शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर क्याम्पसमा कम्युनिस्ट गठबन्धन भर्सेस लोकतान्त्रिक तालमेल

शनिबार, ०४ चैत २०७९, २० : ५६
शनिबार, ०४ चैत २०७९

मकवानपुर । भोलि हुने स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा कम्युनिस्ट गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता समीकरण भन्दा फरक भएर स्ववियु निर्वाचनको लागि दुवै गठबन्धनले निर्वाचनको तयारी थालेका छन् ।

नेविसंघको आन्तरिक विवादका कारण मनोनयन दर्ता लगत्तै केही समय प्रभावित भएको मकवानपुरको क्याम्पसको निर्वाचन अदालतको आदेशसँगै तीव्र बनको छ । आधिकारिकताको विषयमा विवाद हुँदा नेविसंघको एक समूहले चुनाव रोक्न अदालतमा मुद्दा दाय गरेको थियो । उच्च अदालत पाटन हेटौँडा इजलासले स्ववियु निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको पछि चुनावी अभियान तीव्र बनेको हो ।

अदालतको आदेशसँगै दुवै गठबन्धनले आफ्नो चुनावी अभियानलाई अघि बढाएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु, एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनले कम्युनिस्ट गठबन्धन बनाएका छन् भने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र राप्रपाको विद्यार्थी संगठन राप्रपा विसं लोकतान्त्रिक गठबन्धन गरेको छ ।

विद्यार्थी संगठनका नेताहरूले आफू अनुकूल स्ववियु निर्वाचनमा सत्ता समीकरण भन्दा फरक ढंगबाट चुनावी गठबन्धन गरेका हुन् । सो क्याम्पसमा अनेरास्ववियुको बलियो उपस्थिति रहेको छ भने अनेस्ववियुको पनि अवस्था सन्तोषजनक रहेको छ । अखिल (क्रान्तिकारी)को भने सो क्याम्पसमा कमजोर अवस्था रहेको छ ।

अनेरास्ववियुले आफ्ना उम्मेदवारहरूलाई जिताउन कै लागि मकवानपुर क्याम्पसमा सत्ता समीकरण भन्दा फरक गठबन्धन गरेको हो । उक्त संगठनले स्ववियु सभापति एमालेलाई छोड्दै सचिव पद र समानुपातिकबाट उपसभापति लिने गरी सहमति गरेको छ ।

सो क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुले नवराज शर्मालाई उम्मेदवार बनाएको छ भने सचिवमा अनेरास्ववियुका विश्वास पराजुली र कोषाध्यक्ष पदमा अनेरास्ववियुकी हिमानी सुवेदीलाई उम्मेदवार बनेका छन् । उक्त गठबन्धनले अखिल (क्रान्तिकारी)लाई प्रत्यक्ष र समानुपातिक तर्फको एक÷एक वटा सदस्य दिने गरी चुनावी मोर्चा बनाइएको छ ।

त्यस्तै उक्त कम्युनिस्ट गठबन्धनसँग प्रतिस्पर्धा गर्न सत्तारुढ माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)सँग नेविसंघ र राप्रपा विसंले लोकतान्त्रिक गठबन्धन बनाएको छ । उक्त संगठनहरुले सो क्याम्पसको स्ववियु सभापति अनेरास्ववियु (क्रान्तिकारी)का छोइसाङ तामाङलाई उम्मेदवार बनाएको छ भने सचिवमा नेविसंघका वर्षत घिमिरे र समानुपातिक तर्फबाट उपसभापति लिने गरी सहमति गरेको छ । सो गठबन्धनले कोषाध्यक्ष पदमा राप्रपा विसंका उद्धव प्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ ।

नेविसंघको विवाद कायमै

मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी)मा सन्तोषजनक उपस्थिति रहेको छ भने राप्रपा विसंघको अवस्था राम्रो देखिँदैन । नेविसंघको आन्तरिक विवाद मकवानपुरमा चरम उत्कर्षमा रहेको छ । जसका कारण स्ववियु निर्वाचनमा सो गठबन्धनलाई समस्या हुने देखिन्छ । २ वटा अध्यक्ष मध्येमा को आधिकारिक भन्ने विषयमा नेविसंघ मकवानपुरमा विवाद कायमै छ ।

नेविसंघ मकवानपुरमा इन्द्रबहादुर बानियाँ र महालक्ष्मी उपाध्याय ‘डिना’ बिचको आन्तरिक द्वन्द्व असरका कारण २ वटा अध्यक्ष कायम छन् । नेविसंघ मकवानपुरमा बानियाँ टिमबाट सुवास सापकोटा अध्यक्ष छन् भने डिना टिमबाट भीषण ठकुरी अध्यक्ष छन् । सापकोटा जिल्लाबाट सिफारिस भएर नेविसंघ मकवानपुरका अध्यक्ष हुन् भने ठकुरीलाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नियुक्त गरेका हुन् ।

नेविसंघ मकवानपुरका ठकुरी पक्षले उच्च अदालत पाटन हेटौँडा इजलासमा मकवानपुर बहुमुखी क्याम्पसको निर्वाचन स्थगित गर्न माग गर्दै रिट दायर गरेका थिए । ठकुरीले गत फागुन ३० गते मकवानपुर बहुमुखी क्याम्पस, निर्वाचन आयुक्तविरुद्ध हालेको रिटमा अदालतले शुक्रबार अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले अन्तरिम फैसला गर्दै स्ववियु निर्वाचन गर्न आदेश दिएको हो ।

ठकुरीको तर्फबाट वरिष्ठ अधिवक्ता गणेशप्रसाद दाहाल एवम् अधिवक्ताहरू कृष्णप्रसाद अर्याल, अज्मीर केसी, चन्द्रप्रसाद पौडेल, शिवप्रसाद बन्जारा, मनप्रसाद भट्टराई, राधाकृष्ण मैनाली, विषम अधिकारीले बहस गर्नुभएको थियो । विपक्षीका तर्फबाट अधिवक्ताहरू अमृतकुमार लामा, मदनकुमार दाहाल, मुकुन्दप्रसाद अधिकारी र रमा चौलागाईंले बहस गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन तालिका २०७९ अनुसार निर्वाचन कार्यक्रम प्रकाशित भई संघ÷संगठन÷समूह दर्ताको कार्यक्रम मिति २०७९ फागुन १९ गते दिनको ३ बजेसम्म तोकिएको समयभित्र सुवास सापकोटाको समूहले नेपाल विद्यार्थी संघले निर्वाचनमा भाग लिने गरी संघ संगठन दर्ता गराएका थिए । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका २०७९ को दफा ७ (१) मा तोकिएको समयभित्र संघ÷संगठन दर्ता नगराएमा मान्यता नपाउने उल्लेख भई मिति २०७९ फागुन १९ पछिमात्र ठकुरीले नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयको पत्र प्राप्त गरेको पाइएको अदालतको आदेशमा उल्लेख छ ।

ठकुरीले निर्वाचन प्रयोजनका लागि तोकिएको समयभित्र आफ्नो संगठन दर्ता गराएको नदेखिएको एवम् निवेदकले उठाएको आधिकारिकतासम्बन्धी विवाद तथा विधानको व्याख्यालगायतको प्रश्नमा अन्तिम फैसला हुँदाको बखत न्याय निरूपण हुने अदालतको आदेशमा जनाइएको छ । निर्वाचन कार्यक्रम प्रकाशित भई संघ÷संगठन दर्ता भइसकेको अवस्थामा सो कार्यक्रमअनुसार अघि बढाउन अदालतले निर्देशन दिएको छ । अदालतले भीषण ठकुरीको पक्षलाई तारिखको लागि चैत १५ गतेलाई बेलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप