बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युनेस्को र विश्व प्रेस जगतसँग ईन्जाको ऐक्यबद्धता

बुधबार, २० वैशाख २०८०, ०९ : ५४
बुधबार, २० वैशाख २०८०

वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जाले विश्वभर छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघअन्तर्गत युनेस्को र विश्व प्रेस जगतसँग ऐक्यबद्धता जनाएको छ । 

अभिव्यक्ति स्वतन्त्रता मानवअधिकारको मुख्य अंश भएकाले यो स्वतन्त्रताको रक्षाका लागि युनेस्कोले मे २ देखि ५ तारिखसम्म न्यूयोर्कमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व प्रेस स्वतंत्रता दिवस मनाइरहेको छ । यसै अवसरमा युनेस्कोसंग ऐक्यबद्धता जनाउँदै ईन्जाले प्रेस नोट जारी गरेको हो । 

जारी नोटमा ईन्जाले भनेको छ– विश्वमा सरकारहरु प्रेस जगतप्रति अनुदार हुँदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुण्ठित भैरहेको छ भने अर्कोतर चौथो अंगको रूपमा रहेको सञ्चारले निर्बाध रूपमा अभिव्यक्ति स्वतन्त्रतामार्फत समाजलाई योगदान दिन नसकेको हुँदा यसतर्फ ईन्जा विश्वका सरकारहरुको ध्यानाकर्षण गर्दछ ।

युनेस्कोले आयोजना गरेको ४ दिवसीय कार्यक्रममा संसारभरिका पत्रकारहरु, सञ्चार सम्बद्ध संस्थाहरु, अभियन्ताहरुका साथै सरकारी प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ । ईन्जाले यस कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । 

सञ्चार जगतको स्वतन्त्रता, पत्रकारमाथिको आक्रमण विरोधी गतिविधिहरू र मिडियाको भविष्यबारे युनेस्को र संसारका सञ्चार सम्बद्ध संस्थाहरुले चलाउने अभियानहरुमा ईन्जाले ऐक्यबद्धता जनाएको हो।

नेपाली सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीको पेसागत हितमा काम गर्न हातेमालो गर्दै विश्वभर रहेका नेपाली मूलका सञ्चारकर्मीबीच सञ्जाल निर्माण गरिरहेको ईन्जा अमेरिकी कानुनअनुरुप स्थापना भई कार्यरत छ । 

आजको प्रेस स्वतन्त्रता दिवसको अवसरमा ईन्जाले पेसागत कामको सिलसिलामा युक्रेनलगायत संसारभरि विभिन्न ठाउँमा भएका द्वन्द्वमा अनाहकमा मारिएका रिपोर्टर र अन्य विविध कारणले मारिएका सञ्चारकर्मीप्रति हार्दिक श्रद्धान्जली पनि व्यक्त गरेको छ । साथै पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई अनुरोध पनि गरेको छ । सँगसँगै  सञ्चार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इन्जाका वरिष्ठ उपाध्यक्ष विष्णु शितलले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप