बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

कोशीको सरकार ढाल्न काँग्रेस–माओवादीबीच नै विवाद

आइतबार, १२ चैत २०७९, १७ : ३६
आइतबार, १२ चैत २०७९

विराटनगर । संघीय सत्ता समीकरण अनुसार कोशी प्रदेशमा वर्तमान सरकार संकटमा परेको टिप्पणी हुँदै आएको छ । तर, अझैपनि एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्रको समर्थन कायमै रहेको छ । जबकि गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । यस्तै बागमती प्रदेशमा एमाले सरकारबाट बाहिरिएपछि माओवादीका मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिए ।   

कोशी प्रदेशमा संघीय गठबन्धनअनुसार माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने काँग्रेसको मनसाय देखिन्छ । तर, माओवादीले भने तत्काल एमाले नेतृत्वको सरकारबाट नबाहिरिने बताइरहेको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता एवं पार्टीका प्रदेश सभापति उद्धव थापाले मुलुकमा सत्ता समीकरणको खेल सुरु भइसकेको र कोशी प्रदेश पनि त्यसबाट बाहिर रहन नसक्ने बताए । 

 १० दलीय गठबन्धनको निर्णयको आधारमा कोशी प्रदेशमा पनि छिट्टै सरकार परिवर्तन हुने उनको दाबी छ ।  कोशी प्रदेश काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेस सरकारमा जान आवश्यक रहेको बताए ।

तर, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने तत्काल एमाले नेतृत्वको सरकारबाट माओवादी नबाहिरिने बताउँछन् । ‘अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ आङ्बोको तर्क छ, ‘अहिलेको सरकारमा माओवादी पार्टी सहभागी छ । अहिले तत्काल हामीले सरकारबाट हाम्रो मन्त्रीहरू फर्किने या सरकारलाई दिएको विश्वासको मत अहिले नै हामीले फिर्ता लिने पक्षमा हामी छैनौँ ।’

उनी कोशी प्रदेशको अवस्था विशिष्ट रहेको दाबी पनि गर्छन् । एमाले नेता हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारसँग आरामदायी बहुमत रहेको कारण काँग्रेसलगायतका दललाई समेटेर सर्वदलीय सरकार बनाउनु पर्ने आवश्यकता पनि नभएको उनको तर्क छ । नेपाली काँग्रेस कोशी प्रदेशसभाका शीर्ष नेताहरूले केही दिन अगाडि काठमाडौँमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भेट गरेका थिए । उनीहरुले सो भेटमा नयाँ सरकार बनाउने तरिका र टिकाउने उपायको खोजी गरेका थिए । काँग्रेस संसदीय दलका नेता उद्धब थापा, दलका उपनेता हिमाल कार्कीको नेतृत्वको टोलीले काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग भेट गरेको थियो । 

भेटका क्रममा कोशी प्रदेश सरकार निर्माणका विषयमा जानकारी गराएको दलका काँग्रेस दलका नेता उद्धब थापाले बताए । ‘हामीले प्रदेशको अवस्था यस्तो यस्तो छ के गरौँ, भन्ने विषयमा सामान्य छलफल गर्‍यौँ,’ उनले भने । कोशी प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिलेर बहुमत (६० सांसदको समर्थन) जुटाएर गत पुस २५ मा कार्की मुख्यमन्त्री बनेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ ।

वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदा अस्थिरताको दोष लाग्ने, मुख्यमन्त्री हात नलाग्ने, मन्त्री पदहरू धेरै बाँड्नुपर्ने परिस्थिति भन्दा एमालेसँग मिलेर अझै सम्मानजनक स्थितिमा आफूलाई उभ्याउने माओवादीको अर्को दाउ पनि देखिन्छ । यद्यपि राप्रपाले आफू नयाँ गठबन्धनमा आउन सहमत भएको अवस्थामा भने काँग्रेस, माओवादी, राप्रपा, नेकपा एस र जसपाको गरी ५३ सांसदको समर्थन प्राप्त हुन्छ । जुन प्रदेश सरकार गठनका लागि सहज बहुमत हो । त्यसका लागि राप्रपालाई फकाउन नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला आफैं लागिरहेको स्रोत बताउँछ । 

कोइरालाले केही दिन अगाडि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेर कोशी प्रदेश सरकार निर्माणको विषयमा छलफल गरेको स्रोतको दाबी छ । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक शक्तिकै नेतृत्वमा प्रदेशमा सरकार निर्माण भए आफ्नो पार्टी सहभागी हुनसक्ने बताएका थिए ।  यद्यपि उनले हालका काँग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वलाई भने अस्वीकार गर्ने बताएको कोइराला पक्षका नेताहरू बताउँछन् । त्यसका लागि काँग्रेसले दोस्रो व्यक्तिको नेतृत्वमा सरकार गठनको कसरत गर्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप