म हत्यारा हुँ

म हत्यारा हुँ
म हत्यारा हुँ आफ्नो सपनाको
थियो सपना उडेर क्षितिज पार गर्ने
तर तिम्रो नजरको जेलखानामा कैदी म
मेरो मनमा रहेकी तिमीलाई
आफ्नै पखेटा काटी प्वाँख उखाली
हजारौँ प्रेमपत्र र बिन्तिपत्र लेख्न
तल्लीन भएछु ।
आज हेर्छु, पखेटा बिनाको म
आफूलाई नाङ्गो देख्छु
त्यसै लुटिएको सपनाको कल्पनामा
विगतको रचना र भावनाबाट प्रेरणा लिई
कविता लेखिरहन्छु ।
प्रिय, तिमी नहेर न
ती मृग नयनी गाजलु आँखाले
तिम्रो नेत्र तीरको प्रहार
सहन नसकुँला म
उमेरको तापमा बलिरहेको मलाई
तिमीले यौवनको घिउ थप्दा
बरु जलेर भष्म हुन सक्छु म
तर आगोको भुङ्ग्रोमा
कोइला बनी रहन नसकुँला म
आज यी हातहरु थाकेका छन्
जिम्मेवारीका थैला बोकेर
नफिँजाऊ तिम्रा रेशमी केशहरु
हावाको लहरमा
यी हात तिम्रा केश सुम्सुम्याई
मीठो कल्पनामा डुब्न मान्दैन
हिजो तिम्रो चालमा फिदा यो मन
आज प्रभु प्रेममा लिप्त छ
त्यसैले, तिम्रो कोमल स्पर्श
र, यौवनको पोखरी
फुलमा भमरासरि रम्न जान्दैन ।
प्रियतम्
कुनै दिन बेहोशमा पनि
नखोल तिम्रो आँचल
मुहारको चमकले
घाम र जुन नै मलिन हुन सक्छ ।
नबाँध मलाई त्यो अङ्गालोमा
तिम्रो न्यानो स्पर्शले
कर्णालीजस्तो मेरो धड्कन
वेगनास र प्रशान्तसरि शालीन हुन सक्छ ।
किनकि हरेक सासमा तिमी छौ
तिमीलाई हरेक पाइला र चालमा देख्छु म
हरेक अक्षर अक्षरमा तिमी छौ
तिमीलाई नै पाना पानामा लेख्छु म ।
पाना पानामा लेख्छु म ।