आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा मन्त्रीको भागबण्डा विवाद साम्य, यसरी मिल्यो कुरा

शुक्रबार, ०१ वैशाख २०८०, १८ : १६
शुक्रबार, ०१ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा मन्त्री भागबण्डाले निम्त्याएको विवाद साम्य भएको छ । पार्टीभित्र मन्त्री भागबण्डामा शेखर कोइराला–गगन थापा पक्षले ३३ प्रतिशत हिस्सा पाएपछि विवाद किनारा लागेको हो ।

सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पेलेर जान खोजेपछि शेखर कोइराला–गगन थापा समूह असन्तुष्ट थियो । शेखर–गगन समूहले मन्त्रीको नाम नपठाएपछि चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा कांग्रेसबाट चार जनाले मात्र शपथ लिएका थिए ।

उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस संघीय सरकारमा सामेल छ । यस्तै, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भए । गठबन्धनमा भएको मन्त्रालय भागबण्डा अनुसार कांग्रेसबाट थप ४ मन्त्री र एक राज्यमन्त्रीको शपथ चैत १७ मा आन्तरिक विवादकै कारण रोकियो ।

कांग्रेसको भागमा परेका परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ  । जसपाको भागमा रहेको वन तथा वातावरण मन्त्रालय र जनमतका अब्दुल खानले राजीनामा दिएपछि रिक्त खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री रहेको बताए । उनले भने, ‘कांग्रेसबाट मन्त्री बन्नेको नाम नआउँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब भएको हो । नेपाली कांग्रेसका सभापतिले आज–भोलि नै मन्त्रीको नाम पठाउने मैले बुझेको छु । अब छिटै सरकारले पूर्णता पाउँछ ।’

सरकारलाई पूर्णता दिने सन्दर्भमा गत बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उनका अनुसार देउवाले पार्टीको असन्तुष्ट पक्षलाई मिलाएर छिटै मन्त्री बन्नेहरुको नाम पठाउने बताएका थिए । प्रचण्डसँगको छलफलपछि सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग संवाद गरेका थिए ।

देउवाले तीन मन्त्री र एक राज्यमन्त्री दिने संकेत गरेपछि बिहीबार बिहान शेखर–गगन समूहको बैठक बसेको थियो । बैठकमा नेता कोइराला र महामन्त्री थापाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति देउवासँग छलफल भइरहेको ब्रिफिङ गरेका थिए ।

नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफू पक्षीय सांसदहरूको बैठकमा उनीहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउने ब्रिफिङ गरेका कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले रातोपाटीलाई बताए ।

यस्तै नेता दीपक गिरिले मापदण्डका आधारमा मन्त्री छनोट गरी सभापतिलाई बुझाउने सहमति बैठकमा भएको बताए । उनले भने, ‘मन्त्री छनोटको मापदण्ड बनाउने कुरा भएको छ । पदाधिकारी मात्र पठाउने वा प्रदेश र समुदायको प्रतिनिधित्व गराउने भन्ने विषयमा छलफल भयो ।’

प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई ९ मन्त्री र एक राज्यमन्त्री दिन तयार भएपछि शेखर–गगन समूहलाई तीन मन्त्री दिन सभापति देउवालाई केही सहज भएको देखिन्छ । कांग्रेस सहमहामन्त्री पाण्डेका अनुसार सत्ता गठबन्धनमा कांग्रेसले थप एक मन्त्रालय पाउने शेखर कोइरालाको पनि आशय थियो ।

सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ ।

बाँकी मन्त्रालयमा नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, दिपक गिरी, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता प्रदीप पौडेललाई मन्त्री बनाउन लबिङ गरेको कांग्रेस वृत्तमा चर्चा छ ।

सह–महामन्त्री पाण्डेले मन्त्री कसलाई बनाउने भन्ने विषयमा बिहीबारको बैठकमा कुनै निर्णय नभएको बताए । आफू पक्षीय सांसदसँगको छलफलपछि बिहीबार नै शेखर कोइराला सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

सभापति देउवा र नेता कोइरालाबीच छुट्टै मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउन सहमति भएको छ । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘अब चाँडै मन्त्रीको नाम सिफारिस गर्छौँ । उता (शेखर–गगन समूह) पनि मन्त्री बन्नेको नाम आउलाजस्तो छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप