आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

ढल्यो गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

शनिबार, ०९ वैशाख २०८०, १८ : ३८
शनिबार, ०९ वैशाख २०८०

कास्की । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढल्न पुगेको हो । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । 

तर, विश्वासको मत लिँदा उनले जम्मा २४ मत मात्रै पक्षमा पाए । यस्तै विपक्षमा ३५ मत पर्यो । प्रदेशसभामा भएको भोटिङमा जम्मा ५९ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

यससँगै विश्वासको मतसम्बन्धी मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरे ।

अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको थियो ।

गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप