘पैसा छैन’ भन्दै कार्यक्रम तत्काल रोक्नमात्रै लगाएनन्, बजेट रोक्का गरिएको पत्र सामान्यमा पठाए। 

एक घर परिवार एक रोजगार, एक बस्ती एक आर्थिक पहिचान, एक वडा एक बजारको अवधारणासहितको कार्यक्रम कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहको लागत साझेदारी र निजी क्षेत्रको सहकार्यमा गरिने उल्लेख गरिएको थियो। आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम आबद्ध गरिने ब्यहोरासहितको कार्यक्रम तत्काललाई आवश्यक नदेखेपछि बजेट रोक्का गरिएको राय अर्थले सामान्यलाई दिएको छ। 

यस कार्यक्रमबाट यसै आर्थिक वर्ष भित्र एक लाख नयाँ उद्योग तथा व्यवसाय थपिने, एक हजार पाँच सय वटा नयाँ बजार केन्द्र विकास गर्ने, दुई हजार पाँच सय वटा नयाँ साप्ताहिक हाटबजार सञ्चालन हुने र एक हजार पाँच सय वटा व्यापार मेलाको आयोजना गरिने उल्लेख थियो। जसबाट एक लाख जनालाई रोजगारीको सिर्जना हुने उल्लेख थियो। 

मन्त्री मोदीले भने,‘कार्यक्रम हेर्दा राम्रै उद्देश्यका लागि ल्याइएको देखिएपछि अर्थ मन्त्रालयले पैसा नभएर बजेट रोकिदिएको रहेछ। रोकिएको बजेट खुलाउने प्रयास गर्छु।’ उनले कर्मचारीबाट आफूले यस कार्यक्रमबारेमा ढिलो जानकारी पाएका स्विकार्दै मन्त्रालयगत कार्यक्रमका बारेमा छिटो जानकारी गराउन निर्देशनसमेत दिएको बताए। 

उपत्यका बाहिरका जिल्लाहरूमा हाट बजार, कृषि मेला लगायतले स्थानीयस्तरमा कृषिजन्य वस्तुको उत्पादन बढ्ने र रोजगारीको अवसर समेत हुने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप