आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रौतहटमा तनाव, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

बुधबार, २९ चैत २०७९, १६ : ०७
बुधबार, २९ चैत २०७९

रौतहट । रौतहटमा झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । गरुडा नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि आक्रमण भएसँगै हवाई फायर भएको हो ।

दीपक यादव नेतृत्वको समूहले गरेको प्रदर्शनका क्रममा तीनजना प्रहरी र एकजना स्थानीय घाइते भएसँगै प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको थियो । अवस्था साम्य पार्न प्रहरीले १६ राउण्ड हवाई फायर गरेको  इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल कामतीले बताए।

प्रहरीले दीपक यादवसहित चारजनालाई नियन्त्रणमा  समेत लिएको छ ।  दर्जनौं मानिसको समूह लिएर गएका यादवले नगरालिकाको कार्यालय अगाडि विभिन्न भड्काउ भाषण गरिरहेका थिए। सोही क्रममा सो समूह तोडफोडमा समेत उत्रिएको थियो ।

सोक्रममा प्रदर्शनकारीले प्रहरीमाथि एक्कासि ढुङ्गा मुढा गर्न सुरु गरेपछि झडप सुरु भएको थियो।

यसैबीच प्रहरीको गोली लागेर गजेन्द्र यादव घाइते भएको दीपकले बताएका छन्। गोली यादवको काँखीमा लागेको बताइएको छ। उता डिएसपी कामतीले गजेन्द्र यादव घाइते भएपनि गोली लागे नलागेको भने यकीन नभएको बताए । घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ ।

पछिल्लो समय दीपक यादव गरुडा नगरपालिकाबाट विभिन्न सूचनाको माग गर्दै आन्दोलनमा छन् । उनी सूचना माग गर्दै आमरण अनसन समेत बसेका थिए । उनको माग अनुसार दिन मिल्ने सूचना दिएको तथा भोलि सार्वजनिक सुनुवाइ कार्यक्रम समेत आयोजना गरेको अवस्थामा आज सो घटना हुन पुगेको हो । 

rr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप