बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

गन्धर्व बस्तीका बासिन्दा भन्छन्– कहिलेसम्म खोलाको पानी खाने ?

शनिबार, ०४ चैत २०७९, १७ : ५४
शनिबार, ०४ चैत २०७९

दाङ । घोराही उपमहानगरपालिका–११ नयाँबस्तीकी कमला गन्धर्व अहिले ४३ वर्षकी भइन् । उनी त्यही बस्तीमा जन्मिएर त्यहीँ हुर्किइन् । उनको घर पनि त्यहीँ र माइत पनि त्यहीँ हो । बाल्यावस्थादेखि साँझबिहान खोलाको पानी बोक्नुपर्ने बाध्यता झेलेकी उनी अहिले पनि त्यही बाध्यता झेल्दैछिन् ।

गाउँमा खानेपानीको सुविधा नहुँदा कमलामात्रै होइन, नयाँबस्तीका ८५ घरधुरी पुस्तौँदेखि खोलाको पानीले बाँचिरहेका छन् । कमलाले भनिन्, ‘खोलाकै पानी खान्छौं, खोलाकै पानीले बाँचेका छौं । खोलाको पानी बोक्नु र खानुपर्ने बाध्यताले हामीलाई अझै छोडेन ।’

नयाँबस्ती अर्थात् गन्धर्व बस्तीमा २०२७ सालमा ३  घर परिवारको बसोबास थियो । अहिले ८५ घरधुरी गन्धर्व यो बस्तीमा छन् । बस्तीमा खानेपानीको प्रवन्ध नहुँदा यहाँका बासिन्दा खोलाको पानी ल्याएर गुजारा चलाउँछन् ।

कमलाले भनिन्, ‘हाम्रा बाजेको जीवन यही खोलाकै पानी खाएर बित्यो, हाम्रो जीवन पनि खोलाकै पानी खाएर जाने भयो ।’

भौगोलिक हिसाबले गन्धर्व बस्ती सुगम क्षेत्रमा पर्दछ । तर खानेपानीको समस्या वर्षौँदेखि कायम छ । खानेपानीको अभाव झेल्दै आइरहेका गन्धर्भ बस्तीका बासिन्दामा खडेरी सुरु भएसँगै पानीको चिन्ता बढेको छ ।

उनले भनिन्, ‘बर्खा याममा खोलाको पानीले बिमार पार्छ । गाईबस्तु र मान्छेले खाने त्यही खोलाकै पानी हो । कहिलेसम्म खोलाको पानी खाने ?’

गन्धर्व बस्ती रोग, भोक र शोकले ग्रसित छ । बस्तीको चुलो बाल्न दिनभर सारङ्गी बोकी गाउँ चाहार्नु पर्ने या अरुको ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ । बस्तीका बारीमा एक मुठी धनियाँसमेत उब्जनी हुँदैन ।

खानेपानीको हाहाकार रहेको यो बस्तीमा खेतीका लागि पानी उपलब्ध हुनु अझ परकै सपना हो । गन्धर्व बस्तीका बासिन्दाहरु बर्खा र खडेरी लागे खोलाको पानी पनि प्यास मेट्ने गरी पिउन पाउँदैनन् । स्थानीय डाइबर गन्धर्वले भने, ‘बर्खा लागे खोलामा खनेको जरुवा बाढीले पुर्छ, गर्मी सुरु भए खोला सुक्छ । गर्मी सुरु भयो, अब पानी खोज्दै खोला चहार्नुपर्ने बाध्यता आउँछ ।’

water-shortage

बस्तीमाथि रित्तो ट्याङ्की, घरघरमा पानी बिनाको पाइप

गन्धर्व बस्तीमा खानेपानी पुर्‍याउनका लागि घोराही उपमहानगरपालिकाले बस्तीको उत्तरतिर ४५ हजार लिटर क्षमताको एउटा ट्याङ्की निर्माण थालनी गरेको अहिले ५ वर्ष पूरा भयो । जसमा उपमहानगरपालिकाले ३३ लाख खर्च गरिसकेको छ ।

तर, हालसम्म खानेपानी ट्याङ्की अलपत्र परेको छ । ट्याङ्की निर्माण थालनीसँगै बस्तीका घरघरमा खानेपानी पाइपसमेत स्थानीयले जोहो गरिसकेका छन् । तर अहिलेसम्म न ट्याङ्की निर्माणको काम सकिएको छ, न त पाइपमा पानी आउँछ ।

खानेपानी योजना अलपत्र परेको सुनाउँदै डाइबरले भने, ‘खोलाको पानी खान लागेको बस्ती बसेदेखि नै हो, खानेपानी योजनाको काम सुरु भएको ५ वर्ष भयो । अझै उस्तै छ ।’

खानेपानी योजना निर्माण सम्पन्न होला र बस्तीको पीडा मेटिएला भन्ने आशमा रहेका बासिन्दा उक्त योजना अलपत्र परेपछि निराश देखिन्छन् ।

जहिल्यै पानीकै आश

खानेपानी अभावको पीडा झेलेका बासिन्दा अलपत्र खानेपानी योजना निर्माणका लागि ५ वर्षदेखि स्थानीय सरकारदेखि विभिन्न कार्यालयमा धाइरहेका छन् । तर योजना निर्माणको काम र धारामा पानी झर्ने कुरा आश्वासनमै सीमित रहेको बस्तीका बासिन्दाहरुको भनाइ छ ।

वडाध्यक्षदेखि मेयरसम्म, नेतादेखि मन्त्रीसम्मले पनि बस्तीमा खानेपानी योजनाको काम अब पूरा हुन्छ र पानी आउँछ मात्रै भन्दै आश्वासन बाँड्दै आइरहेको स्थानीय हेमराज गन्धर्व बताउँछन् । उनले भने, ‘चुनावमा पानी आउँछ भन्दै भोट माग्न आए, चुनावपछि पानी आउँछ भने, अहिलेसम्म आएन, अब आउँछ भन्छन् तर कहिले आउँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप