सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पीडा

शनिबार, ०६ जेठ २०८०, १० : ४४
शनिबार, ०६ जेठ २०८०

सम्झौँ त प्रसवको पीडा 
त्यही पीडा पछिको आनन्द 
दुखाई पछिको सुख
निराशा पछिको 
आशाको त्यान्द्रो 
न चुटिन्छ, 
न मन लाग्छ चुँडाल्न 
त्यसैले, डोर्‍याउँछ 
नानाथरी सपना देखाउँछ
मनमनै कल्पिन्छ 
आखिर सपना त सपनै हो 
कहाँ पुग्छ र ?

पीडा त्यहीबाट सुरु हुन्छ
जहाँ खोरिया फाँडेर 
सपनाको बीउ छरिन्छ
मजा त्यही छ, 
लिन सक्नुपर्छ 
पुतली हेर्नु त आगोमा
सहेर पीडा 
आफ्नै प्वाँख किन जलाउनु 
सायद पीडामा मजा छ
पीडामै छ आनन्द 
भाले मौरी 
आफै मर्ने पीडाबाट मुक्त छ
किनकि त्यहाँ मजा छ
ठर्रा साँच्चै नमीठो हुन्छ ?
आकृति कच्याक कुच्चुक पारेर
आँखा चिम्म गरेर 
श्वास बन्द गरेर 
स्वाट्ट पारेपछि
टक्क जिब्रो पड्काउँछ
पीडा भुलाउने बहानामा 
उ मधुशाला जान्छ
विस्मृति झन् गाढा हुन्छ
पीडा झन् थपिन्छ
उ त्यही चाहन्थ्यो 
मजा त्यही छ, जहाँ पीडा हुन्छ
उ बरबराउँछ 
त्यही पीडामा घ्यू थप्छ
मलजल गर्छ 
फेरि भाग्ने बहाना खोज्छ
पीडामा मजा नहुँदो हो त 
अन्तिम श्वास लिएकाहरू 
किन बलिन्द्र आँसु खसाल्दैनन्
किनकि
पीडामा मजा छ 
प्रायः मर्नेहरू 
हाँसी हाँसी गएका छन् ।
हाँसी हाँसी गएका छन् ।।

इटहरी–५, सुनसरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सेमन्त उपाध्याय
सेमन्त उपाध्याय
लेखकबाट थप