उपनिर्वाचन : भोलिदेखि ३ दिनका लागि सीमा नाका बन्द
बारा । यही वैशाख १० गते हुने प्रतिनिधिसभा अन्तर्गत उपनिर्वाचन लक्षित गर्दै नेपाल भारत सीमा नाका बन्द हुने भएका छन् । बारा जिल्लासँग जोडिएका नेपाल भारतका सीमा नाका बिहीबार रातिदेखि ३ दिनका लागि बन्द हुने भएका हुन् ।
बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जारी गरेको सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ गते राती १२ देखि १० गते साँझ ७ बजेसम्मका लागि सम्पूर्ण आवागमन बन्द गरिने उल्लेख छ ।
यस्तै जिल्ला सुरक्षा समितिको बैठकले मंगलबारदेखि १० गतेसम्म जिल्ला भरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ ।
यही वैशाख १० गते मतदानको दिन एम्बुलेन्स, दूध तथा औषधी बोकेका सवारी, खानेपानीका ट्याकर, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा ,कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिएका छन् ।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दुष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको यस्तो आदेश गरिएको हो ।
वैशाख १० गते बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण