सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

उपकरणको अभावले डढेलो नियन्त्रणमा समस्या

सोमबार, ११ वैशाख २०८०, १२ : २२
सोमबार, ११ वैशाख २०८०

रुपन्देही । रुपन्देही, कपिलवस्तु र पाल्पा जिल्लामा पर्ने चुरे क्षेत्रका सामुदायिक, निजी तथा राष्ट्रिय बनमा यति बेला धेरै ठाउँमा डढेलो (आगलागी) लागेको छ । सबैभन्दा धेरै पाल्पाका विभिन्न वनहरूमा डढेलो लागेको सरोकारवालाहरू बताउँछन् । गुल्मीका विभिन्न ठाउँमा पनि आगलागी भएको छ ।

खडेरीका कारण बन जङ्गलमा आगलागीका घटना बढेको भए पनि उपयुक्त आवश्यक उपकरण नहुँदा आगलागी नियन्त्रणमा भने समस्या देखिएको छ ।

बनको आगो निभाउने प्रयास भए पनि पर्याप्त उपकरणको अभावमा नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय बासिन्दाको भनाइ छ । हावाहुरीसँगै डढेलो पनि तीव्र गतिमा बस्ती भएका क्षेत्रमा पुगेको र निभाउन स्थानीय बासिन्दालाई सकस भएको छ । डढेलो निभाउन स्थानीय बासिन्दाले स्याउला, सोतर, दाँते, उपलब्ध भए पानीको प्रयोग गर्दै आएका छन् ।

केही दिनयता पाल्पा जिल्लाभरका वनमा डढेलो लाग्ने क्रम बढेको छ तर नियन्त्रण ल्याउन समस्या भइरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । यस पटक विगतको तुलनामा डढेलो अत्यधिक बढेको डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले बताए । उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष डढेलो अत्यधिक बढेको छ, यस पटक पहिले डढेलो नलाग्ने स्थानमा पनि घटना भएका छन् ।’

dadelo pic

जता त्यतै डढेलो लागेपछि बस्ती जोगाउन स्थानीय बासिन्दा र डढेलो नियन्त्रण टोलीलाई अप्ठेरो परेको छ । ‘जता त्यतै डढेलो लागेपछि बस्ती जोगाउनतिरै लाग्नुपर्ने अवस्था छ, वन जोगाउनै सकिएको छैन डिभिजन वन कार्यालयका टास्क फोर्स प्रमुख उपेन्द्र अर्यालले गुनासो गरे ।’ डढेलो प्रायः चुरे तथा उच्च पहाडी क्षेत्रमा लागेकाले निभाउन पानीको अभाव भएको उनले उल्लेख गरे । यसका साथै खोच तथा पहाडका अप्ठेरो स्थानमा निभिसकेको आगो पुनः सल्कने गरेको उनको भनाइ छ ।

तानसेन नगरपालिका र तिनाउ गाउँपालिकाका सामुदायिक वनमा सबैभन्दा बढी आगलागी भएको छ । रैनादेवी छहरा र रिव्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेको छ । माथागढी, पूर्वखोला, रामपुर, रम्भा, तानसेनमा गरी ६० स्थानमा आगलागीका घटना भएको जिल्ला बन कार्यालय पाल्पाले जनाएको छ । गत वर्ष आगलागी हुने अवधिमा पाँच स्थानमा मात्र डढेलो लागेको थियो ।

डढेलो नियन्त्रण गर्न आवश्यक उपकरण, दमकल नहुँदा आगलागी नियन्त्रणमा ल्याउन कठिन रहेको स्थानीय डढेलो नियन्त्रण टोलीले जनाएका छन् । उपभोक्ताले सोतर, स्याउला, दाँतेको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् । पछिल्लो समय बाँदर, दुम्सी तथा अन्य वन्यजन्तुको समस्याबाट पीडित बनेका उपभोक्ताले जानाजान आगलागी गराएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।

यो वर्ष पहिले डढेलो नलाग्ने स्थानमा पनि डढेलोका घटना भइरहेको पाल्पा प्रहरीले जनाएको छ । वन्यजन्तुको आक्रमणबाट बच्न डढेलोका घटना स्थानीय बासिन्दाबाटै भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले आशङ्का व्यक्त गर्दछन् । पाल्पामा यस पटक धेरै स्थानमा आगलागी भएकाले डढेलो नियन्त्रणमा प्रहरीले अनावश्यक समस्या झेल्नु परेको उनको अनुभव छ ।

dadelo pic 2

यसैबीच गुल्मीका विभिन्न ठाउँमा आगलागी भएको छ । गुल्मीको धुर्कोटस्थित हाड हाडेमा लागेको वनको डढेलो बस्तीमा पस्न लागेपछि गाउँलेले निभाउन जाँदा दुई जनाको निधन नै भएको छ । आगोले जलेका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लाका चुरे क्षेत्रका बनमा पनि आगलागी हुने क्रम बढेको छ । लुम्बिनी प्रदेशको वन मन्त्रालयको तथ्याङ्क अनुसार यो वर्ष लुम्बिनी प्रदेशका ९७ स्थानमा आगलागी भएको छ । तर आगो निभाउने उपयुक्त उपकरणको अभावमा स्थानीय तथा प्रहरी प्रशासनलाई आगलागी नियन्त्रण गर्न समस्या भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप