बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमालेको राष्ट्रिय कार्यशाला

एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली

बिहीबार, २१ जेठ २०८३, १९ : २७
बिहीबार, २१ जेठ २०८३

सारांश

  • एमालेले पार्टीको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला आयोजना गरी नेताहरूको विलासी जीवनशैली र आचरणको कमीले जनतासँग पार्टीको सम्बन्ध टाढिएको निष्कर्ष निकालेको छ ।
  • कार्यशालामा सहभागी नेताहरूले पार्टीलाई प्रभावकारी बनाउन सदस्यता विस्तार, नवीकरणमा ध्यान दिनुका साथै नेता कार्यकर्ताहरूले आफ्नो जीवनशैली र आचरण सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
  • एमाले महासचिव शंकर पोखरेलले समाजको बदलिएको मनोविज्ञानलाई आत्मसात् गर्न पार्टी नीति र नेताहरूले समयसापेक्ष परिवर्तन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ । नेताहरूमा बढ्दो विलासी र भड्किलो जीवनशैली तथा असल आचरण र व्यवहारको कमीले जनतासँग पार्टीको सम्बन्ध टाढिएको एमालेले ठहर गरेको छ ।

संगठन विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ मा समूहगत छलफलपछि नेताहरूले यस्तो निष्कर्ष सुनाएका हुन् । गत फागुन २१ मा सम्पन्न संसदीय निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेले पार्टीलाई प्रभावकारी बनाउने उदेश्य पहिल्याउन दुई दिने कार्यशाला आयोजना गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालामा १० समूहगत छलफलपछि बिहीबार टोली नेताले संगठन निर्माणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने प्रश्नको निष्कर्ष सुनाएका थिए ।

कार्यशालामा सुदुरपश्चिमबाट नेता कृष्णप्रसाद जैशी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकी प्रदेशबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, मधेश प्रदेशबाट चन्द्रेश्वर मण्डल, केशी प्रदेशबाट घनश्याम खतिवडा, बाग्मती प्रदेशबाट दावा दोर्जी लामा, सम्पर्क समन्वय समुहबाट अशोक ठकुरी र जनसंगठन समूहबाट महाराज गुरुङले समुहको प्रस्तुति राखेका थिए ।

निष्कर्ष सुनाउने क्रममा सुदुरपश्चिमका जैसीले संगठन विस्तार र पार्टी मजबुत बनाउन सदस्यता व्यवस्थित र जनतासँग पार्टीको सम्बन्ध सुधार्न नेता कार्यकर्ताहरूले आफ्नो जीवनशैली र आचरण सुधार गर्न आवश्यक रहेको निष्कर्ष सुनाएका थिए ।

‘हामीले सदस्यता विस्तार र नयाँ वितरणको सन्दर्भमा पनि ध्यान दिनुपर्छ,' उनले कार्यशालामा समुहगत निष्कर्ष सुनाउँदै भने, ‘सदस्यता वितरण र नवीकरण प्रभावकारी हुन सकेन यो स्विकार्नुपर्छ र सोही अनुसार नीति लिनुपर्छ ।’

उनले पार्टीसँग जनताको टाढीएको सम्बन्ध सुधार गर्न नेता कार्यकर्ताको जीवनशैलीमा व्यापक सुधार गर्नुपर्ने, आचरण र व्यवहार सरल हुनुपर्ने, महंगो र भड्किलो जीवनशैलीलाई त्याग्नुपर्ने र जनताले सहजै स्विकार्ने व्यवहार अपनाउन सक्नुपर्ने बताएका छन् ।

‘गल्ती कमजोरीमा आत्मालोचना गर्ने र गल्ती सच्चाएर जनतामा जाने जनशैली आवस्यक छ,' जैशीले भने, ‘नेताहरूको आर्थिक र नैतिक आचरण स्वच्छ हुनुपर्छ ।’

त्यस्तै कतिपय टोली नेताहरूले जनसंगठन प्रभावकारी बनाउन उनीहरूले गरेका कामको उचित मूल्यांकन गर्ने परिपाटी बसाल्नुपर्ने तथा भद्दा कमिटीहरूलाई चुस्त बनाउनेतिर ध्यान दिनुपर्ने सुझाव समेत राखेका छन् ।

धारणा राख्ने कतिपय नेताहरूले पार्टी कमिटीका ५ जना सदस्यहरूलाई पूर्णकालीन काम गर्नेगरी योजना बनाउन सकेमात्र पार्टी शसक्तीकरणमा सहयोग पुग्ने सुझाव दिएका छन् । ‘निर्वाचनमा पराजयपछिको पार्टी सशक्तिकरणका लागि तलबाट आएका कुरा सुन्ने र सच्चाउने कुरा भयो भने पार्टी अघि बढ्न सक्छ,' जैसीले रातोपाटीसँग भने ।  

जनसंगठनका तर्फबाट युवासंघका टोली नेता महाराज गुरुङले निष्कर्ष सुनाएका थिए । जनसंगठनका तर्फबाट गुरुङले सुनाएको निष्कर्षमा संगठित सदस्यले त्यो क्षेत्रको निर्वाचनमा सहभागी हुने तत्तत् क्षेत्रको संगठित सदस्यले नै उम्मेदवार छान्न पाउनुपर्छ भन्ने सुझाव राखेका छन् । ‘र पार्टी नेतृत्व पनि डाइरेक्ट छान्न पाउनुपर्छ,' गुरुङले दिएको सुझाव उद्धृत गर्दै स्रोतले भन्यो ।

जनसंगठनका तर्फबाट समुहगत छलफलमा सहभागी नेता गजेन्द्र थपलियाले अधिकांश टोली नेताहरूले ‘यहीं अवस्थामा पार्टी चल्न सक्दैन’ भन्ने निष्कर्ष सुनाएको बताए । ‘यही अवस्थामा पार्टी चल्न सक्दैन, यसलाई सुधार गर्न अनिवार्य छ भन्ने सारसंक्षेप धेरैको आयो,' थपलियाले भने, ‘के के विषयमा सुधार गर्ने भन्ने अर्को छलफलको विषय हुनसक्छ ।’

कोशी प्रदेशका टोली नेता घनश्याम खतिवडाले खासगरी सदस्यतामा देखिएको जटिलता फुकाउनुपर्ने सुझावहरू आएको रातोपाटीलाई बताए ।

‘पार्टी निर्माणको विषयमा तलदेखि माथिसम्म सदस्यता नवीकरण गर्दै कार्यकर्ताहरूको व्यवस्थापन पनि ठिक ढंगले गर्नुपर्छ,जसले संगठन र कमिटी चुस्त दुरुस्त बनाउन सकिन्छ,' खतिवडाले भने,‘कतिपयले सदस्यता नविकरण तथा वितरणको म्याद बढाउनुपर्ने सुझाव पनि दिनुभएको छ ।’

कार्याशालालाई समापन गर्दै एमाले महासचिव शंकर पोखरेलले समाजको बदलिएको मनोज्ञानलाई ‘व्याटल’ गर्न पार्टी नीति र नेता बदलिन आवस्यक रहेको बताएका छन् ।

‘समयसँगै नेता पनि बदलिनुपर्छ’

‘हरेक व्यक्तिले आफुलाई एउटा अबधिसम्म मात्र समाजमा प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्दछ,' महासचिव पोखरेलले भने, ‘त्यस्तै एउटा नीति, दृष्टिकोण पनि एउटा समयका लागि जनताको ध्यानाकर्षण गर्न सक्दछ । त्यसका लागि नेताले पनि आफुलाई बदल्नैपर्दछ र पार्टीहरूले पनि आफ्ना नीति र योजना बदल्नसक्नुपर्छ ।’

महासचिव पोखरेलले हरेक १० बर्षमा जनताले केही न केही परिवर्तन खोज्ने भन्दै त्यस्तो अवस्थामा जनतामा भरोसा पैदा गर्ने र टुटेको सम्बन्ध पार्टीहरूले स्थापित गर्न सक्नुपर्ने बताए । जनताको बहुदलीय जनवाद नै एमालेको पार्टी निर्माण सम्बन्धी सवभन्दा महत्वपुर्ण दृष्टिकोण रहेको भन्दै त्यसलाई व्यवहारमा कति कार्यान्वयन गर्न सक्यांै भन्ने प्रश्न एमालेसामुख प्रमुख रुपमा उठेको महासचिव पोखरेलको भनाइ छ ।

दशबुँदे संकल्पः एक बराबर ३ नयाँ सदस्य

राष्ट्रिय कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ । प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गरिएको छ । त्यस्तै कार्यशालाले १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ ।

‘यो कार्यशाला विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सकृय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रूपान्तरित गर्ने संकल्प गर्दछ,' संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्ताव गरेर पारित संकल्प प्रस्तावमा भनिएको छ ।

‘सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिंगो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प गर्दछ,' एमालेले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप