शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ उपनिर्वाचन : गठबन्धन भए स्वतन्त्र उम्मेदवारी दिने माओवादीका कुशवाहको तयारी

मित्रवत् प्रतिस्पर्धामा जान कांग्रेसको सुझाव
शनिबार, ११ चैत २०७९, ११ : ५८
शनिबार, ११ चैत २०७९

बारा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा–२ मा निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि वैशाख १० मा उपनिर्वाचन तय भएको छ । यादवसँग झिनो मतले पराजित भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहले उपनिर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । झिनो मतले हारेकोले जनताले चुनाव लड्नुपर्ने बताएको उनको भनाई छ । सो निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहेका रामकिशोर यादव भने जसपा नेपालमा फर्किसकेका छन् ।

संविधान सभा सदस्यसमेत रहेका कुशवाहाले मधेसमा माओवादी कमजोर हुनुको मुख्य कारण पार्टी अध्यक्ष नै भएको आरोप लगाएका छन् । उनलेले राष्ट्रिय राजनीतिको नारा दिएर आफ्नै पार्टीका मधेसी नेताहरूलाई महत्त्व नदिने तर अन्य मधेसवादी दलका नेतालाई बढी महत्त्व दिने काम पार्टी अध्यक्ष प्रचण्डबाटै भएको टिप्पणी गरेका हुन् ।उपनिर्वाचनलाई लक्षित गर्दै कुशवाहले आफ्नै पार्टीभित्रबाट मधेसी  नेताहरूलाई माइनस हुने काम भए आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए ।

‘अध्यक्षले मधेसवादी दलका नेताहरू उपेन्द्र यादव,राजेन्द्र महतोलाई महत्त्व दिने तर आफ्नै पार्टीभित्रका एकसय एक मधेसी नेतालाई माइनस गर्ने काम गर्नुभएको छ जसका कारण मधेसमा माओवादी कमजोर बन्दै गएको छ,’ उनले भने, ‘आन्तरिक रूपमा ४ दलले उपेन्द्र यादवलाई नै समर्थन गर्ने निर्णय नै भइसकेको भन्ने छ, त्यो बारा–२ का जनतालाई स्वीकार्य छैन ।’

४ दलीय गठबन्धनबाट बारा २ मा उपेन्द्र यादवले उम्मेदवारी दिए पनि चुनाव हार्ने निश्चित भएको कुशवाहको दाबी छ । यता जनमत पार्टीका अध्यक्ष सिके राउतले उपेन्द्र यादव विरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिन अघि बाराको कलैयामा आयोजित एक कार्यक्रममा अध्यक्ष राउतले सप्तरी–२ का जनताले हराएर संसद्मा छिर्न अयोग्य देखाइदिएका यादव बारा–२ मा उम्मेदवारी दिएर चोर बाटोबाट संसद् छिर्न खोजेको आरोप लगाएका थिए ।

‘सिके राउतजीले आफै फोन गरेर मेरो पार्टीबाट टिकट लिएर चुनाव लड्दिनुस् भनिराख्नु भएको छ । म आफ्नै पार्टीमा संघर्ष गरिरहेको छु । पहिला अध्यक्ष प्रचण्डसँगै भेटेरै ४ दलीय गठबन्धन गरेर उपेन्द्र यादवलाई समर्थन नगर्नुस्, त्यसले मधेस प्रदेशमा माओवादी पार्टीमा लागेका मधेसी नेता माथि ठुलो अविश्वास हुन्छ भन्छु । त्यसपछि के निर्णय आउँछ त्यसकै आधारमा अघि बढ्छु,’  कुशवाहले भने ‘मेरो क्षेत्रमा जनताको माग छ तपाईंले चुनाव लड्नैपर्छ । पार्टीले सर्पोट नगरे स्वतन्त्र भए पनि लड्नुपर्छ भनेकोले जनताको भावना म पट्टी केन्द्रित छ ।’  उनले एमालेको जिल्ला तहबाट पनि आफूलाई उम्मेदवार बन्न प्रस्ताव आएको बताएका छन् ।

मित्रवत् प्रतिस्पर्धामा जान कांग्रेसको सुझाव

बारा निर्वाचन क्षेत्र नं २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका जिल्ला तहका नेताहरूले मित्रवत् प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् भने लोसपा र जनमत पार्टीले पनि आफ्नो उम्मेदवार उठाउने जनाएको छ । ‘जिल्ला तहका नेता कार्यकर्ताहरूमा मित्रवत् प्रतिस्पर्धा हुनुपर्छ भन्ने माग छ, तर हाम्रो माग जे जस्तो भए पनि केन्द्रको निर्णय मान्नैपर्छ,’ नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले भने, ‘हामीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेर पठाउँछौ । तर केन्द्रमा के निर्णय गर्छ त्यही मान्नुपर्छ ।’  

बारा –२ मा उपेन्द्र यादवको  उम्मेदवारीको चर्चा भएपछि लोसपा र जनमत पार्टीले पनि आफ्नो पार्टीबाट उम्मेदवार उठाउने जनाएको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा भने टुंगो नलागेको जनमत पार्टीका अध्यक्ष सिके राउतका स्वकीय सचिव राजेश मण्डलले जनाएका छन् । ‘हाम्रो अध्यक्ष फेरि केही दिनमा बारामा जाने कार्यक्रम छ, हाम्रो पार्टीले पनि उम्मेदवार उठाउने निर्णय गरेको छ तर कसलाई टिकट दिने भन्ने टुङ्गो लागेको छैन’ मण्डलले भने ।

गत निर्वाचनमा तत्कालीन जसपा उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेको एमालेले पनि  वैशाख १० को निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाएको छैन । जिल्लाको ४ वटा निर्वाचन क्षेत्र मध्ये २ नं क्षेत्र एमालेको कमजोर क्षेत्र मानिन्छ । यो क्षेत्रमा २ वटै प्रदेशसभा सदस्य जसपाबाट निर्वाचित भएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप