सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

निमित्तको भरमा प्रदेश प्रहरी, डीआईजी बढुवामा ढिलाइ

एआईजी बढुवाको निर्णय पनि भएन
मङ्गलबार, २१ चैत २०७९, १४ : ०१
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । प्रदेश प्रहरीको कमान्ड प्रहरी नायव महानिरीक्षकले गर्छन् । २०७४ मा सरकारले प्रदेशमा पनि अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको थियो । तर, पछि फेरी डीआईजीलाई खटाउन थालिएको थियो । डीआईजीले कमान्ड गर्नुपर्ने प्रदेश प्रहरी कार्यालयहरूमा अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त तोकिएको छ । ३ वटा प्रदेश प्रहरीको कमान्ड निमित्तले गरिरहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला छन् ।  मधेस प्रदेशको निमित्त प्रमुखमा एसएसपी जनक भट्टराई र सुदूरपश्चिममा एसएसपी भरत बहादुर बोहरा छन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरले चैत १३ मा एसएसपीहरूलाई प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुख बनाएर काजमा खटाउने निर्णय गरेका थिए ।  नायब महानिरीक्षकहरूको सङ्ख्या थोरै भएकाहरूले सिनियर मध्येबाट एसएसपीलाई प्रदेशमा निमित्तको जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए । डीआईजी पोखरेल भन्छन्–‘अहिले डीआईजीको सङ्ख्या थोरै छ, त्यसैले केहि समयको लागी काजमा सिनियर एसएसपीहरूलाई प्रदेशमा खटाएका छौँ ।’   

प्रहरीमा २० जना डीआईजीको दरबन्दी छ । तीमध्ये १३ वटा महानिरीक्षक (डीआईजी)को पद रिक्त छ । अहिले प्रदेशमा ४ जना र प्रधान कार्यालयमा दुई जना डीआईजी कार्यरत छन् । डीआईजी दुर्गा सिंह नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत छिन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी पोषराज पोखरेल र डीआईजी रामदत्त जोशीलाई तत्कालीन गृहमन्त्री रवि लामिछानेले ६ महिना कार्यकाल पुरा हुनासाथ प्रदेशबाट सरुवा गरेका हुन् । 

प्रदेशमा खटिएका तीनजना एसएसपी डीआईजी बढुवा हुने मेरिट लिस्टमा अगाडी छन् । डीआईजीमा बढुवा गरेपछि उनीहरूलाई नै पदस्थापन गर्ने गरी काज खटाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । गृह मन्त्रालयको कमान्ड उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समालेका छन् । नयाँ मन्त्री आएसँगै डीआईजी बढुवा अघि बढ्ने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

चैत ६ मा मन्त्रिपरिषद्ले ५ जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा हुनेमा टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीसँगै बढुवा भएका वसन्त कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका छन् । चैत १३ मा चार जना डीआईजीहरु एआईजी पदमा बढुवा सिफारिस भए । 

लामो समयदेखि रिक्त एआईजीमा बढुवासँगै डीआईजीमा रिक्त पदसंख्या १३ पुगेको हो । नायव महानिरीक्षकमा बढुवा हुन प्रहरी वरिष्ठ उपरीक्षकहरुबीच तीव्र प्रतिस्पर्धा छ ।

डीआईजी बढुवा हुने मेरिट लिस्टको पहिलो नम्बरमा जनक भट्टराई छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका कमान्ड गरेका भट्टराई ‘गोठाटार हत्याकाण्ड’को अनुसन्धान समितिका संयोजक थिए । तर, भट्टराई नेतृत्वको टिमले अनुसन्धान पुरा गर्न सकेन ।

भट्टराई सहित १० जना २०७७ वैशाख १७ मा वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । उनीहरू डीआईजी हुने प्रतिस्पर्धामा छन् । विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञ विनोद पोखरेल र चन्द्र कुवेर खापुङ बरीयतामा अगाडि छन् ।

२०७७ माघ र २०७८ मंसिरमा बढुवा भएकाहरू पनि डीआईजी बढुवाको तीव्र प्रतिस्पर्धामा छन् । अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, चक्रबहादुर सिंह र विकाश राज खनाल डीआईजी बढुवा हुने प्रतिस्पर्धामा छन् ।

एआईजीको निर्णय भएन

चैत १३ मा बढुवा समितिले चार जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिस हुनेमा सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङ छन् ।

बढुवा सिफारिस अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । तर, सोमबार बसेको मन्त्रिपरिषद्मा एआईजी बढुवा गर्नेबारे फाइल पेस भएन । बिहीबार बस्ने मन्त्रिपरिषद्मा एआईजी बढुवा सिफारिसलाई निर्णयको लागी पेस गरिने गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेले रातोपाटीलाई बताए । बस्नेतले भने–‘बिहीबार हुने मन्त्रिपरिषद्मा एआईजी बढुवा र पदस्थापन गर्नुपर्ने फाइल पेस हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप