बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

शनिबार, ११ चैत २०७९, २० : ४३
शनिबार, ११ चैत २०७९

काठमाडौँ । कथाकार खगेन्द्र सङ्ग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला प्रकाशनद्वारा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक खगेन्द्र सङ्ग्रौला, साहित्यकार युग पाठक र सामाजिक अभियन्ता सरिता परियारद्वारा संयुक्तरूपमा उक्त पुस्तकको विमोचन भएको हो ।

पुस्तकमा विसं २०२७ देखि २०५० सम्म लेखिएका आठ कथाहरूको सङ्ग्रह समावेश गरिएको छ । नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यर्थाथ चित्रण कथाहरूमा समावेश गरिएको लेखक सङ्ग्रौलाले बताए ।

कथामा समावेश गरिएका समाज, राज्य व्यवस्था, संस्कृतिले ल्याएको दलितमाथि प्रयोग हुने अपमान शब्दहरू, पात्र, विषय प्रत्यक्षरूपमा देखिएका र अनुभव गरेको विषयवस्तुलाई समावेश गरिएको उनले जानकारी दिए । 

समारोहमा प्रतिष्ठानका कुलपति राईले कथा आवाजविहीनहरूको आवाज रहेको बताए । उनले भने, “दलितमाथि गरेको ज्यादति लेखकका कथामा रहेको छ । कथाबाट नेपाली समाजमा दलितले भोगेको पीडा उत्पीडनलाई उल्था गरेको छ । उनीहरूमाथि गरेको विभेद असह्य रहेकाले पुस्तकले त्यो अन्यायको अन्त्य गर्नुपर्ने आवश्यक छ ।”

लेखकले दलितमाथि लेखिएका आठ कथाभित्रका दलित महिलाविरुद्धको यौन शोषण, दलितले जीवन जिउनका लागि गरेको सङ्घर्ष, दमन, उत्पीडन, पीडा, दलितले दलित महिलालाई गर्ने व्यवहारलाई लेखकले न्यायसङ्गतरूपमा कथामा समेटेको अभियन्ता परियारले बताए ।

साहित्यकार युग पाठकले जात अनुकूल शक्ति संरचना बनाई दलितको आत्मसम्मानमा विगतमा आँच पुरयाएको तीतो यर्थाथतालाई कथामा समावेश गरिएको बताए । कथाका पात्र, चरित्रले नेपाली समाजको यथार्थ प्रतिविम्ब गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप