शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

नेताको बेलगाम बोली : कोही बहुला भन्छन्, कोही गुइँठे !

बोलीबाटै संस्कार झल्किन्छ : भाषाविद्
सोमबार, ०८ जेठ २०८०, २२ : ३०
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । ‘धरानको एकातिरको चाहिँ एउटा बहुला टाइपको मेयर छ है, काम त अब राम्रै गर्‍या होला । अब धरान बाहिरचाहिँ पपुलर छ, धरानभित्र कति छ, थाहा छैन । उसले गर्दा ४०÷५० हजार लाइक छ एक घण्टामा ।’ (नेकपा एमाले उपमहासचिव विष्णु रिमालको भनाइ)

‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिनँ म ! मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु ।’ (धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको भनाइ)

माथिका यी दुई नेताका सवाल–जवाफले सामाजिक सञ्जालदेखि सञ्चार क्षेत्रमासमेत राम्रै ‘स्पेस’ पायो । खासगरी दुई शब्द ‘बहुला’ र ‘गुइँठे’कै कारण यी दुई नेताका भनाइ बिकाऊ भएका हुन् ।

शब्दकोशमा बहुलाको अर्थ दिमाग बिग्रेको, पागल भनेर उल्लेख गरिएको छ । गुइँठेको अर्थ जीउडाल र शरीरको ढाँचा नमिलेको, पुड्को र ग्याँचे भन्ने छ ।

धरानका मेयर साम्पाङलाई जोडेर एमाले उपमहासचिवसमेत रहेका रिमालले पार्टीकै एक कार्यक्रममा जुन शब्द प्रयोग गरे, त्यो सामान्य सर्वसाधारणले पनि अरूलाई लक्षित गरेर प्रयोग गर्न नहुने शब्द हुन् ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) को दोस्रो पूर्ण बैठकमा रिमालले सम्बोधन गर्दा मेयर साम्पाङलाई ‘बहुला’ को संज्ञा दिएका हुन् । तर, पार्टीको शीर्ष तहमा बसेका र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार समेत भएका रिमाल ‘पार्टी स्कुलिङ’ बारे राम्रै जानकार राख्ने नेताभित्र पर्छन् ।

तर, उनले पार्टीकै भातृ संगठनको बैठकमा सम्बोधन गर्दा शब्द चयन गर्न सकेनन् । उनी आलोचित बने । रिमालले बोल्ने बोलीबाट उनका कार्यकर्ताले के सिक्लान् ? त्यसबारे उनले सोच्नुपर्ने देखिन्छ ।

त्यसो त धरानका मेयर साम्पाङ पनि बोलीकै कारण बेलाबेला विवादमा पर्दै आएका छन् । रिमालले बोलेका कुरामा तुरुन्तै प्रतिक्रिया जनाएका उनले पनि शब्द चयन राम्रो गर्न सकेनन् । स्वतन्त्रबाट लडेका साम्पाङलाई धरान उपमहानगरपालिकावासीले मेयरमा जिताए । उनले पानी धरानसम्म ल्याउन धेरै मेहनत गरेका छन् । काम राम्रो गरे पनि बोल्ने शैलीमा साम्पाङले आफूलाई सुधार्नुपर्ने देखिन्छ ।

उनले प्रयोग गर्ने शब्दले नेतामात्रै होइन, हरेक व्यक्तिको संस्कार, व्यक्तित्व, उचाइ र सोचाइलाई प्रतिबिम्बित गर्ने भाषाविद्हरूको भनाइ छ ।

भाषाविद् शरदचन्द्र वस्ती भाषामा चयन भएका शब्दबाटै व्यक्तिको संस्कार थाहा हुने बताउँछन् ।

पछिल्लो पटक नेताले बोल्ने शब्दको चयनमा एमाले उपमहासचिव रिमाल र साम्पाङमात्रै होइन, अन्य नेताहरू पनि चुक्ने गरेका छन् ।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा अभिव्यक्त गर्ने शब्दले उनको पदीय मर्यादा र गरिमामाथि समेत पटकपटक प्रश्न उठेका छन् । काठमाडौँको फोहोर व्यवस्थापनमा विशेष गरी सरकारले साथ नदिएको भन्दै शाहले नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन, साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ ।’ महानगरपालिका मातहत अहिले काठमाडौँका विद्यालयहरू सञ्चालित छन् । तर, मेयर साहबाट प्रयोग भएका शब्दबाट उनी मातहतका निकाय र कर्मचारीले के सिक्लान् भन्ने प्रश्न उब्जिएको छ । नेताले आफूविरुद्ध कसैले बोलेमा त्यसको जवाफ सरल ढंगबाट दिने वा आवश्यक नपरे जवाफ नदिने रणनीतिसमेत अवलम्बन गरेको पाइँदैन ।

भाषाले उसको संस्कार, व्यक्तित्व, उचाइ र सोचाइलाई प्रतिबिम्बित गर्छ

शरदचन्द्र वस्ती, भाषाविद्

भाषाले मान्छेमा संस्कार कस्तो छ ? उसले अरूलाई कसरी हेर्छ ? र समग्रमा उसको व्यक्तित्वको उचाइ, गरिमा र सोचाइको स्तर कस्तो छ भन्ने कुरालाई प्रतिबिम्बित गर्छ । उहाँहरूको संस्कार, स्तर, व्यक्तित्व र सोचाइ अहिले उहाँहरूले प्रयोग गर्ने भाषाबाट आएको छ । त्यो माध्यम एउटाका लागि अर्को व्यक्ति भयो, त्यो पनि निमित्त नायक हो । उहाँहरूले जसप्रति त्यो भाषा प्रयोग गर्नुभएको छ, त्यो उहाँको मनोभाव कुन स्तरको छ भन्ने कुरा व्यक्त हुनका लागि निमित्त कारण हो ।

sharad chandra wasti

उहाँहरूले जे भन्नुभयो वा बोल्नुभयो, त्यो अर्को व्यक्ति कस्तो रहेछ भन्ने बुझिँदैन, बरु उहाँहरू चैँ कस्तो भन्ने बुझिन्छ । उहाँहरू कुन स्तरमा हुनुहुन्छ, उहाँहरूको संस्कार कस्तो हुन्छ र त्यस्तो संस्कार भएको मान्छेले जनता र देशलाई कसरी हेर्न सक्ला ? आफ्नो नैतिकतालाई कसरी हेर्दो होला ? र देशप्रतिको दृष्टिकोण कस्तो होला भन्ने कुरा नै उहाँहरूले प्रयोग गर्ने भाषाबाट प्रतिबिम्बित हुन्छ । उहाँहरू कस्तो संस्कारमा हुनुहुन्छ भन्ने पनि हो । नेताहरू मात्रै होइन आम सर्वसाधारणले पनि आफ्नो भाषा सुधार गर्नुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप