शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार रोदनलाई ‘लीलाध्वज स्रष्टा सम्मान’

आइतबार, १२ चैत २०७९, १४ : ३३
आइतबार, १२ चैत २०७९

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित एक कार्यक्रमार्फ श्रेष्ठलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरे । 
सो कार्यक्रमका अतिथिलाई स्वागत गर्दै वरिष्ठ साहित्यकार रामप्रसाद पन्तले भने, “कसैसँग तीतोपीरो नभएको, सबैसँग मिलनसार र नरम व्यक्तित्व हो उहाँ, सबैलाई सिर्जनामा प्रेरणा दिइरहने, साहित्यिक कार्यक्रमहरूमा पनि त्यति नै खट्ने व्यक्ति भएकाले यो सम्मान उचित व्यक्तिलाई भएको छ ।” 

यस्तै प्रतिष्ठानका अध्यक्ष विजय थापाले आफ्नो पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर आफूले पनि नेपाली साहित्यको श्रीवृद्धि गरेको बताए । “सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ,” उनले भने, “लीलाध्वज थापाको नाम नै ठूलो हो, पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्न पाएकामा मलाई खुसी लागेको छ ।” यसरी सम्मान गर्दा सानोठूलो, कालोगोरो, आफ्नो अर्काको नभनी सबैलाई समान व्यवहार गरेको उनले बताए । 

उनले सम्मानित स्रष्टा लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कका सम्पादक र गोरखापत्र दैनिकको प्रधान सम्पादकजस्तो जिम्मेवार पद सम्हालिसकेकाले यो पुरस्कारका लागि उनी उपयुक्त भएको  बताए । 
यसैगरी सम्मानित स्रष्टा श्रेष्ठले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नामबाट सम्मान पाउँदा ज्यादै खुसी लागेको बताए । “सहरदेखि टाढा दुर्गम स्थानमासमेत साहित्यको चेतना  फैलँदै जानुको कारण साहित्यप्रतिको प्रेमले हो, साहित्यकार कहिले बेइमान हुन सक्दैनन् र अमर हुन्छन्,” उनले भने, “प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको छ ।” 

सो कार्यक्रममा  प्राडा गोविन्दमान सिंह कार्की, मुकुन्द न्यौपाने, उत्तम विचार, लव खड्का,  जयराम बिडारी, रूवी सत्याल,  कात्यायन, सुशान्त केसी, बिन्दु अधिकारी ढकाल, कुमार नेपाल, कृष्णप्रसाद पौडेल, बिनुबाबा घिमिरे, द्वारिका ढुङ्गाना, ममता मृदुल, राजेन्द्र खनाल, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, नारायण भण्डारी जनकपुरी, वासुदेव ठकुरी, विनोद नेपाल, डा. बमबहादुर जिताली, सुन्दर खड्का, राजनप्रसाद न्यौपाने, प्रेममान डङ्गोल, सुशीला ढकाल अधिकारी, प्रकाश घायलले  आआफ्ना रचना वाचन गरेका थिए ।  

विश्व कविता दिवसका अवसरसमेत पारेर आयोजना गरिएको सो कार्यक्रममा वाचन गरिएका रचनाको मूल्याङ्कन गर्दै २९ जना स्रष्टालाई कदरपत्र प्रदान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप