सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन प्रभु साहको माग

बुधबार, १३ वैशाख २०८०, १६ : ३३
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले विपद् व्यवस्थापनबारे भइरहेको पूर्वतयारीबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । रौतहटलगायतका जिल्लाहरुमा आगलागीका घटना दिनहुँ भइरहेको उल्लेख गर्दै उनले त्यसको न्यूनीकरणका लागि सरकारले के गरिरहेको छ ? भनि प्रश्न समेत गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै अध्यक्ष साहले रौतहटका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

‘प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न के भइरहेको छ ? हामी जान्न चाहन्छौं । दिनदिनै आगलागीका घटनाहरु सुनिरहेका छौं । रौतहटमा आगलागीबाट १३ वर्षीया बालिकोका निधन नै भयो । यसरी कुनै दिन छैन कि आगलागीको घटना नभएको सुनियोस् । त्यसैले यो घटनालाई न्यूनिकरण गर्न, यसलाई रोक्न विपद् व्यवस्थापनको जिम्मा पाएका निकायहरुले के गरिरहेका छन ? जान्न चाहन्छौं हामी’ अध्यक्ष साहले भने, ‘अहिले मात्रै होइन । वर्षेनी यो घटनाहरु दोहोरिरहेका छन् । केही महिना अघि शीतलहरबाट मान्छे मरेको सुन्थ्यौं । अहिले आगलागीबाट मान्छे मरिरहेको छ । केही दिन नबित्दै अब असिना र हावाहुरीले मान्छे मर्छन् । फेरि वर्षा आउँछ । पहिरो, बाढीले मान्छे मर्छ । यसको अग्रिम तयारी कसले गर्ने हो, कहिले गर्ने हो ? के भइरहेको छ ? हामी जान्न चाहन्छौं ।’ 

उनले वर्षा लाग्न सुरु भइसकेको उल्लेख गर्दै त्यसबाट हुने क्षति न्यूनीकरणका लागि पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिलेसम्म पीडितहरुले न्याय पाएका छैनन् । रौतहटमा आगलागि पीडितहरुले राहत पाएका छैनन् । उनीहरुले अर्काको घरमा र आकाशमुनि त्रिपालमा जीवन जीउनु परेको छ । अव वर्षा आउँदैछ । ठूलो क्षति हुन्छ । यसको पूर्व तयारी कसरी गरिरहेको छ नेपाल सरकारले ? जान्न पाए हुन्थ्यो ।’  अध्यक्ष साहले वर्षेनी विपद आउने तर सरकारले आवश्यक सावधानी नअपनाएकै कारण नागरिकको ज्यान जाने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप