बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भुटानी शरणार्थी काण्ड : लहरो तान्दा पहरो हल्लेला ?

शनिबार, २३ वैशाख २०८०, १२ : ५४
शनिबार, २३ वैशाख २०८०

‘पूर्वमन्त्री रायमाझीको छोरो प्रकरणले धेरैलाई तर्सायो होला, तर यो विषय बीचैमा सेलाउँछ, लेखेर राख्नुहोला, नत्र फेरि कुरा गरौँला । हाम्रो छिमेकमा चियागफका क्रममा एक अपरिचितले भने । परिचय माग्दा यसै बसिखान्छु भन्ने जवाफ दिए । 

उनले आफ्नो कुरालाई बलियो बनाउन पञ्चायतकालका दूधकाण्ड, सुनकाण्ड, नमिता–सुनिता काण्ड, बहुदलपछिका लाउडादेखि वाइडबडी आदि काण्डको सूची प्रस्तुत गरे । अन्त्यमा भने, ‘ललिता निवासमा दोषी ठहरिएका नेताहरूलाई केही भो ?’ 

हामी बबुरा उनको चुरोटको सर्को र धाराप्रवाह गफमा मन्त्रमुग्ध । कुरैकुरामा उनले एउटा खाँटी कुरा निकाले, त्यो थियो, भुटानी शरणार्थीकाण्ड ।

सन् १९८९ मा भुटानमा राजाविरोधी आन्दोलन सुरु भयो । टेकनाथ रिजाल लगायतका केही नेता भागेर नेपाल पसे । हामी कलेज पढ्थ्यौँ । एक्कासि हाम्रो घर ( झापाको बुद्धशान्ति) नजिकैका धेरै छिमेकीले घर बेचे । ती सबै घर भुटानी शरणार्थीले किनेका थिए । किन्नेमा टेकनाथ पनि थिए । 

त्यतिबेला भुटानबाट आउनेलाई गाउँमा भोटाँगे भन्थे । भुटानमा गोवध चल्छ भनेर उताबाट आएकालाई अलि बेग्लै किसिमले हेरिन्थ्यो । धनीमानी र यसो नाम चलेकाहरू सुटुक्क नेपाल पस्थे, पहाड जान्थे, आफन्तहरू गुहारेर नागरिकता लिन्थे र झापामा जग्गा किन्थे ।

सुरुमा आउनेमध्येका थिए, टेकनाथ रिजाल । उनी तत्कालीन भुटानका मन्त्री रहेछन् । हाम्रोमा पञ्चायत बाँकी नै थियो । एकरात प्रहरीले टेकनाथलाई पक्राउ गरेछ । हामीलाई भोलिपल्ट थाहा भयो । त्यतिबेला सार्क राष्ट्रबीच आतंकवादी सुपुर्दगी सन्धि लागू भएको थियो । सोही सन्धिअन्तर्गत नेपाल प्रहरीले पक्राउ गरी टेकनाथलाई भुटान सुपुर्दगी ग¥यो । उनलाई चरम यातना दियो भन्नेमा शंका छैन । 

त्यसताका हाम्रा गाउँमा आउनेमध्येका एक छिमेकी भए, भण्डारी मामा । उनी पनि भोटाँगे नै हुन् । पाँचथर गएर उनले आफ्ना काकाबाबुहरूसँग हारगुहार गरेर नागरिकता बनाए । त्यतिबेलासम्म भुटानमा आन्दोलन सुरु नै भने भएको रहेनछ । त्यसअघि पनि भण्डारी मामाका छोराहरू छुट्टीमा भुटानबाट नेपाल आउँथे । उनीहरुले छोएको भण्डारी दम्पतीले खाँदैनथे, कारण थियो, उनीहरू स्कुल पढ्थे । 

भुटान सरकारले निःशुल्क शिक्षा दिन्थ्यो, तर गाईगोरुको मासु खानुपर्ने । मैले सोधेँ– खान्न भन्न पाइँदैन मामा ? उनले जवाफ दिए– पाइन्छ तर मासु खाने भनेपछि खसी, कुखुरा, गाईगोरु, सुँगुर जेको भए पनि खानुपर्ने । रोज्न पाइने तर एउटै डाडुले पस्किने । 

त्यसैले उनी श्रीवैष्णव भएका रहेछन् । शाकाहारी भनेपछि फेरि अलग खान पाइने रहेछ । ती मामाका अनुसार, त्यति बेलासम्म भोटाँगेहरू रेडियो नेपालकै समाचार सुन्थे, छिटपुट पुगेको गोरखापत्र पढ्थे । राजा पनि नेपालकै मान्थे । उता भुटानको राजालाई त मान्नैपर्ने थियो । उताकालाई सानु राजा र यताकालाई ठूलो राजा मान्थे । 

गाईगोरुको मासु खान परोस्, नेपाली भाषामै बोल्न पाइयोस् र दौरासुरुवाल लगाउन पाइयोस् भन्ने मात्र उनीहरुको माग रहेछ । पछि यसैलाई प्रजातान्त्रिक आन्दोलनको रूप दिइयो । खासगरी नेपालमा २०४६ मा आन्दोलन भएपछि भुटानी नेपालीलाई ढाडस मिल्यो । 

भुटानले देश निकाला गरेपछि लगालग भारतीय ट्रकले नेपाली मूलका भुटानीलाई मेची पुलसम्म ल्याएर छोड्न थाल्यो । एक–दुई दिन सरकारले पनि थाहा पाएन । पाँच–सात हजार भुटानी आएपछि सरकारले बाटो छेक्यो र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले उनीहरूलाई आश्रय दियो ।

लामो समयसम्म भुटानीलाई फर्काउने नेपालको प्रयास विफल भएपछि करिब लाखको हाराहारीमा दुई दशकदेखि नेपालमा बसोबास गर्दै आएका भुटानीलाई विभिन्न मुलुकले नागरिकता प्रदान गरी स्थायी बसोबासको प्रस्ताव राखे । केही भुटानीले यो प्रस्ताव स्वीकार गरेनन् र अझै पनि झापाका केही शिविरमा उनीहरू नातिनातिना खेलाएर बसेका छन् । खासगरी आन्दोलनलाई साथ दिने एक तहका नेता–कार्यकर्ता र उता भुटानमा गाईगोरुको मासु खानुपर्छ भन्ने त्रासमा हुर्केको ज्येष्ठ पुस्ता विदेश जान मानेनन् । 

अब खेल सुरु भयो । यो क्रम अझै जारी रहेछ भन्ने रायमाझी पुत्रको पक्राउपछि थप प्रस्ट भएको छ । हुँदाहुँदा एकजना अध्यागमनका खरिदारले त तातोपानीबाट सरसमानका बोरामा ल्याइएका एक सय ३० जना तिब्बती शरणार्थीलाई पनि भुटानी निस्सा बनाइदिएर शरणार्थी शिविरमा पठाइदिएछन् । यो मैले आरोप लगाएको होइन, उनले नै भनेका हुन् । ‘जनही एक लाखका दरले रकम लिई त्यतिबेला एक करोड ३० लाख कमाइयो,’ उनी अझै पनि हर्षित मुद्रामा भन्छन्, ‘सोमध्ये ३० लाख माथिसम्म टक्र्याइयो, दुई–चार लाख मोजमस्तीमा खर्चियो र बाँकी सेयरमा हालियो । पछि सेयर यसरी बढेर गयो कि काठमाडौंमा १० रोपनी त जग्गै जोडियो ।’ 

आईओएममा काम गर्नेहरूका अनुसार, त्यतिबेला नेपालीसँग विवाह गरी नेपालकै नागरिकता लिएका महिला पनि शरणार्थी हैसियतमा विदेश गए । भुटानी शरणार्थी केटी बिहे गरेर उनलाई समेत नेपालीकरण गरी नेपाली नागरिकता प्राप्त गरिसकेपछि पनि शरणार्थीकै हैसियतमा सपरिवार विदेश गए । आसाम, मेघालय, बर्मा, दार्जिलिङ, सिक्किमतिरबाट नेपाल आएका केही टाठाबाठा पनि शरणार्थी शिविरमा बसेर विदेश गए । हुँदाहुँदा एकजना साथीले त यस्तोसम्म बेहोरेछ कि छँदाखाँदाकी पत्नीसँग पारपाचुके गरेर शरणार्थी केटीसँग बिहे गरेर अमेरिका जानुपर्ने र छोडेकी पत्नी पनि अर्को भुटानीसँग बिहे गरेर अमेरिका जानुपर्ने, फेरि उता आ–आफ्नो परिवार छँदैछ । कतिपय यहाँ उल्लेख पनि गर्न नसकिने गरी हाडनातामै कागजी बिहे गरेर विदेश गए । 

यी खेलहरू राजनीतिक टेकोबिना भए होला त ? यो समस्या तबसम्म रहन्छ, जबसम्म नेपालमा भुटानी शरणार्थी रहन्छन् । भलै अहिले रायमाझीका बाबुछोरा र तत्कालीन गृहमन्त्रीको समेत नाम जोडिएको छ । त्यसअघिका गृहमन्त्रीले यस्तो काम नगरेका होलान् त ? 

त्यसैले अब यस काण्डले लहरो समात्यो, अब फहरो गर्जेला जस्तो छ । त्यतिबेला ती भुटानीलाई नागरिकताका लागि सिफारिस गर्ने तथा उक्त सिफारिसका आधारमा नागरिकता दिनेलाई कारबाही होला कि नहोला ? 

मलाई रायमाझीका बाबुछोराको माया लागेर वा मेरा आफन्त भएर प्रश्न उठाएको होइन । म व्यक्तिगत रूपमा चिन्दा पनि चिन्दिनँ । अनि यसअघि भएका राजनीतिक टेकोमा भएका तमाम घोटालालाई थाँती राखेर अहिले किन यो प्रश्न उठ्यो ? 

ललिता निवासकाण्डमा एकजना पूर्वप्रधानमन्त्रीलाई जेल पठाउने षड्यन्त्र भएको ठोकुवा गर्ने एक उच्च कांग्रेसी नेताले टिकट नै नपाएको जगजाहेरै छ । ठीक छ, एउटा असल कार्यको सुरुवात भयो । अब राज्यले बिनापूर्वाग्रह यस्ता कार्यमाथि छानबिन गरोस् र दोषीमाथि कारबाही गरोस् । सबै काण्डका फाइल खोलिऊन् । नेपालीको पनि यही चाहना पक्कै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप