शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
आमाको मुख हेर्ने दिन

‘५ वर्षकै उमेरमा आमा गुमाएँ, सम्झिदा आँखा भरिएर आउँछ’

‘हजुरबुबाले भनेको सुनेर होला, म पनि आमालाई दुलही भन्थेँ’
बिहीबार, ०७ वैशाख २०८०, ११ : १४
बिहीबार, ०७ वैशाख २०८०

‘आमा’ को बारेमा संसारमा यति धेरै वर्णन गरिएको छ कि भनी साध्य छैन । ‘आमा’ एउटा यस्तो शब्द हो, जुन उच्चारणमा सम्मान र न्यानोपन महसुस हुन्छ । आमाको बिषयमा जति शब्द खर्चिए पनि कम हुन्छ । आमा जननी हुन् । त्यसैले, उहाँलाई मातृभूमिसँग पनि तुलना गरिन्छ । आमाको जस्तो निस्वार्थ प्रेम सायदै कसैले देला ।

मिति ठ्याक्कै याद भएन, मेरी आमाले यो संसार छाडेर जाँदा म ५ जम्मा वर्षको थिएँ । त्यसैले, आमाको थोरै मात्र स्मृति छ मसँग । ५ वर्षको बालापनको उमेर भएकाले याद नहुनु स्वाभाविकै हो । 

मेरो हजुरबुबाले मेरी आमालाई दुलही भनेर बोलाउनु हुन्थ्यो, यो कुरो भने याद  छ । हजुरबुबाले भनेको सुनेर होला, म पनि आमालाई दुलही भन्थेँ । दुलही भन्दै पछि पछि लागेको केही केही याद छ ।

हालको चन्द्रागिरि नगरपालिका दहचोकमा मेरो घर थियो । आमा भाइलाई जन्मदिने तयारीमा थिइन् । गुजुर्धाराबाट घरसम्म मोटर बाटोको सुविधा थिएन । भाइको जन्मका लागि आमालाई बेहुली बोक्ने उलिनकाठमा राखेर त्यो समय अस्पतालमा लगिएको थियो । त्यो पनि अलिअलि सम्झना छ । त्यसपछि मैले आमालाई कहिलै देख्न र भेट्न पाइनँ । 

आमा अस्पतालबाट फर्किएर आउनु भएन । त्यो समय घरमा धेरै मान्छे रोएको देख्थे । किन केका लागि रोएका थिए, बुझ्दैनथे । केही रुँदै मलाई काखमा लिन्थे । मैले आमाको विषयमा सोध्दा ‘तेरी आमा गई’ भनेको पनि अलि अलि याद छ । त्यो बाहेक आमाको केही सम्झन छैन ममा ।

अनि सम्झिन्छु आमा

‘तेरी आमा रहिन’ भन्दा पनि म त्यो समय रोइनँ । किनभने त्यो समय ममा त्यो समवेदना बुझ्ने बुद्धिको विकास भएकै थिएन । केवल ‘आमा खोइ’ भन्थे । कतिपयले के के भनेर भुलाउँथे । मलाई आमाको महत्त्वको बोध थिएन । ५ वर्षको बालकमा त्यो  होस् पनि कसरी ? 

त्यो समय किन बुबा रुनु भएको, किन मेरा आफन्तजन रोएको ? भनेर सोच्थे । त्यही मात्र सामान्य फिलिङ थियो ।

मेरो घरको छत उघारिएको, मैले जिन्दगीको छत गुमाएको पत्तै पाइनछु । आमाको दूध खान दुलही बुबु, दुलही बुबु भन्दै पछि लागेको बाहेक केही पनि याद छैन अहिले पनि ।

मानिस जन्मजात स्वार्थी हुँदो रहेछ । जब जिन्दगीको संघर्षमा हन्डर ठक्कर मिल्यो, हार आइलाग्यो र आफू कमजोर ठहरियो भने मान्छेलाई आमालाई सम्झिने रहेछन् । 

तर म मेरी आमा हुनुहुन्न भन्ने कहिल्यै फिल गर्दिन । चौबीसै घण्टा आमा मेरो वरपर हुनुहुन्छ, आशीर्वाद दिइरहनु भएको छ भन्ने लाग्छ । किनभने म हरेक काम गर्दा आमाको सम्झना साथमा राख्छु ।

मेरो सिरियल होस् वा फिल्म । मेरो आमा सबैमा जोडिनु भएको छ । मेरो आमाको नाम सरस्वती थियो । त्यसैले मैले प्रोडक्सन कम्पनीको नाम आमाकै नामबाट आमा सरस्वती मुभिज राखेको छु । यस कारण पनि मलाई मेरो आमाले सधैँ सहयोग गरिरहनु भएको फिल हुन्छ । 

आमा साथमा भएको फिल्म भएकोले होला, कठिन भन्दा कठिन समय पनि सजिलै पार पाउँछु । म आस्तिक हुँ । त्यस कारण पनि आमा म सँगै हुनुहुन्छ भन्ने फिल गर्छु ।

नभएपछि महत्त्व धेरै

कतिपय मानिस आमा गुमाएपछि उहाँ भएको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने गरेको सुनेको छु । म पास्टमा कहिल्यै विश्वास गर्दिन । पाष्ट सम्झेर यस्तो भएको भए भन्ने मानिस मानसिक समस्याबाट गुज्रिन्छ जस्तो मलाई लाग्छ । चाहे त्यो आमाको सम्झना होस् वा अन्य । किनभने पाष्ट इज पाष्ट । बिगतमा आफूलाई लैजानु भनेको पीडाको भारी बोक्नु मात्र हो ।

मेरो आमा अहिले भइदिएको भए ‘ए आमा भात दिनु’ भन्थे होला । आमाको महत्त्व बुझ्दिनथे होला । अहिले मैले आमाको महत्त्व राम्रोसँग बुझेको छु । किनभने उहाँ मसँग हुनुहुन्न नि ।

संसारमा त्यो चिजको महत्त्व हुँदो रहेछ, जुन आफूसँग हुँदैन । आमाको महत्त्व आमा नहुनेलाई जति अन्यलाई थाहा नहुन सक्छ । त्यसैले, आमा भइदिएको भए कस्तो हुन्थ्यो होला भन्दिन म । 

आमा भइदिएको भए अहिलेको मेरो उपलब्धिमा खुसी हुनुहुन्थ्यो होला । त्यो त अहिले जहाँ भए पनि हुनुहुन्छ होला । मेरो आमाले जिन्दगीमा धेरै दुःख गर्नुभयो, सुख भोग्न पाउनु भएन । त्यो कुरोको दुःख लाग्छ ।

जति बेला आमा गुमाएँ । त्यो समय हाम्रो परिवारको आर्थिक अवस्था सबल थिएन । गाउँमा धेरै दुःख थियो । उहाँले दुःखको धेरै भारी बोक्नु भयो । छोराछोरी जन्माएर बित्नु भयो । आमा बाँच्नु भएको भए उहाँले त्यो दुःखको भारी अझै १५÷२० वर्ष भोग्नु पर्थ्यो । मलाई लाग्छ, मृत्युले उहाँ त्यो दुःखबाट पनि मुक्त हुनु भयो । त्यस कारण, यस्तो भएको भए, उस्तो भएको भए, यो हुन्थ्यो, त्यो हुन्थ्यो भन्ने कुरो म कहिल्यै गर्दिन ।

सम्झिदैमा आँखा भरिए

धेरै दुःख, पीडा र संघर्षको समयमा आमाको याद बढी आउँदो रहेछ । मेरो अनुभवमा अत्यधिक सफलताको समयमा पनि सम्झना आउँदो रहेछ । त्यसैले, म बाहिर बाटोमा, फिल्म हलमा जहाँ कहीँ पनि आमाहरू देख्दा, भेट्दा आफ्नो आमा देख्छु, त्यहीअनुसार व्यवहार गर्छु ।

यो सम्झना भन्ने चिज कुन बेला कसरी आउँछ भन्न नसकिने रहेछ । मेरो पनि आमा सम्झेर रोएको धेरै क्षण छन् । आमाको कुरा गर्दा पनि आँखा रसाएर आउँछ । अहिले यी कुरा गर्दै गर्दा पनि मेरो आँखा रसाइसके ।

मेरी आमाको अनुहार यस्तो थियो भन्ने याद त छैन । आमाको एउटा फोटो पनि छैन मसँग । अन्तिम अवस्थाको एउटा फोटो थियो रे । त्यो पनि छोराहरूले हेर्लान् र पीडा बोध होला भनेर बुबाले च्यातिदिनु भएछ । आमा मृत्युशैयामा भएको एउटा फोटो एक पटक हेरेको थिएँ, त्यो भने अलि अलि याद छ । 

बुढापाकाको भनाईअनुसार गाउँमा मेरो आमा सर्वप्रिय हुनुहुन्थ्यो रे । सबैलाई माया गर्ने, धेरै राम्रो शिलस्वभाव भएको, टोल तथा गाउँभरि सबैले रुचाउने हुनुहुन्थ्यो रे । यसले नै धेरै खुसी दिन्छ ।

अभिनयका ‘तीन आमा’

म कलाकार हुँ । हामी कलाकारको रियलको अलावा रिलको आमा पनि हुन्छन् । मेरो पनि रिल लाइफका केही आमा छन् । अभिनयमा मेरो लागि सबैभन्दा धेरै पटक आमा बन्ने लक्ष्मी गिरी दिदी हुनुहुन्छ । उहाँ ‘तीतो सत्य’मा पनि आमा बन्नु भएको थियो । केही फिल्ममा पनि आमा बन्नु भएको छ । 

त्यसपछि आमाको भूमिकामा अभिनय गर्ने रमा थपलिया हो । उहाँ फिल्म ‘सुन्दर मेरो नाम’ र ‘छ माया छपक्कैमा’ आमाको भूमिकामा हुनुहुन्थ्यो ।

अर्को अभिनयको मेरो आमा वसुन्धरा भुसाल पनि हो । उहाँ ‘छक्का पन्जा’मा आमा बन्नु भएको थियो । अभिनयमा आमा बनेका यी तीनै जना भेट्दा मलाई आफ्नै आमा भेटेको जस्तो फिल हुन्छ । 

रमा दिदी भेट्दा आमा भनेर बोलाउँछु र ढोग्छु । उहाँ मायालु पनि हुनुहुन्छ । लक्ष्मी दिदी माया गर्ने, गाली गर्ने, थर्काउने, हप्काउने, चित्त दुखाउने र आफै कुनामा बसेर रुने हुनुहुन्छ । उहाँ फुल प्याकेज आमा हो । उहाँहरूलाई भेट्दा साँच्चिकै आमा भेटे जस्तो लाग्छ । 

आमा सम्झने दिनमा मैले अभिनयका यी तीनै आमाहरूको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर सम्मान समेत व्यक्त गर्ने गरेको छु । 

(कलाकार दीपकराज गिरीसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपकराज गिरी
दीपकराज गिरी
लेखकबाट थप