मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री नेपालमा, चार दशक अघि हराएको टुडाल नेपाललाई फिर्ता

मङ्गलबार, ०२ जेठ २०८०, १५ : ४०
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । दुई दिने भ्रमणका क्रममा अस्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स मंगलबार काठमाडौँ आइपुगेका छन् । नेपाल स्थित अस्ट्रेलियाली दूतावासका अनुसार यो भ्रमणका क्रममा अस्ट्रेलियाको नेपालसँगको गहिरो सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको बारेमा चर्चा हुनेछ ।

भ्रमणका क्रममा सहायक मन्त्री वाट्सले नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र परराष्ट्र मन्त्री नारायण प्रकाश साउदसँग शिष्टाचार भेट गर्नेछन् । दूतावासका अनुसार उनले भेटहरूमा नेपाल अस्ट्रेलिया सहकार्य, ६३ वर्ष भन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिँदो जनस्तरको सम्बन्धहरूको चर्चा गर्ने छन् । 

अस्ट्रेलियामा नेपाली समुदाय सबै भन्दा चाँडो बढिरहेको आप्रवासी जनसङ्ख्या भएको छ र हाल करिब एक लाख तीस हजार जना नेपालीहरू अस्ट्रेलियामा बसोबास गर्दछन् । 

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रूपमा ई.सं १३औँ शताब्दीको पाटनको सुलीम टोल स्थित रत्नेश्वर मन्दिरको टुँडाल स्थानीय समुदायलाई फिर्ता गर्न पाटन संग्राहालयमा आयोजना हुने कार्यक्रममा सहायक मन्त्री वाट्स सहभागी हुनेछन् । 

आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्त्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो र उक्त संग्राहालयका निर्देशक डा. माईकल ब्राण्डले उक्त टुँडाल हस्तान्तरण गरेका छन् । नेपालबाट यो टुडाल ४३ वर्ष अघि हराएको थियो। समाचार श्रोतका अनुसार उक्त टुडाल आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सलाइ कसैले उपहार दिएको थियो।  

भ्रमणका क्रममा काठमाडौँ विश्वविद्यालयमा सहायक मन्त्री वाट्सले उक्त विश्वविद्यालयको हाल अस्ट्रेलियाली संस्थाहरूसँग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धन सम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रम लगायतका विषयहरूमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा जानकारी लिनेछन् ।

सहायक मन्त्री वाट्सले बनेपा स्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परीक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अस्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यका बारेमा पनि जानकारी लिनेछन्  । 

सहायक मन्त्री वाट्सले डा सन्दुक रुईत र अस्ट्रेलियाली डा फ्रेड हलोजको सहकार्यमा स्थापित आँखा स्वास्थ्यको उत्कृष्ट केन्द्रका रूपमा परिचित तिलगंगा आँखा प्रतिष्ठानको पनिं भ्रमण गर्नेछन् । गएका तीस वर्षहरूमा अस्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ । साथै उक्त सहयताबाट नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा वितरण हुने ईन्ट्रा अकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना भएको छ । 

सहायक मन्त्री वाट्सले अस्ट्रेलियाका हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेका र उनीहरूको सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ मन्दिर र बौद्धनाथ परिसरको पनि भ्रमण गर्नेछन् । उनले अस्ट्रेलियाबाट शिक्षा प्राप्त गरेर नेपालका विभिन्न क्षेत्रमा कार्य गर्दै सफलता हासिल गरेका नेपाली पूर्वविद्यार्थीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

यसै गरी सहायक मन्त्री वाट्सले अस्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिटुड च्यामबर हिमालयन उद्धार संघलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त उपकरण संघले फेरीचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लिनिकमा प्रयोग गर्नेछ । 

सहायक मन्त्री वाट्सको यो भ्रमण कार्यक्रम संगै बंगलादेशमा छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने र भुटान र भारतको पनि भ्रमण गर्ने कार्यक्रम समावेश छ । 

अस्ट्रेलियाली सहायक विदेश मन्त्रीको यो भ्रमणबाट नेपालले निकै लाभ लिन सक्ने भए पनि त्यो स्तरको तयारी नेपालको भएको पाइएको छैन। नेपालबाट प्रतिवर्ष ४३ हजार विद्यार्थी अध्ययन गर्न अस्ट्रेलियाका विभिन्न शिक्षालयहरूमा जाने गर्दछन्। ती विद्यार्थीले अस्ट्रेलियाको अर्थतन्त्रमा झन्डै दुई बिलियन डलर बराबरको योगदान गर्दछन् ।  

युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसियट प्रोफेसर डा कृष्ण कुमार श्रेष्ठले भने- यो भ्रमणबाट नेपाल अस्ट्रेलियाबिचको कुटनीतिक सम्बन्ध अझै बलियो बनाउन सकिन्छ। आधुनिक अस्ट्रेलिया निर्माण गर्न कुनै पनि दक्षिण एसियाली मुलुकका आप्रवासी भन्दा नेपालीहरूको भूमिका महत्त्वपूर्ण भएको उनले बताए।  

डा श्रेष्ठले नेपाल अस्ट्रेलिया सम्बन्ध अब अहिलेको सापेक्षतामा  पुनर्विचार गर्नु पर्ने र नेपालले यसबाट धेरै लाभ लिन सक्ने बताए , तर नेपालले भने यसबारे कुनै राम्रो तयारी नभए उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप