मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
चलचित्र

चीनमा फिल्म गतिविधि : सर्वसाधारणका कथा नै बढी चल्छन्

सोमबार, ०६ चैत २०७९, ०९ : ३४
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । पछिल्लो समय खासगरी सर्वसाधारणका कथालाई चिनियाँ फिल्ममा ल्याउने गरिएको छ । जस्तो : सन् २०१८ मा प्रदर्शन भई थुप्रै अवार्ड हात पारेको फिल्म ‘डाइङ टु सर्भाइभ’ । 

यस फिल्मले सर्वसाधारणको आधारभूत आवश्यकता औषधोपचारको विषयलाई उठाएको छ । फिल्मको कथा अनुसार, पेटेन्ट सुरक्षाका कारण रक्त क्यान्सरको स्विस औषधि चीनमा महँगो पर्छ, धेरै सर्वसाधारणले औषधि किन्न सक्दैनन् । यो अवस्थामा एक व्यक्तिले भारतबाट अवैध रूपमा सस्तो औषधि ल्याएर थुप्रै मानिसको ज्यान जोगाउँछ र आफू पनि धनी बन्छ । अन्ततः उसलाई पक्रेर अदालतबाट दोषी ठहराई जेल चलान गरिन्छ । उसलाई जेल लैजाँदै गर्दा उसको पक्षमा थुप्रै मानिस जम्मा भएका हुन्छन् । (यो फिल्म युट्युबमा छ, अंग्रेजी नामबाट सर्च गरेर हेर्न सक्नुहुन्छ) । 

छियाङ फु भन्छन्, ‘यो फिल्मको कहानी धेरै हदसम्म वास्तविक हो ।’

WhatsApp Image 2023-03-20 at 09.46.20

सर्ट फिल्म ‘मरिन खुर’ लिएर छियाङ फु छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भएका छन् । मरिन खुर मंगोलियन परम्परागत बाजा हो, ठ्याक्कै हाम्रो सारंगीजस्तै, जसलाई रेटेर बजाइन्छ । उनका साथी यो बाजा बजाउने गुरु हुन्, त्यसैले उनलाई यसको कथामा फिल्म बनाउन मन भयो । 

५२ वर्षीय छियाङले सन् १९९८ देखि चुफङबाट टेलिभिजन रिपोर्टर भएर पत्रकारिता सुरु गरेका थिए । पछि (सन् २००० मा) बेइजिङ आएर टेलिभिजन रिपोर्टर भएर काम गरे । सन् २००४ देखि सिसिटिभी (चाइनिज सेन्ट्रल टेलिभिजन)मा फिल्मसम्बन्धी रिपोर्टिङ गर्दा उनले फिल्म निर्देशक, कलाकार आदिसँग कुराकानी गर्नुपर्थ्यो । यसले उनलाई फिल्म बनाउने वा भिडियोसम्बन्धी काममा रुचि जगायो । सन् २००६ देखि उनले आफ्नै अफिस चलाउँदै आएका छन्, उनको अफिसले खासगरी भिडियोसम्बन्धी काम गर्छ– डकुमेन्ट्री फिल्म, सर्ट फिल्म, विज्ञापन आदि बनाउने । नयाँ वर्षमा छुन्चे (वसन्त ऋतु) महोत्सव हुन्छ, नाचगानसहितको यस महोत्सवको आयोजना उनको अफिसले गर्दै आएको छ । 

चीनमा कलाकार कसरी फिल्म क्षेत्रमा आउँछन् ? उनी भन्छन्, ‘चीनमा पनि कलाकारले विभिन्न क्षेत्रमा सिचु (नाटक) गर्ने गर्छन् । तिनै कलाकार पछि फिल्ममा आएको देखिन्छ ।’

चीनमा कस्ता किसिमका चलचित्र गतिविधि हुन्छन्, कस्ता चलचित्र चल्छन् ? यिनै विषयमा कुरा गर्न छियाङले हामीलाई शुक्रबार होटल हायातमा समय दिएका दिए । उनीसँगको कुराकानीमा हामीसँग कल्याणराज शर्मा दोभासेका रूपमा थिए, कल्याणले चीनको फुतान विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । 

हामीले युट्युबमा फाट्टफुट्ट चिनियाँ फिल्म हेर्दा खासगरी तरबार युद्ध, कङ फु बढी पाउँछौँ । वास्तवमा अचेल चीनमा कस्ता कथामा फिल्म बन्छन् ? छियाङका अनुसार, चीनमा बजारमुखी फिल्म नै बढी बन्छन् । ‘तरबारयुद्ध, कङ फु आदि राखिएका पुराना शैलीका फिल्म तपाईंले हेर्नुभएको रहेछ, अचेल चीनमा हलिउड शैलीका फास्ट मुभी, खासगरी सर्वसाधारणका कथा भन्ने फिल्म नै बढी चल्छन्, जसमा प्रेमकथाका फिल्म पनि पर्छन् । फिल्म चल्नमा चर्चित कलाकारको पनि भूमिका रहन्छ,’ छियाङ भन्छन्, ‘सकारात्मक तरंग ल्याउन सक्ने फिल्म बढी चलेको देखिन्छ । फिल्म चल्नका लागि मानिसलाई केही सकारात्मक काम गर्न उत्प्रेरित गर्ने खालको कथा हुनुपर्छ ।’

उनका अनुसार, चीनमा बनेका १० प्रतिशत फिल्मले राम्रो नाफा कमाउँछन् भने १० प्रतिशत ठिकै चल्छन् । झन्डै ८० प्रतिशत फिल्मले घाटा बेहोर्ने गर्छन् । एउटै फिल्मको टिकट पनि पाँच अर्ब चाइनिज युआनसम्म टिकट बिक्री हुन्छ । ‘कतिले १० हजार कमाएर हलबाट बाहिरिन्छन् । दुई–तीन दिनदेखि सय दिनसम्म चल्ने फिल्म हुन्छन्,’ उनी भन्छन्, ‘चीनमा ९० मिनेटभन्दा लामा फिल्म (जुन हलमा चल्छन्) को मात्रै सेन्सर हुन्छ । छोटो अवधिका फिल्म इन्टरनेटमा राखिन्छ ।’

Fucin (3)

सिमाना, गुन्डा, फोहोरी राजनीति, केही बेथिति आदिसँग बलिउड लडिरहेको देखिन्छ । त्यस्तै हलिउडका फिचर फिल्ममा पृथ्वीका देशहरूसँग त्यत्रो लडाइँ देखिँदैन, ऊ अर्को कुनै ग्रहका एलियनसँग लड्छ । चिनियाँ फिल्मचाहिँ केसँग लडिरहेको होला ? 

उनी सन् २०१९ मा प्रदर्शनमा आएको चिनियाँ साइन्स फिक्सन फिल्म ‘द वान्डरिङ अर्थ’लाई उदाहरण स्वरूप पेस गर्छन् । यो फिल्ममा ध्वस्त हुन लागेको पृथ्वी जोगाउने कथा छ । 

पछिल्लो समय, हामीकहाँ रंगमञ्चमा अभिनय गरेर आएका कलाकारले फिल्ममा पनि राम्रो अभिनय गरेको देखिन्छ । चीनमा कलाकार कसरी फिल्म क्षेत्रमा आउँछन् ? उनी भन्छन्, ‘चीनमा पनि कलाकारले विभिन्न क्षेत्रमा सिचु (नाटक) गर्ने गर्छन् । तिनै कलाकार पछि फिल्ममा आएको देखिन्छ ।’

आफ्नै अफिसबाट भिडियोसम्बन्धी काम गर्दै आए पनि उनले सन् २०१८ मा आएर मात्रै इन्स्टिच्युटबाट निर्देशनसम्बन्धी तालिम लिएका हुन् । उनका अनुसार, चीनमा राम्रा निर्देशकबाट फिल्म निर्देशनसम्बन्धी कक्षा लिन महँगो पर्छ ।

उनी नेपाललाई पवित्र भूमि मान्छन्, नेपालमा आउँदा उनलाई एक प्रकारको शान्तिको अनुभव हुन्छ ।

उनी निर्माता रहेको एउटा फिल्म छ, ‘द फस्र्ट अक्टोबर इन् मकाऊ’ । यो राष्ट्रवादी फिल्म हो । मिङ राजवंशका बेला (१५५७ मा) मकाऊलाई पोर्चुगलले वार्षिक रूपमा भाडामा लिएको थियो । अफिम युद्धपछि पोर्चुगलले आफ्नो अधीनमा राखेको मकाऊ २० डिसेम्बर १९९९ मा मात्रै चीनको अधीनमा आयो । 

मकाऊ पोर्चुगलको अधीनमा रहेका बेला चिनियाँ विद्यार्थीले लुकिछिपी मकाऊमा चिनियाँ झन्डा गाड्थे । यस फिल्ममा विद्यार्थीले चिनियाँ राष्ट्रिय दिवस (१ अक्टोबर)का अवसरमा मकाऊ पुगेर झन्डा गाडेको कथा छ । यस्ता राष्ट्रवादी कथा भएका फिल्म वा आफूले चाहेजस्तो फिल्म भए चीन सरकारले पनि सहयोग गर्छ ।

छियाङलाई आफ्नो ठाउँ (चुफङ) र नेपालको संस्कृतिलाई जोडेर, चीनका चर्चित कलाकार र नेपालका चर्चित कलाकार राखेर फिल्म बनाउन मन छ । ‘यो मेरो सोच वा कल्पना हो, यसलाई यथार्थमा परिणत गर्न समय लाग्छ । यो मेरो तेस्रो नेपाल भ्रमण हो,’ उनी भन्छन्, ‘मैले नेपालको कला–संस्कृतिलाई बुझ्न बाँकी नै छ, त्यसपछि मात्रै फिल्म बनाउने योजना अगाडि बढाउनेछु ।’

Fucin (2)

उनी नेपाललाई पवित्र भूमि मान्छन्, नेपालमा आउँदा उनलाई एक प्रकारको शान्तिको अनुभव हुन्छ । ‘धेरै चिनियाँ नेपालजस्तो शान्त र पवित्र भूमिमा आउन मन पराउँछन्,’ उनी भन्छन्, ‘यहाँ बुद्ध जन्मेको ठाउँ छ र हामी सबैले खोजेको सगरमाथा छ ।’

उनको अनुभवमा फिल्म बनाउने निर्देशकले सकेसम्म संसारभरिका चर्चित फिल्म हेर्नुपर्छ । उनले चिनियाँ र अन्य देशका गरी हजारौँ फिल्म हेरिसकेका छन् । फिल्म हेर्दा उनले कथा र मेकिङ प्रोसेजलाई ध्यान दिन्छन् । उनलाई यसपालिको फेस्टिभलमा हेरेको नेपाली फिल्म ‘चरी’ निकै सोलो (धिमा) लाग्यो । ‘त्यो फिल्ममा जति कथा आएको छ, त्यसलाई पूरा फिल्मको आधा समयमै भन्न सकिन्थ्यो,’ उनी भन्छन् । 

हामीकहाँ अधिकांश फिल्मको कथा अनुसन्धानमा आधारित हुँदैन, काल्पनिक मनगढन्ते कथाको पछि लागिन्छ । चीनमा फिल्म बनाउनुअघि कथामाथि कति अनुसन्धान गरिन्छ होला ? उनी भन्छन्, ‘खासखास कथामा फिल्म बनाउँदा रिसर्च गर्ने गरिन्छ । रिसर्च कुनै लामै हुन्छ, कुनै कम ।’

उनको बुझाइमा फिल्म उच्चस्तरको समष्टिगत कला हो, यसले कलाका विविध विधा समेटेको छ । त्यसैले समाजमा फिल्मको प्रभाव छिटो पर्छ । ‘फिल्मले मान्छेलाई केही गर्न उत्प्रेरित गर्नुपर्छ । फिल्म हेरेर मान्छेले दिमाग पनि चलाओस् । फिल्मले मान्छेको दिल छुन सक्नुपर्छ,’ उनले भने ।

उनलाई ट्राजिकमेडी (दुःख र हास्य मिश्रित) फिल्म मन पर्छ । उनको बुझाइमा, संसारमा उत्कृष्ट कहलिएका फिल्मको कथा ट्राजिडी (दुःखद घटना)मा आधारित छन् । उनी जोड दिँदै भन्छन्, ‘ट्राजिडीमा बढी शक्ति हुन्छ ।’ 

ट्राजिडी र कमेडीको कला पक्षलाई बुझाउन उनले उदाहरण पेस गरे– हिरामोतीहरूले भरिएको एउटा सुन्दर गिलास प्याट्ट फुट्यो भने देख्नेको मुहारमा दुःखसहितको हाँसो आउँछ । उनी पैसा कमाउने फिल्मभन्दा मानिसलाई सकारात्मक काम गर्न उत्प्रेरित गर्ने फिल्म बनाउन चाहन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप