शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सन्दर्भ : रंगभेद तथा जातीय विभेद उन्मूलन दिवस

जातको जग : गैरदलितहरू किन दलितमाथि खनिन्छन् ?

मङ्गलबार, ०७ चैत २०७९, १३ : २६
मङ्गलबार, ०७ चैत २०७९

राणाहरूमा ‘ए’, ‘बी’ र ‘सी’ वर्ग किन बनाइयो ? जवाफ सीधा छ– सत्ताका लागि ।   

आफ्नो शेषपछि आफ्ना भाइछोराहरूमा सत्ता प्राप्तिका लागि मारकाटको अवस्था नआओस् भनी जंगबहादुरले १९२४ मंसिर १० गते रोलक्रम (उत्तराधिकारी अधिनियम) बनाए । त्यस अनुसार उनले श्री ३ को पद आफूपछि आफ्ना छोराहरूमा र प्रधानमन्त्रीको पद आफ्ना भाइहरूमा जाने बनाए । उनले बनाएको रोलक्रममा पनि फेरबदल हुँदै आयो । आफू प्रधानमन्त्री भएपछि १९७७ सालमा चन्द्रशमशेरले धीरशमशेरका सन्तानलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरे– विधिपूर्वक विवाह गरिएकी जातभात मिल्ने क्षेत्री–ठकुर्नीपट्टिका सन्तान ‘ए’ वर्गमा, विधिपूर्वक विवाह नगरी ल्याइएकी जातभात मिल्ने क्षेत्री–ठकुर्नीका सन्तान ‘बी’ वर्गमा र जातभात नमिल्ने तर पानीसम्म चल्ने ल्याइते, रखौटी आदिबाट जन्मेका सन्तान ‘सी’ वर्गमा परे । 

भीमशमशेर प्रधानमन्त्री भएपछि रोलक्रममा परिवर्तन गरियो । उनले ल्याइतेपट्टिका छोरा हिरण्यशमशेर, रामशमशेर र सत्यशमशेरलाई रोलमा माथि चढाए । त्यसरी रोलमा चढाइएका  ‘सी’ वर्गका सबै शमशेर राणाहरूलाई पछि (१९९० चैत ५ गते) जुद्धशमशेरले राजधानीबाट निष्कासन गरी पोखरा, पाल्पा, धनकुटा, नेपालगन्ज र सप्तरीतिर बडाहाकिम बनाएर धपाए (यो प्रसंग डा. सूर्यमणि अधिकारीको पुस्तक ‘नेपालको इतिहास र समाज अध्ययनबाट लिइएको हो) । 

यहाँनेर, विवाहको नियम किन ल्याइयो ? यो प्रश्नको जग वर्ण–व्यवस्थासम्म पुग्छ । संसारमा सबैभन्दा बढी बहस धर्म र सत्ता चलाउनकै निमित्त हुँदै आएका छन् । वैदिककालमा धर्म चलाउने आरक्षण र सत्ता चलाउने आरक्षण लिन संघर्ष हुन थाल्यो । आर्यका राज्यहरूकै बीच मात्रै नभएर, सुर र असुरका नाममा युद्ध भइरहन्थे । त्यसैले चार वर्णको अवधारणा विकास गरियो र धर्म चलाउने आरक्षणमा वेदका मन्त्रसँग अभ्यस्तहरूलाई राखियो, सत्ता चलाउने आरक्षणमा सत्तासँग जोडिँदै आएकाहरूलाई राखियो । वैदिककालमा वैश्य र शूद्रको उत्रो भिन्नता थिएन । रामशरण शर्माको पुस्तक ‘शूद्रों का इतिहास’ अनुसार, रथनिर्माता, बढई, कुम्भकार वा कुम्हाल, लोहार, सर्राफ (सुन–चाँदीको काम गर्ने), चरवाहा (गाईवस्तु चराउने), गडेरिया (भेडा–बाख्रा पाल्ने), किसान, मद्यनिर्माता, मछुवा र सिकारीलाई वैश्य र शूद्रको कोटिमा राखिएको हुन सक्ने उल्लेख छ ।

सत्ताको संघर्ष यस्तो हुन्छ कि राणाकालमा आएर आफ्नै रगतबीच पनि विवाहका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ वर्ग बन्यो, आज त्यो वर्ग रहेको भए ? 

शूद्रहरूको काम वा पेसा धर्म र सत्ता चलाउने वर्गको सेवा गर्ने भयो । वर्ण व्यवस्थालाई व्यवस्थित बनाउन विवाह, भोजन र पेसाको नियम बनाएर वर्णसङ्कर बनाउने उपक्रम सुरु भयो । मनुस्मृतिमा कुन कुन वर्णबीच विवाह भएर जन्मेको सन्तान कुन वर्णको हुने भनी स्पष्ट तोकिएको छ । हिन्दु समाजमा चार वर्णबाट यति धेरै जात बन्नुमा सबैभन्दा बढी विवाहको नियम र स्त्रीको भूमिका रह्यो । यस इतिहासमा फरक वर्णमा विवाह गर्न कति स्त्रीले विद्रोह गरे, कति स्त्री बलात्कृत भएर वर्णसङ्करलाई जन्म दिए–यसको कुनै लेखाजोखा छैन । 

विवाहबाहेक भोजन र पेसाको पनि नियम बन्यो । सत्तासँग जोडिएका मानिसले नियमबमोजिम भोजन गर्न समस्या थिएन, तर गरिबीका कारण शास्त्रले अखाद्य मानेको भोजन खाएर हाम्रा कति पुर्खा वर्णसङ्करमा झरे, त्यसको पनि कुनै लेखाजोखा छैन ।

पेसाको कुरा गर्दा, दमाहा बजाएर दमाई हुनेको कथा धेरै पर पुग्दैन । प्रश्न उठ्छ, दमाहा बन्नुभन्दा अघि उनीहरू के थिए ? शूद्रको इतिहास दाससम्म पुग्छ । युद्धमा हारेकालाई दासदासी बनाउने, फोहोरी वा सानो मानिएको काम वा पेसामा लगाउने प्रचलन पुरानो हो । फोहोरमा काम गर्नेलाई अपवित्र मानी छुवाछुत गर्ने अभ्यास हिन्दू समाजमा हुँदै आयो । 

वैदिककालमा युद्धमा हारेकाहरू अधिकांश शूद्रमा परे । तिनै शूद्रका अनेक वर्ण वा जातहरू नै आज दलित बन्न पुगेका छन् । युद्धमा हारेकालाई दासदासी बनाउने चलनमा क्रमशः फेरबदल हुँदै आयो र गोरखाका राजा पृथ्वीनारायणले गोरखाका बाहेकका सबै हारेका मानिसलाई दासदासी बनाउने अवस्था रहेन, रहेको भए ?

सत्ताको संघर्ष यस्तो हुन्छ कि राणाकालमा आएर आफ्नै रगतबीच पनि विवाहका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ वर्ग बन्यो, आज त्यो वर्ग रहेको भए ? 

जंगबहादुरले १९१० मा जात अनुसार सजाय व्यवस्था हुने मुलुकी ऐन ल्याएका थिए, त्यो ऐन, २०२० मा आएर खारेज भयो तर कतिपय मानिसको दिमागबाट जातभातको विभेद मेटिएको छैन । 

इतिहासमा सत्ताधारी बहुसंख्यकले अरुको दिमागबाट संस्कार र संस्कृति नै मेट्न सक्छन् । यसमा लिम्बुहरूको उदाहरण हेरौँ । 

लिम्बुहरूका आदि पुरुष अर्थात् देवता ‘थेवा साम्माङ’लाई गाई वा गोरुको भोग अनिवार्य हुन्छ । लिम्बु भाषामा थेवाले बाजे र साम्माङले देवताको अर्थ दिन्छ । थेवा साम्माङलाई मुन्धुममा आधारित लिम्बु अनुष्ठान अनुसार दिइने भोगलाई ‘करङपित’ भनिन्छ । ‘करङपित’ले कोरली गाई वा बाच्छीको भोग भन्ने जनाउँछ । 

शासकहरूले चाहे भने कसरी अरुको संस्कृति ध्वस्त गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । यहाँनेर तपाईंको मनमा आउला, गाईको भोग किन गर्नुपर्‍यो ? यहाँ प्रतिप्रश्न गर्न सकिन्छ– गाईको मात्रै होइन, अन्य कुनै पनि प्राणीको भोग किन गर्नुपर्‍यो ? 

गोरखालीको अधीनस्थ भएदेखि लिम्बुहरूले आफ्ना कतिपय संस्कार संस्कृतिमा परिवर्तन गर्नुपर्‍यो । परिणामतः उनीहरूले ‘यो कोरली गाई है’ भन्दै फेदाङमामार्फत थेवा साम्माङलाई छिप्पिएको सुँगुर वा राँगा चढाउनुपर्‍यो । थेवा साम्माङलाई गाई वा गोरुको रगत नै चढाउनका लागि उनीहरूले गाई वा गोरुको रगत खाएर अघाएको किर्नाको प्रयोग गर्न थाले । 

रणबहादुर शाहले १८४३ साल जेठ सुदी २ सोमबार १७ जना लिम्बु सुब्बाहरूको नाममा लालमोहर जारी गरेका थिए । त्यस लालमोहरमा ‘हिजो गोवध गरेकोमा माफी दिएको उल्लेख गर्दै अब उप्रान्त गोवध नगर्नू’ भन्ने आदेश थियो । 

लिम्बु समाजमा विवाह गरी कर्मघर जाने महिलाले जन्मघरबाट एउटा देवता लिएर आउने चलनलाई मेफ्रमा भनिन्छ । मेफ्र अनुष्ठानमा पनि गाई गोरुको भोग अनिवार्य हुन्छ । गोवध प्रतिबन्ध भएपछि यस अनुष्ठानमा लडेर वा कालगतिले मरेको गाईको हड्डीबाट विधि पुर्‍याउने गरेका छन्, (यो प्रसंग राजकुमार दिक्पालको पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’बाट लिइएको हो) । 

शासकहरूले चाहे भने कसरी अरुको संस्कृति ध्वस्त गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । यहाँनेर तपाईंको मनमा आउला, गाईको भोग किन गर्नुपर्‍यो ? यहाँ प्रतिप्रश्न गर्न सकिन्छ– गाईको मात्रै होइन, अन्य कुनै पनि प्राणीको भोग किन गर्नुपर्‍यो ? 

संसारका मानिसले आ–आफ्नो संस्कार–संस्कृति मान्दै आएका छन् । एकातिर गाईको पूजा भइरहँदा अर्कोतिर कसैले गाई काटेर मासु खाइरहेको हुन्छ । हाम्रा पुर्खाले पनि सौत्रामणि यज्ञमा मदिरासँगै बाख्रा, भेडा र गोरुको बलि चढाउँथे, (यो प्रसंग डा. पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास’ भाग १ बाट लिइएको हो) ।

तीन हजार वर्षअघि नै आरक्षणमा आधारित वर्ण–व्यवस्था बनाएर ब्राह्मण र क्षत्रीलाई धर्म र सत्तामा अवसर दिइयो, अरुले पाएनन् । यसैको क्षतिपूर्ति, शासकले गर्दै आएको विभेदको क्षतिपूर्ति स्वरूप आज महिला, आदिवासी जनजाति, मधेसी, दलित आदिले आरक्षण पाउने व्यवस्था गरिएको छ ।

यसरी समुदायका संस्कार र संस्कृतिमा फेरबदल हुँदै आएका छन् । अझै पनि हाम्रो हिन्दू समाजबाट जातीय भेदभाव तथा छुवाछुत हट्न सकेको छैन । उसो त हाम्रो सरकारले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको कानुन ल्याएको, देशलाई छुवाछुतमुक्त घोषणा गरेको नै धेरै भएको छैन । 

गणतन्त्रपछि आरक्षण प्रणाली लागू गरियो । यसबाट सबैभन्दा बढी लाभ बाहुन–क्षेत्री महिला, नेवार, मगर, राईले लिएका छन् । मधेसी क्लस्टरबाट पनि त्यहाँका कथित उच्च जातले नै अवसर लिएका छन् तर मानिसहरू दलितको विरोध गर्छन् । खासगरी केही नबुझेका मानिसहरू फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा दलितविरुद्ध कराएर चर्चा कमाउन खोज्छन् ।  यस्तो किन हुन्छ ? किनकि अर्कोलाई सानो र कमजोर देखाएर आफू माथि पर्नु वा ठूलो भइरहनु मानिसको प्रवृत्ति हो । मानिसले आफूले देख्दै आएको, आफू बराबरको र आफूभन्दा तलको मानिस अगाडि बढेको देखिसहन्नँ, त्यसैले समाजमा प्रतिस्पर्धाका नियम बनाइने हो । 

तीन हजार वर्षअघि नै आरक्षणमा आधारित वर्ण–व्यवस्था बनाएर ब्राह्मण र क्षत्रीलाई धर्म र सत्तामा अवसर दिइयो, अरुले पाएनन् । यसैको क्षतिपूर्ति, शासकले गर्दै आएको विभेदको क्षतिपूर्ति स्वरूप आज महिला, आदिवासी जनजाति, मधेसी, दलित आदिले आरक्षण पाउने व्यवस्था गरिएको छ । र, हिजो कानुन बनाएर गरिएको विभेद आज कानुन बनाएरै हटाइएको छ । यसलाई सबै न्यायप्रेमीले बुझ्न आवश्यक छ । 

कतिले आज प्रश्न गर्छन्, बाहुन–क्षेत्रीलाई आरक्षण खोई ? उनीहरूलाई पनि जनसंख्याको आधारमा आरक्षण दिने हो भने, अहिले खुलाबाट जति पाइरहेका छन्, त्यो पनि खोसिने अवस्था सिर्जना हुन्छ । यो बुझेरै त्यस्तो व्यवस्था नगरिएको हुन सक्छ । जस्तो : महिलाको कोटामा अन्य जातका मानिस आइरहेका छन्, यसमा पनि जात तोक्ने हो भने यो बाँडिनेछ ।

आरक्षण एउटा अवस्थामा हटाउँदै जानुपर्छ, सधैँ जातको भावना लिइरहने हो भने, यसमा द्वन्द्व लम्बिरहने हुन सक्छ । अर्को, वर्गको कुरा उठ्छ, जागिर खानलाई पढ्नुपर्छ, पढ्ने मानिस अलिअलि धनी हुनैपर्छ । नत्र सरकारले वर्ग हेरी पढाउनुपर्‍यो, यसो गर्दा पनि समाजमा गरिबीको रेखामुनि दलित समुदायका मानिस नै बढी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप