सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

बढ्दै पर्यटक, थपिँदै उत्साह

चार महिनामा ३ लाखभन्दा बढी पर्यटक नेपालमा
बुधबार, २० वैशाख २०८०, १५ : ३४
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । सन् २०२३ को सुरुवाती महिनाहरूमा नै विदेशी पर्यटकहरूको आगमनले उत्साह पैदा गरेको छ । वर्षको जनवरी, फेब्रुअरी, मार्च र अप्रिलमा मात्र ३ लाख २६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक भित्रिँदै गर्दा फेब्रुअरी, मार्च र अप्रिलमा क्रमशः ७३ हजार २५५ जना, ९९ हजार ४२६ जना र ९८ हजार ७७३ जना भित्रिएका छन् । यही अनुपातमा पर्यटकको आगमन भए सन् २०२३ नै हालसम्मको सबैभन्दा बढी पर्यटक भित्र्याउने वर्ष हुनेछ ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गरेको थियो । निकै तामझामका साथ उद्घाटन गरिएको भ्रमण वर्षले खास उपलब्धि हासिल गर्न सकेन । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण वर्षमा मुस्किलले २ लाख पर्यटक मात्र भित्रिए । यसको एउटै प्रमुख कारण थियो, विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) । 

भ्रमण वर्षकै लागि सरकारले गरेको करोडौँ लगानी बालुवामा पानी बन्न पुग्यो भने निजी क्षेत्रले गरेको लगानीसमेत जोखिममा पर्‍यो । तर, कोभिडपछि पहिलो पटक नेपाली पर्यटन क्षेत्रमा आशाको किरण सञ्चार हुन पुगेको छ । प्रत्येक महिना जसो लाखको हाराहारीमा विदेशी पर्यटकहरू भित्रिन थालेपछि व्यवसायीहरू दङ्ग छन् । 

खासगरी यतिखेर पर्यटकको हबकै रूपमा चिनिएका पोखरा, चितवन (सौराहा, पटिहानी), मनाङ, मुस्ताङ, रारा, उपल्लो डोल्पासम्म नै पर्यटकको घुइँचो लागेको छ । उसो त पहिलो पटक हिमाल आरोही पर्यटकको समेत रेकर्ड ब्रेक हुने गरी तातिनै लाग्न पुगेको छ । 

सन् २०२३ को अप्रिलसम्ममा कुल १ हजार ७९ जना विभिन्न देशका आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जसबाट सरकारलाई ५६ लाख ४५ हजार २९६ अमेरिकी डलर अर्थात् ७३ करोड ९७ लाख १३ हजार ४८५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

भ्रमण दशकको उत्साहजनक सुरुवात

सरकारले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशक घोषणा गरेको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अघि सारेको तर पछिल्ला मन्त्री जीवनराम श्रेष्ठले घोषणा गरेको भ्रमण दशकले वार्षिक ३५ लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । 

भ्रमण दशकभित्र पर्याप्त पर्यटनका पूर्वाधार विकास एवं विस्तार गर्दै पर्यटनको प्रवर्द्धन, पर्यटनको गन्तव्यहरूको विकास गर्दै आधार तयार गर्ने भन्ने हो । यसले दशकपछिको नेपालको पर्यटन क्षेत्रले ठुलो फड्को मार्ने तत्कालीन पर्यटन मन्त्री श्रेष्ठको दाबी थियो । 

यसै परियोजनालाई थप बल दिन पर्यटन मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना समेत अगाडि सारेको छ । सोही योजना मुताबिक भ्रमण दशक सफल हुने मन्त्रालयको दाबी छ ।

हालसम्मका तीन भ्रमण वर्ष

सन् १९९८ देखि सन् २०२० सम्ममा आइपुग्दा सरकारले तीन पटक यस्तो भ्रमण वर्ष घोषणा गरिसकेको छ । तर, कुनै पनि घोषित भ्रमण वर्षले लक्षित उपलब्धि हासिल गर्न सकेका छैनन् ।

पहिलो पटक सरकारले सन् १९९८ लाई भ्रमण वर्ष घोषणा गरेको थियो । त्यो बेला ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको भ्रमण वर्षमा ४ लाख ८६ हजार पर्यटक भित्रिए । लक्ष्यको ९७.२ प्रतिशत पर्यटक भित्रिनु सफलता नै मान्न सकिन्छ । 

तर, दोस्रो पटक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर घोषणा गरिएको ‘भ्रमण वर्ष, २०११’ मा भने करिब ८ लाख ५० हजार मात्र पर्यटक भित्रिए । यो लक्ष्यको ८५ प्रतिशतको उपलब्धि हो । 

तेस्रो पटक सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गर्‍यो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको यस वर्ष जम्मा २ लाख ३० हजार ८५ जना पर्यटक मात्र भित्रिए । तथापि, यो बेला परिस्थिति बेग्लै थियो । 

‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा हुँदा नहुँदै विश्व बजारमा कोरोना महामारी फैलिन पुग्यो । यसले सबैजसो देशका नागरिकहरुको आवतजावत बन्द गरिदियो । जसले नेपाल भ्रमण वर्ष समेत प्रभावित हुनपुग्यो । वातावरण सहज भएसँगै सरकारले पुनः भ्रमण वर्षको अभियानलाई निरन्तरता दिने भएको छ । कुनै वर्षलाई मात्र नभएर सरकारले दशकलाई नै भ्रमण दशकका रूपमा अभियानको रूपमा अघि बढाउने घोषणा गरेको । सन् २०२३ देखि २०३३ का लागि घोषणा गरिएको भ्रमण दशकको सुरुवाती दिनहरूमा नै पर्यटकहरूको आकर्षणले निकै उत्साह जगाएको छ । 

मंगलबार मात्र आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको तथ्याङ्क कार्यालयको रिपोर्टले पर्यटन आगमन बढेसँगै होटल तथा पर्यटन उद्योगको आर्थिक उपार्जन १८.५६ प्रतिशतले बढेको जनाएको छ । जबकि अघिल्ला दुई वर्षहरूमा यस्तो उपार्जन क्रमशः १०.७३ प्रतिशत र १२.६१ प्रतिशत मात्र रहेको थियो ।

भ्रमण दशक अघिका १० वर्ष, कुन वर्ष कति पर्यटकको आगमन भयो ? 

–सन् २०१३,  ७ लाख ९७ हजार ६१६

–सन् २०१४ – ७ लाख ९० हजार ११८

–सन् २०१५ – ५ लाख ३८ हजार ९७०

–सन् २०१६ – ७ लाख ५३ हजार ००२

–सन् २०१७ – ९ लाख ४० हजार २१८

–सन् २०१८ – ११ लाख ७३ हजार ७२

–सन् २०१९ – ११ लाख ९७ हजार १९१

–सन् २०२० – २ लाख ३० हजार ८५

–सन् २०२१ – १ लाख ४९ हजार ८३३

–सन् २०२२ – ६ लाख १४ हजार १४८

–सन् २०२३ (जनवरी–अप्रिल) – ३ लाख २६ हजार ५०८ 

tr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप